काठमाडौं । अर्थमन्त्री रामेश्वरप्रसाद खनाल र नेपालका लागि मित्रराष्ट्र जापानका राजदुत महामहिम माएदा तोरुबीच शिष्टाचार भेट भएको छ । आज अर्थमन्त्रालयमा अर्थमन्त्री र राजदुतबीच भेट भएको हो । उक्त अवसरमा अर्थमन्त्री खनाल र जापानी राजदुत बीच नेपालको हालको परिवर्तित अवस्था, नेपाल–जापान बीचको ऐतिहासिक सम्बन्ध र जापानले नेपालको आर्थिक सामाजिक विकासमा पुर्याइरहेको सहयोगका विषयमा छलफल भएको थियो ।
उक्त छलफलमा अर्थमन्त्री खनालले विशिष्ट परिस्थतिमा गठन भएको वर्तमान सरकारको मुख्य कार्य तोकिएको समयमा निर्वाचन सम्पन्न गर्नु रहेको र यस अवधिमा पुनर्निर्माण लगायत आर्थिक सामाजिक विकासका कार्यहरुलाई निरन्तरता दिइने बताए । उक्त अवसरमा दुवै पक्षबीच निर्माणाधीन नागढुंगा सुरुङमार्ग परियोजना, तनहुँ जलविद्युत आयोजना, कोटेश्वर इंटरसेक्शन सुधार आयोजना तथा सिन्धुली सडक (बाढी प्रभावित) आपतकालीन पुनर्वास कार्यक्रमलगायत विषयमा विस्तृत छलफल भएको थियो ।
भेटमा अर्थ सचिव घनश्याम उपाध्याय र वैदेशिक सहायता समन्वय महाशाखाका सह–सचिव धनिराम शर्मा पनि उपस्थित रहेका थिए ।