Logo

चुनौतीलाई अवसरमा बदल्ने लक्ष्यसहित पर्यटन बोर्डमा आएको हुँ

चुनौतीलाई अवसरमा बदल्ने लक्ष्यसहित पर्यटन बोर्डमा आएको हुँ



पर्यटन बोर्डको नेतृत्व सम्हालेसँगै मेरो अगाडि विभिन्न जिम्मेवारी, चुनौती र अवसरहरुका चाङ छन् । म यिनै जिम्मेवारी पूरा गर्दै चुनौतीहरुलाई अवसरमा बदल्न सकिन्छ भन्ने अठोट लिएर बोर्डमा आएको हुँ । बोर्डको कार्यकारी प्रमुखको हिसाबले यो काम गर्ने या नगर्ने भन्ने मेरा प्राथमिकताहरु पनि छन् । तर, म यहाँ केही उद्देश्य लिएर पनि आएको छुँ ।

ती उद्देश्य भनेको बोर्डले तय गरेको उद्देश्यलाई सफल पार्ने नै हो । जसमा सफल हुन सके नेपालको पर्यटन क्षेत्र पनि सफल हुन्छ । सबैभन्दा प्रमुख कुरा त यहाँ रहेर जोसुकैले पनि गर्ने काम भनेको आफ्नो जिम्मेवारी इमान्दारितापूर्वक निर्वाह गर्ने नै हो । बोर्डले नेपालको पर्यटनका लागि आफुले गर्नुपर्ने जुन जिम्मेवारी र अभिभारा सरकारले सुम्पेको छ । त्यसलाई पूरा गर्न बोर्डमा कार्यरत सबैले आफ्नो जिम्मेवारी इमान्दारितापूर्वक निर्वाह गर्ने हो । यो मसँगै बोर्डका सबै कर्मचारी साथीहरुको पनि समान दायित्व हो भन्ने लाग्छ ।

नीजि क्षेत्रसँग हातेमालो

सबैभन्दा पहिलो कुरा त बोर्ड सार्वजनिक नीजि साझेदारी(पिपीपी) को अवधारणामा स्थापित र सञ्चालित भएको विषयलाई हामीले मनन् गर्नुपर्छ र नीजि क्षेत्रले पनि बोर्डले गर्ने हरेक काममा यो आफ्नो पनि हो भन्ने हिसाबले जिम्मेवारी निर्वाह गर्नुपर्छ । अहिले म आन्तरिक गृहकार्यमा लागिरहेको छु । बुझने काम गरिरहेको छु । मैले जिम्मेवारी सम्हालेको भर्खर १२-१५ दिनमात्रै हुँदैछ । मैले विगतमा गरिरहेका कामलाई थाती राख्दै अगाडि बढ्ने होईन कि विगतदेखि हुँदै आएका उपयुक्त र राम्रा कामलाई नै निरन्तरता दिने हो । राम्रा कामलाई पछाडि छोडेर आफ्ना कुरामात्र राखेर अगाडि बढ्ने मान्छे म होईन । राम्रा कामलाई सधैं आत्मसाथ गरेर अगाडि बढ्छु ।

यो संस्थाको जन्म भएको नै नीजि क्षेत्रलाई सहयोग पुर्याउन भएको हो । यहाँ म रहेर गर्ने काम भनेको नीजि क्षेत्रलाई सहयोग गर्नु नै हो । जस्तो अहिलेको अवस्थामा कोरोना भाईरसको विश्वव्यापी त्रासको अवस्था छ । जसका कारण नेपालको पर्यटनमा पनि असरहरु देखिदै जान थालेका छन् । नेपालका होटलहरु खाली हुँदै गएको गुुनासो व्यवसायी साथीहरुले गरिरहनुभएको छ ।

विश्वभर नै कोरोना भाइरसको त्रासका कारण पर्यटक अहिले कतै घुम्न ननिस्कने, बुकिङ गरेको यात्रा प्याकेजसमेत रद्द गर्ने अवस्था बढदो छ । यस्तो अवस्थामा हाम्रो पर्यटन व्यवसायलाई कसरी सुचारु गरिरहने, यस्तो समस्यामा कसरी लड्ने, यस्ता अफ्ठयाराहरुको कसरी सामना गर्ने र नेपाल सुरक्षित छ है भनेर विश्वलाई आश्वस्त पार्ने काम हामीले नीजि क्षेत्रसँग एकाकार भएर गर्नुपर्छ । यस्तो अवस्थामा सबैको मुख्य दायित्व नेपाली पर्यटनलाई थप अगाढि बढाउन भूमिका निर्वाह गर्ने नै हुनुपर्छ ।

प्रर्वद्धनको स्वरुप परिवर्तन

बोर्डको मुख्य दायित्वमा नेपाली पर्यटनको प्रर्वद्धन रहेको छ । बोर्डको प्रमुख आम्दानी विमानस्थलमा बाहिरिने यात्रु प्रत्येकबाट १ हजार रुपैयाँ उठाएको रकम जुन छ, त्यो नै हो । त्यसको सदुपयोग गर्दै हामी विदेशमा प्रचारप्रसार गरिरहेका छौं । नेपालमा यस्तो छ, यो कारणले नेपाल भ्रमण गर्नुहोस, नेपाल प्राकृतिक, सांस्कृतिक रुपमा धनी देश हो, भाषा, संस्कृति नेपालको बेग्लै छ भन्दै प्रचारप्रसार गर्न बनाएको संस्था हो यो ।

यसरी हेर्दा मेरो कार्ययोजना भनेको जुन बोर्डले गर्ने भनेका कामहरु छन्, त्यही नै हो । त्यसैलाई प्रचारप्रसार गर्ने हो । तर, बोर्डले गरिरहेको प्रचारप्रसार र प्रर्वद्धनमा कमीकमजोरी रहेका छन् भने त्यसमा सुधार गर्ने हो । जस्तो अब हाम्रो प्रचार प्रसार र प्रर्वद्धनलाई पुरानै ढर्राबाट गरिरहनु हुँदैन् भन्ने मेरो धारणा छ । अब हाम्रो प्रर्वद्धन न डिजिटिलाईजेशन हुनुपर्छ । अहिले फेसबुक, ईन्स्ट्रग्राम, ट्वीटरको जमाना छ । अझै हामी भने पर्चा, पम्ल्पेट बाँडिरहेका छौं । अझै पनि बोर्डमा प्रिन्टिङकै युग रहेछ । जसलाई अब डिजिटिलाईजेशन गर्ने गरि काम अघि बढाईरहेका छौं । बोर्डले गर्ने
प्रर्वद्धन प्रभावकारी र उपलब्धिमूलक बनाउन मेरो प्रयास रहन्छ । यसमा के कति परिवर्तन गर्नुपर्ने हो, सुधार गर्नुपर्ने हो, कसरी अगाढि बढनुपर्ने हो भन्नेमा हामी नीजि क्षेत्रलगायत सबै सरोकारवालाहरुसँग बसेर छलफल गर्ने छौं ।

समयानुकुल योजना

अहिले सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० को दोश्रो महिना हो । भ्रमण वर्ष एउटा राष्ट्रिय अभियान पनि भएकाले यसलाई सफल पार्नु सबैको दायित्व हो र यममा बोर्डको भूमिका थप महत्वपूर्ण र जिम्मेवारीपूर्ण रहन्छ । भ्रमण वर्षका लागि पनि सरकारले मलाई उद्देश्य तोकेर दिएको छ, मेरो काम के हो भनेर । मैले अहिलेसम्म भईरहेको कामलाई कसरी प्रभावकारी बनाउने भनेर अगाडि लैजाने कोशिस गरेको छु ।

अहिले हामीले कोरोना भाईरसको जुन त्रास फैलिरहेको छ । त्यसको नेपाली पर्यटनमा गम्भीर असर नपरोस भनेर ‘क्विक एक्सन प्लान’ बनाउनु पर्नेछ । यसका लागि हामीले स्वास्थ्य मन्त्रालयलगायतसँग बसेर छलफल पनि गरेका छौं । चीनमा फैलिएको भाईरसले गर्दा नेपालमात्रै नभएर विश्वमानै चिनियाँ पर्यटकमा कमी आएको छ । यस्तो अवस्थासँग हामी कसरी लड्ने भनेर हामीले चिनियाँ बजारलाई बिक्री गर्ने नीजि क्षेत्रका साथीहरुसँग बसेर त्यसको विकल्प के भनेर छलफल गरेका छौं । उहाँहरुले यो समस्या अल्पकालीन मात्र हो भनिरहनु भएको छ । भोलि यो समस्या समाधान भएपछि बढी पर्यटक आउने भनेको चीनबाट नै हो ।

त्यसैले हामीले चीनको बजार गुमायौं भनेर चिन्ता लिनुनपर्ने नीजि क्षेत्रका साथीहरुको धारणा देखिन्छ । अहिले हामीले सीमा क्षेत्रका व्यवसायी साथीहरुलाई समेत सकारात्मक प्रवद्र्धनका लागि परिचालन गरेका छौं । नेपाल सुरक्षित छ नेपाल यो कारणले पनि भ्रमण गर्न आवश्यक छ भनेर प्रचारप्रसारमा तीब्रता दिएका छौं ।

अब हाम्रो चासो नेपालमा पर्यटक ल्याउन सकिने उपयुक्त स्रोतहरुको खोजी र छनौट हुनुपर्छ भन्नेमा मेरो जोड छ । जुन स्रोतमा जस्तो प्रवद्र्धन आवश्यक पर्छ, त्यस्तै योजना बनाएर काम गर्न सकियो भने उपलब्धि हासिल गर्न सकिने देखिन्छ । अहिले हाम्रो राष्ट्रिय धवजाबहाक जापान उडिरहेको छ । यस्तो अवस्थामा हामीले जापानबाट थप पर्यटक भित्र्याउने उपायका बारेमा परामर्श गरिरहेका छौं । हामीले जापानीे राजदूतावासँग पनि कुरा गरेका छौं । जापानबाट पर्यटक बढ्ने सम्भावना छ । यस्तै हामीले कोरियाको केही साथीहरुसँग समेत कुरा गरिरहेका छौं । कतार चेम्बर अफ कमर्शसँग कुरा गरिरहेका छौं ।

बंगलादेशसँग कुरा भईरहेको छ । तर बंगलादेशका पर्यटक ल्याउन भने केही चुनौती समेत छ । बंगलादेशबाट हामी गाडीमा हुलका हुल पर्यटक ल्याउन त सक्छौं । तर, भारतले एक पटकलाई मात्रै भिसा दिने रहेछ । बंगालेशबाट हवाईमार्गबाट पर्यटक ल्याउन सकिने अवस्था छैन । किनभने हाम्रो हवाइभाडा महंगो छ । गाडीमा ल्याउन सकिन्छ र पर्यटक आउन ईच्छुक पनि छन् । तर, समस्या भिसाको भयो । जसका कारण उनीहर आउन चाहेर पनि भारतकै कारण नेपाल आउन नसकिरहेको अवस्था छ । हामी यो समसयालाई कुटनीतिक ढंगले हल गर्न सरकारसँग कुरा राखेका छौं । यो छोटो समयमा हुने कुरा होईन । यस्तै हामीले नयाँ बजारहरु खोज्ने कामलाई अब तिब्रता दिन्छौं ।

समन्वय
अहिले नेपालमा सबैले अनुभत गरेको विषय हो पर्यटन । नेपाल पर्यटनका लागि उपयुक्त गन्तब्य हो र पर्यटनबाटै उपलब्धि हासिल गर्न सकिन्छ भन्नेमा सबैको एकमत देखिन्छ । यस्तोमा हामी सबैले एउटै उद्देश्यका कार्य गरिरहेका सबै निकाय र क्षेत्रसँग समन्वय गरेर अघि बढनुपर्छ भनेर काम अघि बढाएका छौं । एक मन्त्रालय र अर्को मन्त्रालयबीच, विभाग–विभागबीच तथा नीजि क्षेत्रसँग पनि आवश्यक समन्वय गर्दै छौं । विद्यालयस्तरबाटै देश सफा राख्नुपर्छ भनेर विधार्थीलाई बुझाउनका लागि हामीले अतिरिक्त क्रियाकलापहरुको रुपमा कार्यक्रमहरु राख्न प्याब्सन, एनप्याब्सनसँग छलफल अगाडि बढाईरहेको छौं ।

हामीले २ पटकसम्म गरेको छलफलमा उहाँहरु पन सहमत देखिनु भएको छ । पर्यटन बाल क्लव बनाएर सानैदेखि बुझाउने गरि काम गर्ने योजना तय भएको छ । देश राम्रो बनाउन सके न पर्यटक आकर्षित हुने हुन् । तर, यस्तो काम बोर्डले गर्न त सकदैन । यसैले हामीले पहिले विधार्थीलाई बुझाउने पहल थालेका हौं । जसकालागि बोर्डका सहकर्मी साथीहरु खटिरहनु भएको छ । २० बर्ष उमेर कटेकालाई यो गरौं, यसो गरौं भनेर नसकिने रहेछ । सानैदेखि यस्ता कुराहरु सिकुन भनेर नै हामीले यो काम गर्न लागेका हौं । यो मैले १२÷१५ दिन भित्र गरेको काम हो ।

काममा ध्यान

हामी प्रचारमुखीभन्दा पनि काम देखाउने गरि लागिपरेका छौं । म विकाससँगसँगै बिनास हुने कामहरुलाई रोक्नु पर्छ भन्नेमा जोड दिन्छु । मेरो मतलब हामी कुनै उत्पादन गछौं भने त्यो दिगो हुनुपर्यो, त्यसबाट प्राप्त हुने उपलब्धि सबैमाझ समान रुपमा पुग्न सकोस । कामदार संधै भारी बोकेको बोक्यै हुने अनि मालिक मोटाउने हुनु भएन ।

भरियाले भारीसँगै राम्रो रकम पाओस, उसले दुख गरे अनुसार खाएर घर आउँदा दुई पैसा भए पनि घर ल्याओस, उसको स्वास्थ्यको सुरक्षा पनि त्यो भित्र परोस, उसको बीमा सुरक्षित होस, होटलहरुले समेत स्तरीय खानेकुरा मात्रै दिने गरोस, सरसफाईमा ध्यान दिउन, पैसा तिरेर खाए पछि सरसफाई होस । यो पर्यटक वा हामी सबैको अधिकार हो । पर्यटनको दिगो विकासका लागि जनचेतना पनि बढाउनु पर्ने आवश्यकता छ । संरक्षण गर्नुपर्ने स्थानमा संरक्षण गर्दै दिगोरुपमा कसैलाई नकरात्मक असर नपर्ने गरि पर्यटनको विकास गर्नेमा म प्रतिबद्ध छु । प्रस्तुति : राङडोल लामा

प्रतिक्रिया दिनुहोस्
MBL