Logo

डब्लूएचओको खुलासा : कोरोनाका बिरामीलाई अनावश्यक रूपमा एन्टिबायोटिक दिइयो, सुपरबगको जोखिम उच्च

डब्लूएचओको खुलासा : कोरोनाका बिरामीलाई अनावश्यक रूपमा एन्टिबायोटिक दिइयो, सुपरबगको जोखिम उच्च



काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले हालै गरेको एक अध्ययनले कोभिड–१९ (कोरोना) महामारीको समयमा दिइएको एन्टिबायोटिकले सुपरबग अर्थात एन्टिमाइक्रोबियल रेजिस्टेन्स (एएमआर) फैलाएको प्रमाण फेला पारेको छ । एएमआर एक प्रकारको प्रतिरक्षा हो जुन शरीरमा अत्यधिक एन्टिबायोटिक प्रवेश गर्दा हुन्छ । जसका कारण शरीरमा औषधि विशेष गरी एन्टिबायोटिकको प्रभाव कम हुन्छ ।

laxmi

विश्वभर कोभिड महामारीका कारण अस्पताल भर्ना भएकामध्ये ८ प्रतिशत मात्र ब्याक्टेरियाको संक्रमण भएका र एन्टिबायोटिक औषधिको आवश्यकता रहेको डब्लूएचओले जनाएको छ । तर,अतिरिक्त सावधानीको नाममा करिब ७५ प्रतिशत बिरामीलाई एन्टिबायोटिक दिइयो ।

‘विश्व स्वास्थ्य संगठनको पछिल्लो प्रतिवेदनले कोभिड महामारीको समयमा मानिसलाई अत्यधिक मात्रामा एन्टिबायोटिक दिइएकाले सुपरबगको जोखिम बढेको देखाएको छ’

पश्चिमी प्रशान्त क्षेत्रमा सबैभन्दा कम बिरामीहरूलाई लगभग ३३ प्रतिशत एन्टिबायोटिकहरू दिइयो जबकि पूर्वी भूमध्य क्षेत्र र अफ्रिकामा ८३ प्रतिशतसम्म बिरामीहरूलाई यी औषधिहरू दिइयो । २०२० र २०२२ को बीचमा, युरोप र संयुक्त राज्य अमेरिकाका डाक्टरहरूले बिरामीहरूलाई कम एन्टिबायोटिक सिफारिस गरे, जबकि अफ्रिकामा दर बढको थियोे । धेरैजसो एन्टिबायोटिक ती बिरामीहरूलाई दिइयो जसको कोभिड लक्षणहरू धेरै गम्भीर थिए । तिनीहरूको संख्या लगभग ८१ प्रतिशत थियो । अफ्रिकामा मध्यमदेखि कम तीव्रताका कोभिड लक्षण भएका ७९ प्रतिशत बिरामीलाई पनि एन्टिबायोटिक दिइयो । अन्य क्षेत्रमा यो दर कम वा एकदम कम थियो ।

अनावश्यक औषधिको खतरा

‘यदि बिरामीलाई एन्टिबायोटिक चाहिन्छ भने, फाइदाहरू जोखिम वा साइड इफेक्टभन्दा बढी हुन्छन्’ संयुक्त राष्ट्र स्वास्थ्य संगठनको एएमआर डिभिजनको निगरानी, प्रमाण र प्रयोगशाला इकाईका प्रमुख डा. सिल्भिया बर्टाग्नोलियोले भनिन ‘यदि आवश्कताविनै एन्टिबायोटिक दिइयो भने जोखिमहरू निकै उच्च हुन्छन् र तिनीहरूको प्रयोगले पनि एएमआरको फैलावट बढाउँछ ।’ संस्थाले जारी गरेको विज्ञप्तिमा डा बर्टाग्नोलियो भन्छिन् कि पछिल्लो अध्ययनको तथ्यांकले एन्टिबायोटिकको विवेकपूर्ण प्रयोगमा जोड दिएको छ जसले गर्दा बिरामी र अरूलाई हुने अनावश्यक जोखिमलाई कम गर्न सकिन्छ ।

अध्ययनले कोभिड–१९ का बिरामीको उपचारमा एन्टिबायोटिकले कुनै फाइदा नदिएको बताउँदै ब्याक्टेरियाको संक्रमण नभएका मानिसहरूमा हानिको जोखिम पक्कै बढेको बताएको छ । यस अध्ययनका आधारमा कोभिड–१९ का बिरामीलाई एन्टिबायोटिक दिने सम्बन्धमा डब्लूएचओले जारी गर्ने दिशानिर्देश तयार भइरहेको छ । डब्ल्यूएचओको यो प्रतिवेदन जनवरी २०२० देखि मार्च २०२३ सम्मका ६५ देशमा कोभिडका कारण भर्ना भएका करिब साढे चार लाख बिरामीको तथ्यांकमा आधारित छ ।

सुपरबग खतरनाक

डब्ल्यूएचओमा एएमआर डिभिजनका सह–महानिर्देशक डा युकियो नाकतानीले भने, “यस अध्ययनले विश्वभर प्रणालीगत एन्टिबायोटिक प्रावधान सुधार गर्नका लागि थप स्रोतहरू आवश्यक पर्ने देखाउँछ ।’ सुपरबग्स अर्थात् एन्टिबायोटिकको मानव शरीरमा हुने असरलाई विश्वभर स्वास्थ्यका लागि सबैभन्दा ठूलो खतरा मानिन्छ । एक अनुमानअनुसार सन् २०१९ मा यसैको कारण १२.७ लाख मानिसको ज्यान गएको थियो ।

संयुक्त राष्ट्रसंघले सन् २०५० सम्ममा यो खतरा यति ठूलो हुने अनुमान गरेको छ कि एन्टिबायोटिक औषधी प्रभावकारी नभएका कारण हरेक वर्ष करिब एक करोड मानिसले ज्यान गुमाउनेछन् । यो खतरा यति ठूलो छ कि यसको सामना गर्न वैज्ञानिकहरु धेरै प्रयास गरिरहेका छन् । यसमा नयाँ प्रकारका एन्टिबायोटिकहरू विकास गर्नेदेखि आर्टिफिसियल इन्टेलिजेन्सको मद्दत लिनेसम्मका विभिन्न प्रयासहरू समावेश छन् । अनुवाद गरिएको

प्रतिक्रिया दिनुहोस्
MBL