काठमाडौं । काठमाडौंको गोंगबुस्थित एक घरमा प्रहरीले छापा मार्दै ठूलो मात्रामा नगद बरामद गरेको छ। अवैध रुपमा लुकाइएको आशंकामा गरिएको उक्त अपरेसनमा करिब ४ करोड रुपैयाँ फेला परेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार हाल रकम गन्ने कार्य जारी रहेको र अन्तिम विवरण अझै प्राप्त नभएको जानकारी दिइएको छ। प्रहरीलाई प्राप्त विशेष सूचनाका आधारमा मंगलबार बिहान छापा मारिएको हो। सो क्रममा विनोद श्रेष्ठ नामका एक व्यक्तिलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। बरामद रकमसँगै सुनसमेत रहेको हुनसक्ने आशंका गरिएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।