Logo

दशैं विशेष : दशैंका लागि बनाउनुस खसीको मासुका यी उत्कृष्ट १० परिकार

दशैं विशेष : दशैंका लागि बनाउनुस खसीको मासुका यी उत्कृष्ट १० परिकार



काठमाडौं । नेपाली संस्कृतिमा खसीको मासुको विशेष महत्व छ । विशेष गरी दशैं जस्ता चाडपर्वमा यसको महत्व अझै बढ्छ । दशैंमा प्राय घरमा खसीको मासुका विभिन्न परिकार बनाइने चलन छ । यो मासु प्रोटिनयुक्त र स्वादिष्ट हुन्छ, जसलाई विभिन्न तरिकाले पकाएर खाइन्छ । फुर्सदमा घरमै बनाउन सकिने यी परिकारहरूले नेपाली खानपानको विविधता झल्काउँछन् । सेकुवा, करी, छोइला जस्ता परम्परागत व्यञ्जनहरूले स्वाद र स्वास्थ्य दुबैमा फाईदा हुन्छ । आज हामी यो लेखमा दशैंमा घरमा बनाउन सकिने खसीको मासुका १० परिकारहरुको बारेमा कुरा गर्नेछौं ।

मटन सेकुवा

खसीको सेकुवा नेपालीहरूको प्रिय परिकार हो । खासगरी धेरैजसो नेपालीले यसलाई दशैंमा बार्बेक्यू जस्तो बनाएर खाएको देख्न सकिन्छ । यसलाई बनाउन खसीको मासुका टुक्रालाई लसुन, अदुवा, जीरा, धनिया, बेसार, खुर्सानी र तेलमा मिसाएर मरिनेट गर्नुपर्छ । कम्तिमा दुई घण्टा मेरिनेट गरेको मासुलाई आगोमा ग्रिल गरेर यसलाई चिउरा वा भुजा, रोटी, भातलगायतसँग खान सकिन्छ ।

मटन सुकुटी

खसीको सुकुटी दशैंमा बनाइने अर्काे महत्वपूर्ण परिकार हो । यसलाई लामो समय राख्न पनि सकिन्छ । यसलाई बनाउन मासुका पातला टुक्रा काटेर लसुन, अदुवा, खुर्सानी, जीरा, नुनमा मिसाएर मरिनेट गर्नुपर्छ । घाममा सुकाएर वा कम तापमा ड्राई गरेर सुकेपछि तेलमा भुटेर वा सादा खान सकिन्छ । यो स्वास्थ्यकर र पोर्टेबल हुन्छ, फुर्सदमा बनाएर यात्रामा लैजान उपयुक्त हुनाले यसलाई धेरैजसो नेपालीले मन पराउँछन् ।

पक्कु

खसीको पक्कु दशैंको विशेष व्यञ्जन हो । यसलाई ढिलोसम्म पकाएर बनाइन्छ । यसलाई बनाउन १.५ किलो हड्डीसहितको मासुमा तोरीको तेल, जीरा, धनियाँ, खुर्सानी, बेसार, अदुवा, लसुन, तेजपात, ल्वाङ, कालो अलैंची र दालचिनी मिलाई फ्रिजमा राखेर मरिनेट गरेपछि मन्द आगोमा ३०–३५ मिनेट कसौँडीमा ढाकेर पकाईन्छ । मासुको पानी सुकेपछि २५–३० मिनेट भुट्नुपर्छ । नरम भएपछि मसला हटाएर खान सकिन्छ ।

मटन करी

खसीको मासुको करी नेपाली हरेक घरमा दशैंमा बनाइने मुख्य परिकार हो । यसलाई बनाउन १ किलो हड्डीसहितको मासुमा प्याज, अदुवा–लसुन, टमाटर, जीरा, धनियाँ, बेसार, खुर्सानी, गरम मसला मिलाएर तेलमा प्याज ब्राउन गरेपछि मसला र मासु हालेर पकाउनुपर्छ । पानी हालेर नरम नहुँदासम्म पकाईने यो परिकारलाई रोटी वा भातसँग खान सकिन्छ ।

मटन छोयला

खसीको छोइला नेवारी संस्कृतिको उत्कृष्ट परिकार हो । यसलाई बनाउन मासुका टुक्रा काटेर ग्रिल गरेर लसुन, अदुवा, खुर्सानी, जीरा, धनिया, मेथी, तेल र प्याज मिलाउनुपर्छ । धुवाँदार स्वाद दिन तोरीको तेल तताएर यसमा हालेर साँध्नुपर्छ । यसलाई पनि चिउरा वा रोटीसँग खान सकिन्छ ।

मटन तास

खसीको तास चितवन क्षेत्रको विशेष परिकार हो । यसलाई दशैंको फुर्सदिलो समयमा घरमै बनाएर खसीको मासुको नयाँ स्वाद लिन सकिन्छ । यसलाई बनाउन मासुका पातला टुक्रा काटेर जीरा, धनियाँ, बेसार, खुर्सानी, अदुवा–लसुन, नुनमा मरिनेट गर्नुपर्छ । तेलमा प्याज भुटेर मासु हाली नरम नहुँदासम्म फ्राई गर्नुपर्छ । हरियो धनिया र कागती हालेर यसलाई भुजा या चिउरासँग खान सकिन्छ ।

खसीको भुटुवा

खसीको भुटुवा नेपालीहरूको परम्परागत व्यञ्जन हो । दशैंमा खसीको आन्द्रालगायतका आन्तरिक अंगबाट बनाईने यो परिकारलाई विशेष पनि मानिन्छ । यसलाई बनाउन ५०० ग्राम भुटुन (पेटका भाग) काटेर तेल, बेसार, अदुवा–लसुन, जीरा, धनिया, खुर्सानी हालेर तेलमा भुट्नुपर्छ । नरम नहुँदासम्म पकाएको यो परिकार रोटी वा भातसँग खान सकिन्छ ।

मटन मोमो

खसीको मोमो दशैंमा स्टीम या फ्राई गरेर बनाइने लोकप्रिय परिकार हो । यसलाई बनाउन मटन किमामा प्याज, अदुवा–लसुन, जीरा, धनिया, खुर्सानी मिसाएर फिलिङ किमा बनाउनुपर्छ । मैदाको डो मा त्यो किमा भरेर मोमो आकार दिई स्टीमरमा १०–१५ मिनेट या तेलमा फ्राई गरेर पकाउन सकिन्छ ।

मटन पुलाउ

खसीको पुलाउ दशैंको मुख्य परिकार हो । यसलाई बनाउन मासुलाई हड्डीको झोल मा जीरा, तेजपात, ल्वाङ, प्याज, अदुवा–लसुनसँग पकाउनुपर्छ । चामल हालेर मन्द आगोमा पकाएर यसलाई सलाद या तरकारीसँग खान सकिन्छ । यसलाई भातको विकल्पका रुपमा लिन सकिन्छ ।

खसीको खुट्टाको झोल

खसीको खुट्टाको झोल दशैंमा स्वास्थ्यकर सुप जस्तो बनाइन्छ । यसलाई बनाउन ८०० ग्राम खुट्टालाई काटेर तेलमा प्याज, अदुवा–लसुन, बेसार, जीरा, धनिया, खुर्सानी हालेर भुट्नुपर्छ । पानी हालेर प्रेसर कुकरमा ३०–४० मिनेट पाएको यसको झोल र मासुलाई तात्तातो खान सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्
Skip This

Skip This