Logo

२१ बर्षपछि सबैभन्दा कम सुन आयात, मूल्य बढ्दा किन्नेभन्दा बिक्री गर्ने बढे

२१ बर्षपछि सबैभन्दा कम सुन आयात, मूल्य बढ्दा किन्नेभन्दा बिक्री गर्ने बढे



काठमाडौं । सुनको मूल्य बढेसँगै आयातमा उच्च गिरावट आएको छ । पछिल्लो २ वर्षयता अन्तरारष्ट्रिय बजारमा सुनको मूल्य उच्च रुपमा बढ्दा नेपालले गर्ने आयातमा भने सोही अनुरुप गिरावट आएको हो ।

मूल्यवृद्धिका कारण आर्थिक बर्ष २०७६-७७ मा आब २०७५/७६ को तुलनामा ९९४ प्रतिशतले घटेको सुनको आयात चालू आब २०७७/७८ को साउन महिनामा ७५.४ प्रतिशतले घट्न पुगेको छ ।
नेपाल राष्ट्र बैंकको तथ्याङ्कअनुसार आब २०७५-७६ को साउन महिनामा २ अर्ब १८ करोड १९ लाख रुपैयाँको सुन आयात भएको थियो । तर, गत आवको सोही अबधिमा आयात घटेर १ करोड ४१ लाख रुपैयाँको सुन आयात भएको थियो भने चालू आबको साउन महिनामा ३५ लाख रुपैयाँको मात्र सुन आयात भएको राष्ट्र बैंकको तथ्याङ्कमा उल्लेख छ ।

चालू आवको साउन महिनामा २१ बर्ष पनि सबैभन्दा कम सुन आयात भएको नेपाल सुनचाँदी व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष मणिकरत्न शाक्यले बताए । ‘यसभन्दा अधि आब २०५६÷५७ मा सबैभन्दा कम सुन आयात भएको थियो,’ उनले भने, ‘त्यसयता चालू आबको साउन महिनामा सबैभन्दा कम सुन आयात भएको हो ।’

अन्तरराष्ट्रिय बजारमा सुनको मूल्यमा आएको उच्च उतारचढावका कारण नेपालमा सुन आयात घटेको समेत उनले जानकारी दिए । ‘विगत २ बर्षयता भएको उच्च मूल्य वृद्धिका कारण सुन खरिद गर्ने ग्राहकनै छैनन्,’ उनले भने, ‘अझै अहिले आएको कोरोना महामारीको कारण पसल नै बन्द भएको सुन आयात गरेर मात्रै के गर्नु ?’

पछिल्लो समय सुन खरिद गर्नेभन्दा पनि पुराना गहना खरिदगर्ने ग्राहकहरु बढी भएको सम्बद्ध व्यवसायीहरु बताउँछन् । ‘कतिपयले कोरोनाका कारण गुजारा चलाउनकै लागि भएपनि आफुसँग भएको सुन बिक्री गर्न थालेका छन् भने केहीले सुनको मूल्य बढेका कारण बढी पैसा आउने भएकाले बिक्री गर्न पसलमा आउने गरेका छन्,’ एक सुनचाँदी व्यवसायीले भने, ‘आफुसँगै खरिद गरेको सुन विल लिएर आएपछि खरिद नगरिदिने कुरा भएन, ग्राहकले सस्तोमा किनेको सुन महङ्गो मूल्यमा बिक्री गर्न आउँदा व्यवसायीहरुलाई घाटा भैरहेको छ ।’ आफ्नो ग्राहक टिकाउनकै लागि भएपनि घाटा सहेरै आफुले बिक्री गरेको गरगहना खरिद गर्नुपर्ने बाध्यता भएको समेत ती व्यवसायीको गुनासो थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL