काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले व्यवसायीलाई मर्यादित र उच्च मनोबलका साथ व्यवसाय गर्न सक्ने वातावरण निर्माण गर्न सुरक्षाको प्रत्याभूति दिलाउन सरकारसँग आग्रह गरेको छ ।
महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकाल नेतृत्वको टोलीले बिहीबार गृहमन्त्री ओम प्रकाश अर्यालसँग गृह मन्त्रालयमा भेट गर्दै निजी क्षेत्रलाई सुरक्षित वातावरण सुनिश्चित गर्न ठोस कदम चाल्न सुझाव दिएको हो ।
भेटमा अध्यक्ष ढकालले निजी क्षेत्रले विभिन्न जिल्लामा सुरक्षाको अनुभूति गर्न नसकेको भन्दै सरकारलाई तत्काल ध्यानाकर्षण गराए । उनले कतिपय उद्यमी–व्यवसायी प्रहरी संरचना पुनर्निर्माणका लागि तयार रहेको जानकारी दिँदै यस सम्बन्धमा उद्योग वाणिज्य संघमार्फत प्रमुख जिल्ला अधिकारीलाई सहकार्यका लागि आग्रह गर्नुपर्ने सुझावसमेत दिए ।
आन्दोलनका क्रममा भएको घुसपैठका कारण निजी क्षेत्रको सम्पत्ति माथि आक्रमण, तोडफोड र आगजनीमा संलग्नलाई कारबाही गर्नुपर्ने मागसमेत महासंघले अघि सारेको छ । ढकालले मुलुकको राजस्वमा योगदान दिँदै रोजगार सिर्जना गरिरहेको निजी क्षेत्रलाई मर्यादित रुपमा काम गर्न सक्ने वातावरण मिलाउन सरकारबाट सकारात्मक सन्देश आउनुपर्नेमा जोड दिए । उनका अनुसार, हाल नेपाली अर्थतन्त्रमा निजी क्षेत्रको योगदान ८१ प्रतिशत छ भने ८६ प्रतिशत रोजगार निजी क्षेत्रले दिइरहेको छ ।
भेटमा महासंघका उपाध्यक्षद्वय हेमराज ढकाल र ज्योत्सना श्रेष्ठ तथा कोषाध्यक्ष भरतराज आचार्यले आन्दोलनका कारण सयौं व्यवसाय प्रभावित भएको र तोडफोड तथा आगजनीका कारण ठूलो आर्थिक क्षति भएको जानकारी गराउँदै सुरक्षाको प्रत्याभूति दिन सरकारसँग आग्रह गरे । दोषीलाई कारबाही नगरे दण्डहीनताको अवस्था सिर्जना हुने भन्दै गृहमन्त्रीको ध्यानाकर्षण गराइएको उनीहरूको भनाइ थियो ।
गृहमन्त्री अर्यालले आम नागरिक र व्यवसायीहरूको शान्ति–सुरक्षाप्रति सरकार संवेदनशील रहेको भन्दै आवश्यक कदम चालिने आश्वासन दिएका छन् ।
महासंघले हाल आन्दोलनका क्रममा निजी क्षेत्रले व्यहोरेको क्षतिको विवरण संकलन गरिरहेको पनि जनाएको छ ।