काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) र सीडीएस एण्ड क्लियरिङ हाउस(सीडीएस)को मिलेमतोमा जलविद्युतलगायत कतिपय कम्पनीलाई एउटैमात्र इन्टरनेशनल सेक्युरिटी आइडेन्टिफिकेशन नम्बर (आईजीन) दिँदा सर्वासाधारण लगानीकर्ता ठगिने क्रम बढेको छ । कुनै पनि सूचीकृत कम्पनीको सेयर अभैतिकिकरण गर्दा सूचीकृत कम्पनीको प्रबन्ध पत्र तथा नियमावलीअनुसार संस्थापक र सर्वसाधारण समूहलाई दुई फरक–फरक आईजीन नम्बर दिनुपर्ने भएपनि नेप्से र सीडीएसीका कर्मचारीको मिलेमतोमा सम्बद्ध कम्पनीसँग बार्गेनिङ गर्दै तजविजी रुपमा एक वा दुई आईजीन नम्बर दिन थालेपछि दोस्रो बजारमा लगानीकर्ता ठगिन पुगेका हुन्
कुनै पनि कम्पनी सूचीकृत हुँदा दोस्रो बजारमा लगानीकर्ताले लो–क्यापको नाममा सेयर मूल्य बढाइरहेका हुन्छन् । तर, एउटै मात्र आईजीन हुँदा संस्थापक सेयरधनीले तीन वर्षे लकइनमा रहेका सेयर समेत बिक्री गर्ने गरेको पाइएको छ । पछिल्लो एकल आईजीन भएकै कारण लकइन समयावधिमा संस्थापक सेयरधनीले दोस्रो बजारमा सेयर बिक्री गरेपछि नेपाल धितोपत्र बोर्डले छानविन प्रक्रिया अघि बढाएको छ ।
केही समय अघि सुपरमाई हाईड्रोपावरका संस्थापक लगानीकर्ताले लकइनमै भएको सेयर बिक्री गरेका थिए भने तीन वर्ष समयावधि नपुगि सेयर बिक्री गर्नका लागि आँखुखोला जलविद्युत आयोजनाका संस्थापकहरुले विभिन्न १० वटा मितिमा लकइन राखेका थिए । यस्तै सिंगल आईजीनको फाइदा उठाउँदै गैरकानूनी रुपमा धेरैजसो जलविद्युत कम्पनीका संस्थापक सेयरधनीले लकइन समयावधिभन्दा अगाडि सेयर बिक्री गरेको तथा सेयर रजिष्टारसँगको मिलेमतोमा तीन वर्षभन्दा अगावै लकइन समय राखेर बिक्री गरेको पाइएपछि बोर्डले छानविन प्रक्रियालाई दू्रत गतिमा अघि बढाएको हो ।
हाल बोर्डले सुपरमाईलगायत कम्पनीका लकइनमा रहेका सेयरको के आधारमा दोस्रो बजारमा बिक्री भइरहेको छ र किन लकइन अवधिभन्दा अघि नै कारोबार भएको हो सो विषयमा नेप्से र सीडीएसीसँग विस्तृत विवरण माग गरेको जानकारी दिएको छ । ‘प्रारम्भिकरुपमा अनुसन्धान गर्दा यसअघि सीडीएससीको आईजीन कमिटिमा नेप्सेबाटै प्रतिनिधित्व गर्ने व्यक्ति वस्ने र सीडीएसीमा पनि लामो समयदेखि सो विभागमा एउटै व्यक्ति बसेर मिलेमतोमा कसैलाई एउटा कसैलाई दुईओटा आईजीन दिएको भेटिन आएको छ,’ बोर्ड स्रोतले भन्यो, ‘दुई संस्थाका कर्मचारीको मिलेमतोमा सिंगल आईजीन र कोड दिएर बजारलाई म्यानुपुलेसन गरेको देखिएकाले थप अनुसन्धान गरी कारवाहीको दायरामा ल्याउने छौं ।’ अनुसन्धानको क्रममा सीडीएसीमा एउटै कर्मचारी एउटै विभागमा वर्षौसम्म बसिरहँदा उनीहरुले बजारका विभिन्न व्यक्तिसँगको मिलेमतोमा आर्थिक लाभ लिएर काम गरेको समेत भेटिन आएको उक्त स्रोतले जानकारी दिएको छ ।
विशेषगरी नेप्से र सीडीएसका कर्मचारीले आईजीनलाई कमाईखाने भाडो बनाउँदै आएकाले अहिले समस्या उत्पन्न भएको सम्बद्ध लगानीकर्ताहरु बताउँछन् । ‘कुनै कम्पनीले आईपीओ जारी गर्दा र त्यसरी आईपीओ जारी गरेर सेयर सूचीकृत गर्दा स्पष्ट रुपमा संस्थापक र सर्वसाधारण सेयर गरी दुई भागमा विभाजन गरेका हुन्छन्,’ ती लगानीकर्ताले भने, ‘सोहीअनुरुप दुईओटा आईजीन दिनुपर्नेमा सीडीएससीले भने कसैलाई एउटा कसैलाई दुईओटा दिँदै कमाईखाने भाडो बनाउँदै आएका छन् जुन एकदमै गलत हो ।’ नेप्सेकै कर्मचारी सीडीएसीको कमिटिमा बसेर आईजीनका लागि सिफारिस गर्ने र नेप्सेमा आएर त्यसैलाई सदर गर्दै कारोबारका लागि कोड नम्बर दिएको भेटिएपछि सो विषयमा अख्तियारले समेत छानविन प्रक्रिया अघि बढाएको छ ।
आईपीओ जारी गर्दा संस्थापक र सर्वसाधारण गरी दुई भागमा सेयर जारी गर्ने तथा रियल सेक्टर र जलविद्युत कम्पनीका संस्थापकहरुको सेयर ३ वर्षसम्म लकइन हुने भएपनि नेप्से र सीडिएससीले एउटै कोड र आईजिन दिएर लगानीकर्तामा भ्रम सिर्जना गरी कमाईखाने भाँडोको रुपमा विकास गरेको भन्दै अख्तियारमा उजुरी परेको थियो । सो सम्बद्धमा अख्तियारले धितोपत्र बोर्डसँग आवश्यक विवरणसमेत माग गरेर छानविन प्रक्रिया अघि बढाएको हो । पछिल्लो समय नेप्सेका सीईओमा चुडामणि चापागाईँ नियुक्त भएर आएसँगै उनले एउटा मात्रै आईजीन र कोड नम्बर हुनुपर्ने अडान राख्दै आएको नेप्से स्रोतले नै जानकारी दिएको छ । नेप्सेका सीईओ चापागाईँले सानिमा लाइफ इन्स्योरेन्सबाट जागिर छाडेपछि जलविद्युतको संस्थापक सेयर बिक्रीका लागि अफिस नै खोलेर बसेको समेत अख्तियारमा परेको उजुरीमा उल्लेख छ । उनी आफै जलविद्युतको प्रमोटर सेयर बिक्रीका लागि एजेन्टका रुपमा काम गर्दै आएको र अहिले दुईओटा कोड र आईजीन दिँदा समस्या पर्ने भएपछि सिंगल आईजीनका लागि लविङ गर्दै आएको समेत उक्त उजुरीमा उल्लेख गरिएको छ । सो विषयमा विवाद आएपछि नेपाल धितोपत्र बोर्डले असल अभ्यास र कानूनअनुरुप अघि बढ्न भन्दै सीडीएससीलाई निर्देशन समेत दिएको छ । हाल सोहीअनुरुप मापदण्ड निर्माण प्रक्रियासमेत अघि बढेको सम्बद्ध स्रोतले जानकारी दिएको छ ।