Logo

मलेसिया-भारत राजनितीक खिचातानी : ३० हजार टन बढी मलेसियाको पाम आयल भारतीय बन्दरगाहमा थन्कियो

मलेसिया-भारत राजनितीक खिचातानी : ३० हजार टन बढी मलेसियाको पाम आयल भारतीय बन्दरगाहमा थन्कियो



काठमाडौं । राजनीति खिचातानीका कारण भारत र मलेसियाको सम्बन्धमा आएको उतारचढाव मलेसियाको भारत व्यापारमा परेको छ । कश्मीर मामिलामा पाकिस्तानलाई समर्थन गरेपछि चुलिएको भारत–मलेसिया तनावले पाम आयलको कारोबारलाई प्रभावित तुल्याएको छ।

मलेसियाबाट भारत पुगेको हजारौँ टन पाम आयल भारतीय बन्दरगाहमा थन्किएको छ । अन्तर्राष्ट्रिय समाचार एजेन्सीका अनुसार प्रतिबन्धअघि नै मलेसियाबाट पाम आयल लिएर आएका जहाज बन्दरगाहमा थन्किएका हुन् ।

बन्दरगाहमा थन्किएपछि पाम आयल बोकेका जहाज ठूलो समस्यामा परेका छन् । मलेसियाबाट ३० हजार टनभन्दा बढी पाम आयल आएको थियो । मलेसियाबाट आउने खाद्य तेल सबैभन्दा धेरै भारतले खरिद गर्ने गर्छ । तर कश्मीर र नागरिकता संशोधन कानुन (सीएए) को विषयमा मलेसियाका प्रधानमन्त्रीको बयानपछि भारतले प्रतिबन्ध लगाएको हो । जसका कारण मलेसियालाई आर्थिक घाटा भएको छ ।

मलेसिया, इन्डोनेसियापछि पाम आयलको दोस्रो सबैभन्दा ठूलो उत्पादक र निर्यातकर्ता देश हो । भारतले मलेसियालीबाट आउने पाम आयलमा गएको जनवरी ८ मा प्रतिबन्ध लगाएको थियो । प्रतिबन्धअघि नै ताडीको तेल बोकेर भारततर्फ गएका कार्गो पानीजहाजहरुलाई भारतले बन्दरगाहमा रोकिदिएको हो। मलेसियाबाट आउने पाम आयलमाथि भारतले जनवरी ८ तारिखमा प्रतिबन्ध लगाइदिएको थियो।

भारतले प्रतिबन्ध लगाइदिएपछि मलेसियाकै बजारमा पाम आयलको भाउ १० प्रतिशतले घटेको छ, जुन बितेका ११ बर्षकै सर्वाधिक ठूलो गिरावट भएको मलेसियाली सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन्। मलेसियामा उत्पादन हुने पाम आयलको भारत सबैभन्दा ठूलो खपतकर्ता हो। इन्डोनेसियापछि मलेसियाले विश्वमै धेरै ताडीको खेती गर्छ।

मलेसियाली प्रधानमन्त्री महाथिर मोहम्मदले कश्मीरको विशेषाधिकार कटौती र पछिल्लो नागरिकता संशोधन गरेकोमा भारतविरुद्ध आलोचना साँधिरहेका छन्। भारतले भने घरेलु उत्पादनको प्रयोगमा जोड दिनुपर्छ भन्दै पाम आयलको आयातमा प्रतिबन्ध लगाएको बताएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL