Logo

साढे २ खर्ब नाघ्यो बजेट घाटा, चालु खर्च र कुल आम्दानी बराबर

साढे २ खर्ब नाघ्यो बजेट घाटा, चालु खर्च र कुल आम्दानी बराबर



काठमाडौं । चालु आर्थिक बर्षको १० महिनामा सरकारको बजेट घाटा साढे २ खर्ब माथि पुगेको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार बैशाख अन्तिम अर्थात आईतबारसम्म सरकारको कुल आम्दानीभन्दा कुल खर्च २ खर्ब ५० अर्ब ४१ करोड ५२ लाख रुपैयाँले बढी हुन आएको हो । यसरी सरकारको कुल आम्दानीभन्दा खर्च बढी हुनुलाई बजेटघाटा भनिन्छ ।

laxmi

लक्ष्यअनुसार राजस्व संकलन हुन नसकेको र आवश्यकताभन्दा बढी चालु खर्च गर्दा सरकारको बजेटघाटा उच्च हुन पुगेको विज्ञहरु बताउँछन् । यता महालेखा नियन्त्रक कार्यालयका अनुसार बैशाख मसान्तसम्म ५४.६६ प्रतिशत अर्थात ७ खर्ब ५७ अर्ब ३४ करोड ५८ लाख रुपैयाँ बराबरको राजस्व उठेको छ । यसमा सरकारले पाएको वैदेशिक अनुदान पनि जोडिएको छ । तर, यसै अवधिमा कुल खर्च भने लक्ष्यको ५८.४१ प्रतिशत अर्थात १० खर्ब ४७ अर्ब ७६ करोड रुपैयाँ माथि पुगेको छ ।

यसरी कुल खर्च सरकारको कुल आम्दानीभन्दा बढी हुन आएको तथ्यांकमा देखिएको छ । पछिल्लो समय सरकारले विभिन्न शिर्षकमा वितरण गर्ने चालु खर्चहरुलाई कटौति गर्न खोजीरहेपनि यसको प्रत्यक्ष असर भने देखिईसकेको छैन । यता विकास खर्च भनिने पुँजीगत खर्चको अवस्था भने यस अवधिमा दयनिय देखिन्छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार चालु आवको १० महिनामा पुँजीगत खर्च लक्ष्यको जम्मा ३३ प्रतिशत मात्रै भएको छ ।

सरकारले चालु आवमा ३ खर्ब ८० अर्ब ३८ करोड रुपैयाँ बराबरको पुँजीगत खर्च गर्ने लक्ष्य राखेको थियो । तर, हालसम्म अर्थात आव सकिन २ महिना मात्रै बाँकी रहँदा यो र्खा १ खर्ब २५ अर्ब रुपैयाँमा सीमित भएको छ । यता चालु खर्चतर्फ भने लक्ष्यको ६६ प्रतिशत खर्च भईसकेको छ ।

सरकारले चालु आवको बजेटमार्फत यो बर्ष चालु खर्च ११ खर्ब ८३ अर्ब रुपैयाँ खर्च गर्ने लक्ष्य राखेकोमा हालसम्म ७ खर्ब ८६ अर्ब रुपैयाँ खर्च भईसकेको छ । यसमा कर्मचारी तथा पदाधिकारीहरुको तलव भत्ता, सामाजिक सुरक्षा भत्ता, दैनिक प्रशासनिक खर्च आदि पर्दछन् ।

प्रतिक्रिया दिनुहोस्
MBL