काठमाडौं । प्रविधिको प्रयोग बढ्दै जाँदा पछिल्ला दश वर्षमा नेपालले विदेशी स्मार्टफोनमा अर्बौं रुपैयाँ खर्च गर्दै आएको छ । चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो १० महिनामा (साउनदेखि बैशाखसम्म) मात्रै नेपालमा २८ अर्ब ७६ करोड ८९ लाख रुपैयाँ बराबरका १७ लाख ८५ हजारभन्दा बढी थान स्मार्टफोन भित्रिएका छन् । यो तथ्यांकले देशको आयातमा मोबाइलको ठूलो हिस्सा रहेको प्रस्ट देखाउँछ । तथ्यांकलाई आधार मान्दा चालु आवको ९ महिना समेत गरी पछिल्लो १० बर्षमा नेपालले १ खर्ब ५० अर्ब रुपैयाँ बराबरका मोबाईल फोन आयात गरेको देखिन्छ । यस अवधिमा नेपालले झण्डै २ करोड ८० लाख सेट मोबाईल आयात गरेको तथ्यांकहरुमा उल्लेख छ ।
भन्सार विभागको तथ्यांकअनुसार आर्थिक वर्ष २०७२/७३ देखि २०८१/८२ सम्मको अवधिमा मोबाइल फोन आयातमा उल्लेख्य वृद्धि भएको देखिन्छ । हाल मोबाइल केबल सञ्चारको साधन मात्रै नभई मनोरञ्जन, शिक्षा, रोजगारी, सूचना र सामाजिक सञ्जालमा पहुँचको मुख्य माध्यम बनेपछि यसको माग बढ्दो क्रममा छ । जसको पुष्टि यस अवधिमा भएको स्मार्टफोनको आयातले देखाउँछ ।
भन्सार विभागको तथ्यांकलाई आधार मान्दा आर्थिक वर्ष २०७२/७३ मा करिब २ अर्ब १२ करोड रुपैयाँ बराबरका ६ लाख ७७ हजार थान मोबाइल नेपाल भित्रिएका थिए । त्यसको एक वर्षपछि, २०७३/७४ मा यो संख्या बढेर ४ अर्ब २८ करोड रुपैयाँको १२ लाख ४८ हजार थान पुगेको थियो ।
त्यसपछिका वर्षहरूमा मोबाइल आयात स्थिर रूपमा बढ्दै गएको पाइन्छ । २०७४/७५ मा ५ अर्ब ४८ करोड रुपैयाँ बराबरका १३ लाख २५ हजार थान मोबाइल आयात भए भने २०७५/७६ मा केही गिरावट आउँदै ३ अर्ब ८७ करोड रुपैयाँ बराबरका ८ लाख ८७ हजार थान मात्र मोबाइल आयात भए । २०७६/७७ मा पुनः वृद्धि भएर ५ अर्ब ११ करोड रुपैयाँ बराबरका ११ लाख १२ हजार थान मोबाइल आयात भए ।
तर, मोबाइल आयातमा ठूलो परिवर्तन भने कोरोना महामारीपछि देखिएको हो । २०७७/७८ मा एकाएक मोबाइल आयातको ग्राफ उकालो लाग्यो । उक्त वर्ष ३६ अर्ब ९० करोड रुपैयाँ बराबरका ७० लाख ३० हजार थान मोबाइल नेपाल भित्रिएका थिए । यो संख्या हालसम्मकै उच्च हो । महामारीको समयमा अनलाइन कक्षा, टेलिकम सेवाको प्रयोग, भिडियो स्ट्रिमिङ, गेमिङजस्ता डिजिटल माध्यमको प्रयोग अत्यधिक बढेपछि मोबाइलको माग समेत अत्यधिक बढेको त्यसताका मोबाईल आयातकर्ताहरु बताउँछन् ।
२०७८/७९ मा मोबाइल आयात घटेर १० अर्ब ३७ करोड रुपैयाँमा झर्यो । त्यस वर्ष १५ लाख ३ हजार थान मोबाइल भित्रिएका थिए । २०७९/८० मा झनै कमी हुँदै ६ अर्ब ६५ करोड रुपैयाँ बराबरका ८ लाख ९९ हजार थान मोबाइल आयात भए । त्यसको पछिल्ल्लो बर्ष आव २०८०/८१ मा नेपालले २८ अर्ब ६६ करोड रुपैयाँ बराबरका १८ लाख ३९ हजार बढी स्मार्टफोन आयात गरेको छ ।
हालको आर्थिक वर्ष २०८१/८२ को पहिलो १० महिनाको तथ्यांक हेर्दा मोबाइल आयात पुनः उकालो लागिरहेको देखिन्छ । साउनदेखि बैशाखसम्मको अवधिमा मात्रै २८ अर्ब ७६ करोड ८९ लाख रुपैयाँको मोबाइल आयात भएको छ । त्यही अवधिमा १७ लाख ८५ हजारभन्दा बढी थान स्मार्टफोन भित्रिएको तथ्यांक छ ।
मोबाइल फोन आयातको यो बढ्दो प्रवृत्तिले नेपालमा स्मार्टफोनको प्रयोग तीव्र गतिमा बढिरहेको देखाउँछ । विशेषतः युवावर्गमा स्मार्टफोन जीवनशैलीको अपरिहार्य अङ्ग बनेको छ । सामाजिक सञ्जाल, भिडियो एप, अनलाइन व्यापार, डिजिटल भुक्तानी प्रणाली र इन्टरनेटमार्फत हुने अध्ययनले मोबाइलको प्रयोगलाई आवश्यकताबाट प्रवृत्तितर्फ लैजाँदैछ ।
तर, आयातमा निर्भरता बढ्दा नेपालको समग्र व्यापारघाटामा स्मार्टफोनको हिस्साले असर गरिरहेको छ । नेपालमा निर्यातभन्दा आयात धेरै भएका कारण देशको वैदेशिक मुद्राको सञ्चितिमा लगातार दबाव पर्ने गरेको छ । पछिल्ला ५ बर्षमा नेपालमा सबैभन्दा धेरै आयात हुने वस्तुको उच्च दश स्थानमा स्मार्टफोन पर्दै आएको छ ।
स्मार्टफोनलगायतका विलासी र गैर–आवश्यक उपभोग्य वस्तुको आयातमा कडाइ गर्नुपर्ने आवाज उठिरहेको बेला मोबाइलको उच्च आयात स्वयं चुनौती बनेको छ ।
पछिल्ला १० वर्षको मोबाइल आयात विवरण हेर्दा, देशले करिब डेढ खर्ब रुपैयाँभन्दा बढी रकम विदेशिएको देखाउँछ । यो रकम वैदेशिक मुद्रामा परिणत हुँदा नेपालको विदेशी मुद्रा सञ्चिति घटाउने प्रमुख कारकका रूपमा रहेको छ ।