Logo

४ महिनामा साढे ४ खर्ब बढीको व्यापारघाटा, प्रतिमहिना १ खर्ब २८ अर्बको आयात, १२ अर्बको निर्यात

४ महिनामा साढे ४ खर्ब बढीको व्यापारघाटा, प्रतिमहिना १ खर्ब २८ अर्बको आयात, १२ अर्बको निर्यात



काठमाडौं । चालु आर्थिक बर्षको पहिलो ४ महिना (साउन–कार्तिक)सम्म नेपालले साढे ४ खर्ब रुपैयाँ बढीको व्यापारघाटा व्यहोरेको छ । भन्सार विभागले बिहीबार सार्वजनिक गरेको तथ्यांक अनुसार यस अवधिमा नेपालले गर्ने निर्यातको व्यापारभन्दा आयात व्यापार उच्च हुँदा ४ महिनामै ४ खर्ब ६१ अर्ब ९३ लाख रुपैयाँ व्यापारघाटा पुगेको हो ।

laxmi

विभागका अनुसार यसरी नेपालले चालु आर्थि बर्षको प्रतिमहिना नै १ खर्ब ४० अर्ब रुपैयाँ बराबरको व्यापारघाटा व्यहोरीरहेको छ । चालु आवको पहिलो ४ महिनामा नेपालले व्यहोरेको व्यापारघाटा गत आर्थिक बर्षको यहि अवधिको तुलनामा ३.३४ प्रतिशतले बढी भएकोसमेत विभागले जानकारी दिएको छ ।

पछिल्लो ४ महिनामा नेपालले ५ खर्ब १२ अर्ब ५० करोड रुपैयाँ बराबरको वस्तु आयात गर्दा जम्मा ५० अर्ब ५६ करोड रुपैयाँ बराबरको मात्रै मालवस्तु विदेश निर्यात गरेको छ । यहि तथ्यांकलाई चालु आवको ४ महिनासँग हिसाव गर्दा नेपालले प्रतिमहिना १ खर्ब २८ अर्ब रुपैयाँ बढीको वस्तु आयात गर्दा जम्मा १२ अर्ब ६४ करोड रुपैयाँ बराबरको मात्रै मालवस्तु निर्यात गर्नेगरेको पाईएको हो ।

विभागकै तथ्यांकलाई आधार मान्दा चालु आवको पहिलो ४ महिनामा गत आवको सोही अवधिको तुलनामा आयात र निर्यात व्यापार क्रमशः ७.६८ र ३.७९ प्रतिशतले बढेको देखिएको छ ।

नेपालले गर्ने कुल वैदेशिक व्यापारमा आयात व्यापारको हिस्सा ९१.२ प्रतिशत छ भने निर्यात व्यापारको हिस्सा जम्मा ८.९८ प्रतिशत छ ।

प्रतिक्रिया दिनुहोस्
MBL