काठमाडौं । नेपाल राष्ट्र बैंकले गभर्नर डा.विश्वनाथ पौडेलका लागि भाडामा घर खोजी गरेको छ । राष्ट्र बैंकको सम्पत्ति तथा सेवा व्यवस्थापन विभागले गोरखापत्रमा सार्वजनिक सूचना जारी गर्दै यस्तो प्रस्ताव माग गरेको हो ।
भदौ २४ गतेको आन्देलनको क्रममा गभर्नर पौडेलको ललितपुर, भैंसेपाटी स्थित घरमा आगजनी भएको थियो । राष्ट्र बैंकले अहिले उनको बसोबासको लागि ललितपुरमै घर भाडामा खोजेको छ । आइतबार बैंकले इच्छुक व्यक्ति, फर्म वा कम्पनीहरूबाट प्रस्ताव आह्वान गरेको हो ।
भाडामा लिन खोजिएको घर कम्तीमा १६ आनादेखि अधिकतम २४ आनासम्मको भू–क्षेत्रमा बनेको हुनुपर्नेछ । त्यस्तै, कम्तीमा एक हजार वर्गफुट पिलिन्थ क्षेत्रफलमा बनेको र २.५ देखि ३ तलासम्मको हुनुपर्छ। घरमा कम्तीमा ४ वटा बेडरुमा भएको र यसमध्ये १ वटा मास्टर बेडरूम अनिवार्य हुनुपर्नेछ ।
घरमा लिभिङ हल, किचन, डाइनिङ हल स्टोर रुम समेत हुनुपर्नेछ । घरमा कम्तीमा ६ वटा कार वा जिप पार्क गर्न मिल्ने ठाउँ हुनुपर्नेछ । सुरक्षाकर्मी बस्न छुट्टै भवन भएको, सुरक्षित कम्पाउन्ड वाल भएको र कालोपत्रे सडकसँग सिधा जोडिएको हुनुपर्नेछ । त्यस्तै विजुली, ढल निकास र खानेपानीको राम्रो व्यवस्था भएको हुनुपर्नेछ ।
