Logo

बुंगल हाइड्रोको आईपीओ बिक्री खुला, कस्तो छ रेटिङको अवस्था ?

बुंगल हाइड्रोको आईपीओ बिक्री खुला, कस्तो छ रेटिङको अवस्था ?



काठमाडौं । बुंगल हाइड्रो लिमिटेडले आज भदौ १६ गतेदेखि सर्वसाधारणका लागि सेयर बिक्री खुला गरेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको आईपीओ बाँडफाँटपश्चात सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको हो । कम्पनीले जारी पुँजी ८३ करोड रुपैयाँको ३५ प्रतिशत अर्थात २९ करोड ५ लाख रुपैयाँ बराबरको २९ लाख ५ हजार कित्ता सेयर निष्काशन गर्ने अनुमति पाएको थियो ।

जसमध्ये ८ लाख ३० हजार ८२४ कित्ता साधारण सेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि र २ लाख ७ हजार ५०० कित्ता साधारण सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा रोजगार गरी रहेका नेपालीहरुका लागि निष्कासन गरी बाँडफाँट गरिसकेको छ । त्यस्तै, कम्पनीले १ लाख ३ हजार ७५० कित्ता साधारण सेयर सामूहिक लगानी कोषहरुका लागि र ६२ हजार २५० कित्ता सेयर कर्मचारीहरुका लागि सुरक्षित गरेको छ ।

बाँकी १७ करोड १ लाख ५० हजार रुपैयाँबराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका १७ लाख १ हजार ५०० कित्ता सेयर सर्वसाधारणको लागि बिक्री खुला गरेको हो । उक्त आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । यस आइपीओमा छिटोमा भदौ १९ गतेसम्म आवेदन दिन सकिन्छ भने ढिलोमा भदौ ३० गतेसम्म बिक्री खुला हुनेछ ।

यस कम्पनीको आइपीओलाई रेटिङ एजेन्सी केयर रेटिङ नेपालले केयरएनपी सिंगल बी इस्यूअर रेटिङ प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ । कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक हिमालयन क्यापिटल लिमिटेड रहेको छ । सर्वसाधारण लगानीकर्ताहरुले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट र मेरो सेयरको सि आस्बामार्फत आवेदन दिन सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्