Logo

लाखौं विद्यार्थीको भविष्यमाथि खेलवाड गर्दै प्राधिकरण, झ्यापझ्याप लाईन जान थालेपछि अनलाइन क्लास प्रभावित

लाखौं विद्यार्थीको भविष्यमाथि खेलवाड गर्दै प्राधिकरण, झ्यापझ्याप लाईन जान थालेपछि अनलाइन क्लास प्रभावित



काठमाडौं । केही समययता दिनहुँजसो विना सूचना लामो समयसम्म बिजुली जान थालेपछि सर्वासाधारण प्रभावित भएका छन् । अकस्मात विजुली काटिने समस्याले घरमै बसेर अनलाईन क्लास लिँदै आएका विद्यार्थीको पढाई नै अन्यौलमा परेको छ ।

नेपाल विद्युत प्राधिकरणले विना जानकारी लामो समयसम्म विद्युत आपूर्ति बन्द गरिदिँदा अनलाईन क्लास लिँदै आएका विद्यार्थीहरुको पढाई नै अन्यौलमा परेको सम्बद्ध अविभावकहरुले गुनासो गर्न थालेका छन् ।

हाल विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण सबै स्कुल कलेज बन्द अवस्थामा छन् । भौतिक रुपमा उपस्थिती भएर पढ्न नसक्ने अवस्था भएपनि हाल स्कुल कलेजले अनलाईबाट पढाउँदै आएका छन् । तर, पछिल्लो समय विना जानकारी झ्यापझ्याप बत्ती जाने क्रम बढेपछि आफ्ना बच्चाहरुको पढाईमा असर परेको बालाजुकी सिता अधिकारी बताउँछिन् । ‘बच्चाहरुले कोरोनाका कारण जेठदेखि अनलाईन क्लास लिँदै आएका थिए,’ उनले भनिन्, ‘अनलाईनबाटै भएपनि बच्चाहरुको पढाई राम्रै भैरहेको थियो तर पछिल्लो समय बत्ती जाने क्रम उच्च रुपमा बढेसँगै पढाई नै विग्रिएको छ ।’ आफ्ना वच्चाहरुको पढाई विग्रनुका साथै लामो समयसम्म वत्ती जाँदा अन्धकारमा बस्नु परेको समेत उनको गुनासो थियो ।

पछिल्लो समय विना जानकारी लामो समयसम्म वत्ती जाने क्रम बढेसँगै सामाजिक संजालमा पनि तीब्र असन्तुष्टि बढेको छ । सामाजिक संजाल प्रयोकर्ताले पछिल्लो समय माफियासँगको मिलेमतोमा अघोषित लोडसेडिङ हुन थालेको आरोपसमेत लगाउँदै आएका छन् । कोरोनाका कारण स्कुलदेखि कलेजसम्मका लाखौं विद्यार्थी अहिले अनलाईन क्लासमा सीमित भएका छन् । तर, विना जानकारी दिनकै ६-७ पटकसम्म वत्ती जाँदा आफ्ना बालबच्चाले पढ्न नपाएको बागबजारकी शिवमाया श्रेष्ठले बताईन् । ‘कोरोना पछि लामो सयमदेखि बच्चाहरुले अनलाईनबाटै पढ्दै आएका थिए,’ उनले भनिन्, ‘तर अहिले वत्ती जाने आउने टुङ्गो नहुँदा पढाई नै अन्यौलमा परेको छ ।’

केही समययता देशभर नै वत्ती जाने क्रम बढेपनि नेपाल विद्युत प्राधिकरणले भने आन्तरिक समस्याले गर्दा केही दिनयता वत्ती गएको बताउँदै आएको छ । साथै केही दिनयता लामो समयसम्म वत्ती जान थालेपछि प्राधिकरणले लैनचौर सव स्टेशनको प्यानलवोर्डमा मुसा पसेका कारण बागबजार, दरवारमार्गलगायतका स्थानमा विद्युत आपूर्तिमा समस्या भएको जानकारी दिएको थियो । प्राधिकरणले आन्तरिक समस्याका कारण विद्युत आपूर्तिमा समस्या भएको बताउँदै आएपनि लामो समयदेखि विना जानकारी बत्ती नआउँदा सर्वसाधाणले फेरी माफियासँगको मिलेमत्तोमा अघोषित लोडसेडिङ हुन थालेको आरोप लगाउँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL