Logo

एक महिनाको आयात बराबर ११ महिनाको निर्यात, जेठमा मात्रै २२ अर्बको पेट्रोलियम पदार्थ आयात

एक महिनाको आयात बराबर ११ महिनाको निर्यात, जेठमा मात्रै २२ अर्बको पेट्रोलियम पदार्थ आयात



काठमाडौं । गएको जेठ महिनामा मात्रै नेपालले विभिन्न देशबाट झण्डै साढे १ खर्ब रुपैयाँ बराबरको वस्तु आयात गरेको छ । यो नेपालले पछिल्लो ११ महिनामा गरेको निर्यात व्यापारभन्दा केहि बढी हो ।

laxmi

भन्सार विभागका अनुसार चालु आर्थिक बर्षको ११ महिना अर्थात गएको साउनदेखि जेठ मसान्तसम्म नेपालले १ खर्ब ४३ अर्ब ५८ करोड रुपैयाँ बराबरको वस्तु निर्यात गरेको छ । तर, जेठ महिनामा मात्रै नेपालले वस्तु आयात भने ११ महिनाको नेपालको निर्यात व्यापारभन्दा बढी १ खर्ब ४५ अर्ब ६५ करोड रुपैयाँ बराबरको आयात गरेको छ ।

यो नेपालले चालु आवको ११ महिनामा गरेको कुल निर्यात व्यापारभन्दा २ अर्ब ७ करोड रुपैयाँले बढी हो । सरकारले निर्यात वृद्धि गर्नका लागि बर्षेनी अर्बाैं रकम खर्च गर्ने गरेपनि त्यसको प्रत्यक्ष असर भने व्यापारमा नदेखिँदा नेपालको वैदेशिक व्यापारघाटाको खाडल बढ्दै गएको छ ।

यता निर्यातकै कुरा गर्दा पनि नेपालले चालु आर्थिक बर्षको जेठ महिनामा जम्मा १२ अर्ब ६८ करोड रुपैयाँ बराबरको वस्तु निर्यात गरेको छ । यो पनि जेठ महिनामा नेपालले विदेशबाट आयात गरेको डिजेल बराबर मात्रै छ । नेपालले जेठ महिनामा डिजेलमात्रै १२ अर्ब २३ करोड ८७ लाख रुपैयाँ बराबरको आयात गरेको छ । यसरी यस अवधिमा नेपालले डिजेल, पेट्रोल र खाना पकाउने ग्याँस मात्रै २२ अर्ब रुपैयाँ बढीको आयात गरेको भन्सार विभागको तथ्यांकमा उल्लेख छ ।

तथ्यांकलाई आधार मान्दा नेपालले जेठ महिनामा आयात गरेका वस्तुहरुबाट ३५ अर्ब ५८ करोड ९७ लाख रुपैयाँ बढी भन्सार राजस्व उठाएको छ । पछिल्लो समय सरकारले आयातमा लगाएको अंकुशका कारण राजस्व लक्ष्यमा दबाव परिरहेको छ । यसै अवधिमा नेपालले पेट्रोलियम पदार्थबाट मात्रै अर्ब १७ करोड रुपैयाँ बराबरको राजस्व संकलन गरेको छ ।

यस अवधिमा आयात भएका सबैभन्दा बढी वस्तुको सूचीको पहिलो दोस्रो र तेस्रो स्थानमा डिजेल, पेट्रोल र खाना पकाउने ग्याँस नै छन् । चालु आवको हालसम्मकै कुरा गर्दा पनि नेपालमा यी तीन वस्तु मात्रै १ खर्ब ५५ अर्ब रुपैयाँ बराबरको आयात भएको देखिन्छ । नेपालले गर्ने आयातको व्यापार सबैभन्दा ठुलो हिस्सा ओगट्ने पेट्रोलियम पदार्थको खपत नियन्त्रण गरी आयात घटाउन सरकारले विद्युत उर्जालाई प्राथमिकता दिने नीति अघि सारेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL