Logo

सागर डिष्टिलरीले भदौ २५ गतेदेखि आईपीओ निष्काशन गर्ने, कस्तो छ रेटिङको अवस्था ?

सागर डिष्टिलरीले भदौ २५ गतेदेखि आईपीओ निष्काशन गर्ने, कस्तो छ रेटिङको अवस्था ?



काठमाडौं । सागर डिष्टिलरीले भदौ २५ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । यस कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको आईपीओ बाँडफाँटपश्चात सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्न लागेको हो ।

सागर डिष्टिलरीले आफ्नो जारी पुँजी ७२ करोड ६० लाख रुपैयाँको २० प्रतिशतले हुन आउने १४ करोड ५२ लाख रुपैयाँ बराबरको १४ लाख ५२ हजार कित्ता आईपीओ निष्काशन गर्ने अनुमति पाएको थियो । जसको १० प्रतिशतले हुन आउने १ लाख ४५ हजार २ सय कित्ता सेयर विदेशमा रोजगारी गरिरहेका नेपालीहरुका लागि निष्काशन गरी बाँडफाँट गरिसकेको छ ।

त्यस्तै, कम्पनीले ५ प्रतिशत अर्थात ७२ हजार ६ सय कित्ता सेयर सामूहिक लगानी कोषहरुमा बाँडफाँट गरिसकेको छ भने ४३ हजार ५ सय ६० कित्ता सेयर कम्पनीमा कार्यरत कर्मचारीहरुका लागि सुरक्षित गरेको छ । बाँकी रहेको ११ लाख ९० हजार ६ सय ४० कित्ता सेयर सर्वसाधारणको लागि जारी गर्न लागेको हो ।

यस कम्पनीको आइपीओमा भदौ २९ गतेसम्म आवेदन दिन सकिनेछ । उक्त समयमा सबै सेयर बिक्री नभए असोज ८ गतेसम्म आवेदन खुला रहने कम्पनीले जनाएको छ । यस कम्पनीको आइपीओमा लगानीकर्ताले न्यूनतम १० कित्ताकादेखि अधिकतममा १० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

यस कम्पनीको आइपीओलाई रेटिङ एजेन्सी इन्फोमेरिक्सले आईआरएन सिंगल बी प्लस इस्यूअर रेटिङ प्रदान गरेको छ । यसले कम्पनीको समयमा वित्तीय दायित्व पूर्ण गर्न सक्ने अवस्थामा उच्च जोखिम रहेको संकेत गर्दछ । यस कम्पनीका आइपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ । लगानीकर्ताले यस आइपीओमा सि आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरुमार्फत आवेदन दिन सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्