काठमाडौं । सीडीएस एण्ड क्लियरिङ लिमिटेड (सिडिएससी) ले आईपीओमा आएका कम्पनीको सेयर अभौतिकिकरण गर्दा प्रदान गरिने इन्टरनेशनल सेक्युरिटी आइडेन्टिफिकेशन नम्बर (आईजीन) सम्बन्धी कार्यविधि बनाउन सफल भएको छ । लामो समयको रस्साकस्सीपछि सीडीएसीले १५ वर्षपछि उक्त कार्यविधि बनाउन सफल भएको हो।
केन्द्रिय निक्षेप सेवा नियमावली २०६७ ले कानून बनाएर केन्द्रिय निक्षेप सेवा प्रदान गर्नुपर्ने व्यवस्था गरेपनि हालसम्म सोसम्बन्धी कार्यविधि बन्न सकेको थिएन । विगत १५ वर्ष यता आईपीओमा आएका कम्पनीलाई अभौतिकिकरण गर्दा प्रदान गरिने आईजीन र लकइन अबधि सकिएपछि उक्त आईजीन मिसाउने सम्बन्धमा कर्मचारीको तजवीजी अधिकार चल्दै आएकोमा सीडीएससीको कार्यकारी प्रमुखमा प्रविन पन्दाक नियुक्त भएसँगै उनले त्यसलाई कानून बनाएर व्यवस्थित गर्न पहल गरेकी थिईन । तर, सीडीएससी बोर्डकै कारण उक्त कार्य सफल हुन सकेको थिएन ।
उक्त विषयमा धेरै नै विवाद उत्पन्न भएपछि नियामक निकाय नेपाल धितोपत्र बोर्ड र अर्थ मन्त्रालयको हस्तक्षेपछि सीडीएससीको आइतबार बसेको बोर्ड बैंठकले ‘धितोपत्र अभौतिकिकरण कार्यसंचालन निर्देशिका–२०८२’ लाई पास गर्दै स्वीकृतिका लागि धितोपत्र बोर्ड पठाएको हो । सीडीएससी बोर्डले कानून बनाउन रोकेपछि अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नै यो विषयमा चासो राख्दै तत्काल कानून बनाउन निर्देशन दिएका थिए । बोर्डबाट उक्त निर्देशिका स्वीकृति भएर आएसँगै अबका दिनमा कुनैपनि कम्पनीको आईपीओ आएमा प्रबन्ध पत्र र नियमावलीमा भएको व्यवस्थाअनुसार संस्थापक र सर्वसाधारण सेयरका लागि दुई फरक–फरक आईजीन प्रदान गरिने छ ।
यसअघि जलविद्युत क्षेत्रका कम्पनीलाई प्रबन्ध पत्र र नियमावलीमा भएको व्यवस्थाविपरित एउटै आईजीन दिईदै आएको थियो भने लगानी तथा रियल सेक्टरका कम्पनीलाई कर्मचारीको तजबिजीमा बार्गेनिङ गर्दै कसैलाई एउटा र कुनै कम्पनीलाई दुईवटा आईजीन दिईँदै आएको थियो । तर, अबका दिनमा प्रबन्ध पत्र र नियमावलीमा भएको व्यवस्थाअनुरुप संस्थापक र आइपीओमार्फत सेयर किन्नेका लागि फरक–फरक आईजीन प्रदान गरिनेछ ।
फरक आईजीनले दोस्रो बजारमा हुने म्यानुपुलेसन रोकिने
सीडीएसीको उक्त व्यवस्था अनुसार सेयरको दोस्रो बजारमा हुने म्यानुपुलेसनसमेत रोकिने भएको छ । एउटै आईजीन तथा एउटै नेप्से कोडका कारण संस्थापक लगानीकर्ताले बढ्दो बजारमा लकइन भएका सेयरसमेत गैरकानूनीरुपमा बिक्री गर्दै आएका थिए । तर फरक–फरक आईजीन तथा कोड भएपछि अबका दिनमा कुनैपनि सूचीकृत कम्पनीका संस्थापकहरुले लकइन नखुलिकन संस्थापक सेयरलाई दोस्रो बजारमा बिक्री गर्न सक्ने छैनन् ।
‘यसअघि बढ्दो बजारलाई अवसरको रुपमा लिँदै कतिपय संस्थापकहरुले सेयर रजिस्टारसँगको मिलेमतोमा लकइन नखुल्दै बिक्री गर्दै आएका थिए,’ एक लगानीकर्ताले भने, ‘अब सर्वसाधारण र संस्थापकका लागि फरक फरक आईजीन तथा कोड प्रदान गरिने भएपछि त्यस्ता कम्पनीले आफ्नो लकइन अवधि सकिएपछि प्रबन्ध पत्र र नियमावलीबाटै एउटै सेयर बनाएर ल्याएपछि मात्रै सर्वसाधारण समूहमा सेयर मिसिने भएकाले लकइन अवधि नसकिइकन सेयर बिक्री गर्न सक्ने छैनन् ।’ जसका कारण दोस्रो बजारमा लगानीकर्ताहरु संस्थापकहरुबाट ठगिनबाट जोगिने समेत ती लगानीकर्ताको भनाई छ । साथै नेप्से तथा सीडीएससीले यसअघि आईजीन प्रदान गर्ने विषयलाई बार्गेनिङ गर्दै कमाईखाने भाँडोको रुपमा विकास गर्दै आएकोमा उक्त निर्देशिका कार्यान्वनमा आएसँगै उक्त कार्य बन्द हुनेछ ।
पुराना कम्पनीका हकमा प्रबन्ध पत्र र नियमावलीमा परिवर्तन गर्नुपर्ने
यसैगरी यसअघि आईपीओ आएर एउटै आईजीन र नेप्से कोड पाएका कम्पनीले पनि उक्त निर्देशिका लागू भएपछि आफ्नो कम्पनीको प्रबन्ध पत्र र नियमावलीमा संशोधन गरेर एकै प्रकृतिका सेयरमा परिणत गर्नुपर्ने छ । यसअघि कम्पनीको प्रबन्ध पत्र र नियमावलीमा संस्थापक र सर्वसाधारण सेयर उल्लेख गरेपनि जलविद्युत तथा रियल सेक्टरका कतिपय कम्पनीहरुले एउटै आईजीन र नेप्से कोड लिएका थिए । तर, अबका दिनमा त्यस्ता कम्पनीले एउटै आईजीनमा रहन चाहेमा आफ्नो कम्पनीको प्रबन्ध पत्र र नियमावलीमा एउटै क्लष्टरमा सेयरमा परिणत गरी अध्यावधिक गराउनुपर्ने सीडीएससीले जानकारी दिएको छ ।
‘यसअघि एउटै आईजीनमा भएका तर लकइन अवधि नसकिएका कम्पनीले सीडीएससीबाट एउटै आइजीन लिएअनुरुप मिल्ने गरी आफ्नो सेयर संरचनामा परिवर्तन गर्नुपर्ने हुन्छ,’ सीडीएससीका एक बोर्ड सदस्यले भने, ‘पुराना कम्पनीका हकमा त्यसरी कम्पनीको प्रबन्ध पत्र र नियमालीमा परिवर्तन गरेर आएसँगै एउटै आईजीनमा राखिदिने व्यवस्था गरिएको छ भने अब नयाँ सूचीकृत हुने कम्पनीको हकमा भने लकइन अबधि नसकिएसम्म दुई फरक फरक आईजीनमा रहनेछन् ।’ सीडीएससीले आईजीनसम्बन्धी गरेको उक्त नयाँ व्यवस्थाले अबमा दिनमा सेयरको दोस्रो बजारमा हुने गैरकानूनी क्रियाकलापसमेत बन्द हुने ती सदस्यले जानकारी दिए ।