काठमाडौं । सरकारले आजदेखि स्थायी लेखा नम्बर (प्यान)लाई अनिवार्य गरेको छ । सबैलाई करको दायारमा ल्याउने नीति अनुरुप सरकारले आजदेखि कर्मचारी तलबभत्ता तथा हरेक भुक्तानीमा प्यान नम्बर अनिवार्य गरेको हो ।
आर्थिक नीतिले प्यान नम्बर नभएका कर्मचारी तथा कामदारलाई भुक्तानी गरिएको खर्च आय गणना गर्ने प्रयोजनको लागि खर्च बापत कट्टी गर्न नपाइने व्यवस्था गरेको छ । सोका लागि बजेट मार्फत नै एक व्यक्ति एक प्यान नम्बरको नीति कार्यान्वयनमा ल्याउन जुनसुकै आन्तरिक राजस्व कार्यालयबाट सहज रुपमा लिन पाउने व्यवस्था मिलाइएको छ ।
अबका दिन कुनै पनि उद्योगी व्यवसायीले दैनिक ज्यालादारीमा काम गर्ने कामदार, लोडर, ठेलागाडा रिक्सा लगायतबाट ढुवानी गर्दा त्यस्तो भुक्तानी प्यानमार्फत गर्नुपर्ने हुन्छ । तर व्यवसायीहरुले भने हाल धेरै व्यक्तिले प्यान नम्बर नलिएको दैनिक ज्यालादारी, ढुवानी तथा लोडिङ अनलोडिङको भाडा भुक्तानी गर्दा प्यान नम्बर अनिवार्य गर्न नहुने बताउँदै आएका छन् ।
नयाँ व्यवस्था अनुसार मजदुर कामदारहरुलाइ खातामार्फत पारिश्रमिक भुक्तानी गर्नुपर्ने छ । तर, त्यसमा पनि व्यवसायीहरुले तत्काल कार्यान्वयनमा ल्याउन नसकिने बताउँदै आएका छन् ।