काठमाडौं । नियो बैंक सञ्चालनको केन्द्रीय बैंकले अध्ययन थालेको छ । नेपाल राष्ट्र बैंकका प्रवक्ता किरण पण्डितले नियो बैंकलाई कसरी नेपालमा सञ्चालनमा ल्याउँदा उपयुक्त हुन्छ भन्ने बारेमा केन्द्रीय बैंकले अध्ययन गरिरहेको बिजखबरलाई जानकारी दिए । विशेषत नियो बैंकलाई कसरी अगाडि बढाउन सकिन्छ भन्ने अवधारणाको बारेमा अध्ययन भइरहेको उनले जानकारी दिए । ‘अन्तर्राष्ट्रिय अभ्यासलाई हेरेर कसरी यसलाई अगाडि बढाउन सकिन्छ भन्ने बारेमा अध्ययन भइरहेको छ’ उनले भने ।
साथै, नियो बैंकको लागि छुट्टै लाइसेन्स दिंदा उपयुक्त कि अहिले भएकामध्ये बैंकहरुलाई नियो बैंक सञ्चालनको लागि अनुमति दिंदा राम्रो भन्ने बारेमा पनि केन्द्रीय बैंकले अध्ययन गरिरहेको उनले जानकारी दिए । सरकारले बजेटमार्फत नियो बैंक सञ्चालनमा ल्याउने घोषणा गरेसँगै नियो बैंकको लागि नयाँ लाइसेन्स दिनपर्ने तथा पुराना बैंकहरुलाई नै नियो बैंक सञ्चालन दिनुपर्ने लबिङ भइरहेको छ ।
चालु आर्थिक वर्षको बजेट र मौद्रिक नीतिमा नियो बैंक सञ्चालन गर्ने कुराले प्राथमिकता पाए पनि यो कहिले सञ्चालनमा आउँछ भन्ने एकिन भने छैन । यसको अवधारणामाथि अध्ययन बल्ल सुरु भएकाले नियो बैंकले कहिलेबाट सञ्चालनमा आउँछ भन्ने एकिन भने भइसकेको छैन । ‘यसलाई कसरी सञ्चालनमा ल्याउने भन्ने बारेमा अध्ययन भइरहेको छ’ प्रवक्ता पण्डितले भने । नेपालमा नियो बैंकहरुको सफल कार्यान्वयनका लागि स्पष्ट र प्रगतिशील नियामक ढाँचाको विकास अपरिहार्य रहेको जानकारहरुको भनाई छ । नियामक निकायले नियो बैंकहरुलाई सञ्चालन अनुमति दिनभन्दा पहिले उचित एएमएल÷सीएफटी नियमहरु लागू गर्नुपर्छ । साथै, डिजिटल केवाईसी प्रक्रियाहरुलाई सुरक्षित र प्रभावकारी बनाउने गरी निर्देशनहरु ल्याउनुपर्ने जानकारहरुले बताउँदै आएका छन् ।
पछिल्लो समय डिजिटल कारोबार ह्वातै बढेको छ । बैंक तथा वित्तीय संस्थाहरुले डिजिटल कारोबारलाई सहज बनाउन विभिन्न उपकरणहरु ल्याएका छन् । नियो बैंकको चलन अहिले विश्वभरि निकै बढेको छ । पछिल्लो समय नेपालमा पनि यसको आवश्यकता महशुस भएको जानकारहरुको भनाइ छ । तथापि, यसको लागि स्पष्ट नीति, बलियो नियमन, सुरक्षित प्रविधि र व्यापक डिजिटल साक्षरता हुन आवश्यक छ । यो अवस्थामा नेपालले नियो बैंकमार्फत एक समावेशी र गतिशील डिजिटल वित्तीय भविष्य कोर्न सक्ने जानकारहरु बताउँछन् ।
के हो नियो बैंक, यसले कसरी गर्छ काम ?
नियो बैंक भनेको भौतिक शाखाविहीन, पूर्णतया मोबाइल एप वा वेबसाइटमार्फत सञ्चालन हुने डिजिटल वित्तीय संस्था हो । यसले ग्राहकलाई परम्परागत बैंकका ठूला भवन, काउन्टर र लामो लाइनको झन्झटबाट मुक्ति दिएर आफ्नै हातमा बैंकिङ कारोबार प्रदान गर्दछ । जसले बैंकिङ सेवाहरु जस्तै खाता खोल्ने, रकम जम्मा र निकाल्ने, लोन दिने, बचत तथा खाता सञ्चालन गर्ने काम डिजिटल र मोबाइल माध्यमबाट गर्न सकिने व्यवस्था गर्छ । बैंकहरुको तुलनामा नियो बैंकहरूको शुल्क सामान्यतः कम हुन्छ । डिजिटल प्लेटफर्ममार्फत खाता खोल्न सकिन्छ भने कागजी प्रक्रियाको आवश्यकता पर्दैन ।