Logo

अर्थमन्त्रालयको ३ बर्षे बजेट समिक्षा : राजस्वमा पास, खर्चमा फेल

अर्थमन्त्रालयको ३ बर्षे बजेट समिक्षा : राजस्वमा पास, खर्चमा फेल



काठमाडौं । अर्थ मन्त्रालयले सरकारको समग्र आम्दानी तथा खर्चको पछिल्लो तीन वर्षको अर्धवार्षिक तथ्याङ्क सार्वजनिक गरेको छ । मन्त्रालयले सार्वजनिक गरेको उक्त तथ्यांक अनुसार सरकारले गर्ने आम्दानी अर्थात राजस्व संकलनतर्फ धनात्मक अर्थात बार्षिक रुपमा बढ्दै गएको छ । तर सरकारले गर्ने पुँजीगत खर्च परिचालनको अवस्थामा भने खस्किदो छ ।

laxmi

तथ्यांक अनुसार आर्थिक वर्ष २०७६/७७ को पुस मसान्तसम्म राजस्व संकलन कुल लक्ष्यको ३८ दशमलव ९५ प्रतिशत रहेकोमा आर्थिक वर्ष २०७७/७८ मा ४१ दशमलव ७३ प्रतिशत लक्ष्य हासिल गरेको थियो । यस्तै चालु आर्थिक वर्ष २०७८/८९ को पुस मसान्तसम्म राजस्व उठौती लक्ष्य ४५ दशमलव ९१ प्रतिशत हासिल गरेको थियो । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ४ दशमलव १८ प्रतिशतले बढी हो ।
यसैगरी अर्धवार्षिक खर्चतर्फ भने पछिल्लो तीन आर्थिक वर्षमा खस्कदो अवस्थामा रहेको छ । सरकारले बजेट ल्याउँदा मौखिम रुपमा पुँजीगत खर्च परिचालनलाई उच्च प्राथमिकता दिएपनि व्यवहारिक रुपमा भने सोही अनुरुप हुन सकेको छैन । सरकारले आर्थिक वर्ष २०७६/७७ को पुस मसान्तसम्म १४ दशमलव ८९ प्रतिशत खर्च गरेको थियो भने आर्थिक वर्ष २०७७/७८ को सोही अवधिमा खस्किदै १४ दशमलव ४० प्रतिशतमा झरेको थियो ।

यस्तै चालु आर्थिक वर्ष २०७८/८९ को पुस मसान्तसम्म पुँजीगत खर्च परिचालनको स्थिती अझ खस्किदै १३ दशमलव ४४ प्रतिशतमा सिमित भएको छ । यो बर्ष प्रतिस्थापन बजेट ल्याउनुपर्ने आवश्यकता र मध्य असोजपछि मात्र बजेट कार्यान्वयनमा आएको कारणले पुँजीगत खर्च अपेक्षाकृत हुन नसकेको अर्थ मन्त्रालयले जानकारी दिएको छ ।

समीक्षा अवधिको चालु र वित्तीय खर्चमा भने केही उतार चढाव देखिएको छ । आर्थिक वर्ष २०७६/७७ को पुस मसान्तसम्म चालु खर्च ३२ दशमलव ३५ प्रतिशत भएको थियो भने वित्तीय खर्च २२ दशमलव ४४ रहेको थियो । आर्थिक वर्ष २०७७/७८ को सोही अवधिमा चालु खर्च ३६ दशमलव ०८ रहेकोमा वित्तीय खर्च १३ दशमलव ०६ भएको थियो ।

यस्तै चालु आर्थिक वर्ष २०७८/८९ को पुस मसान्तसम्म चालु खर्च ३८ दशमलव १३ प्रतिशत रहेकोमा वित्तीय खर्च २६ दशमलव १२ प्रतिशत रहेको छ । वित्तीय खर्च अघिल्लो वर्षको तुलनामा करिब दोब्बर बढी भएको तथ्यांकले देखाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL