Logo

आईजीनमा कमाईधन्दा बन्द हुने भएपछि नेप्सेको टीम नै पुग्यो धितोपत्र बोर्ड गुहार्न, जसरी हुन्छ कार्यविधि रोक्न माग

आईजीनमा कमाईधन्दा बन्द हुने भएपछि नेप्सेको टीम नै पुग्यो धितोपत्र बोर्ड गुहार्न, जसरी हुन्छ कार्यविधि रोक्न माग

चुडामणिका कारण इमर्जिङको सेयर कारोबारमा समस्या



काठमाडौं । आईपीओ आएपछि सेयर अभौतिकिकरण गर्दा प्रदान गरिने इन्टरनेशनल सेक्युरिटी आइडेन्टिफिकेशन नम्बर (आईजीन) तथा नेप्सेले प्रदान गर्ने कोडका नाममा हुने कमाउधन्दा बन्द हुने भएपछि नेपाल स्टक एक्सचेञ्ज (नेप्स)का कर्मचारीहरु त्यसलाई रोक्न दौडधुपमा लागेका छन् । धितोपत्र बोर्डको निर्देशनअनुसार सीडीएस एण्ड क्लियरिङले सेयर अभौतिकिकरण गर्दा प्रदान गर्ने आईजीन सम्बन्धमा कार्यविधि बनाउन लागेपछि सीडीएससीकै अध्यक्ष रहेका नेप्सेका सीईओ चुडामणि चापागाईँदेखि निरञ्जन फुयाँललगायत उच्च तहका कर्मचारी धितोपत्र बोर्डलाई गुहार्न पुगेका हुन् ।

कानूनतः सीडीएससीले आईजीनसम्बन्धी कार्यविधि तयार गरी त्यसलाई आफ्नै संचालक समितिबाट पारित गरेपछि धितोपत्र बोर्डबाट स्वीकृत गराउनुपर्छ । तर, त्यसरी नियम बन्दा पारदर्शी हुने र आईपीओ आएपछि जारी गरिने आईजीन र त्यसलाई नेप्सेबाट दिइने कोडको नाममा हुने कमाउधन्दा बन्द हुने भएपछि सीडीएसीकै अध्यक्ष रहेका नेप्सेका सीईओ चापागाईँ आफ्नाे दलबलसहित धितोपत्र बोर्डमा पुगेका हुन् । सीडीएसीको नियमावलीले आईपीओ आएपछि सेयर अभौतिकिकरण गर्दा जारी गरिने आईजीन प्रदान गर्दा कार्यविधि बनाउनुपर्ने भन्ने विषय स्पष्ट रुपमा उल्लेख गरेको छ । यसैगरी नियामक निकाय नेपाल धितोपत्र बोर्डले पनि अबका दिनमा असल अभ्यास र कानूनअनुरुप मात्रै आईजीन जारी गर्नुपर्ने भन्दै निर्देशन दिएको छ । तर, बोर्डको निर्देशनअनुसार आईजीनसम्बन्धी कार्यविधि बनाएर अघि बढ्दा सूचीकृत कम्पनीसँग गरिने बार्गेनिङ बन्द हुने भएपछि सीडीएससीका संचालक समिति सहित नेप्सेका कर्मचारीहरु त्यसलाई रोक्न दौडधुपमा लागेका हुन् ।

अहिले कानून नबन्दा आफुखुशी कुनै कम्पनीलाई एउटा र कुनैलाई दुईवटा आईजीन दिँदै त्यसमा आर्थिक चलखेल गर्दै आएका सम्बद्ध सरोकारवालाहरु बताउँछन् । तर, सो सम्बन्धमा कार्यविधि बनेर आएपछि सूचीकृतलाई आईजीन र नेप्सेले कोड दिँदा बार्गेनिङ गर्ने ठाउँ नहुने भएपछि त्यसलाई रोक्न सीडीएससीका अध्यक्षदेखि नेप्सेका त्यसमा संलग्न कर्मचारीहरु दौडधुपमा लागेका हुन् । सीडीएससी स्रोतका अनुसार विगत ४ महिना अघिदेखि आईजीनसम्बन्धी कार्यविधिको मस्यौदा तयार गरी संचालक समिति बैठकमा राख्न प्रयास गर्दै आएको छ । सीडीएससीका अध्यक्षसमेत रहेका नेप्सेका सीईओ चुडामणि चापागाईँले त्यसलाई अहिले कार्यान्यनमा ल्याउन नसकिने भन्दै बोर्ड बैंठकमा उक्त एजेन्डा नल्याउन दबाब दिँदै आएको सम्बद्ध स्रोतले जानकारी दिएको छ । हाल उक्त कार्यविधि नबनेकै कारण पछिल्लो समय आईपीओ आएका कम्पनीका संस्थापक सेयर अभौतिकिकरण हुन सकेका छैनन् भने यसअघि दुई थरी आईजीन दिएर लकइन खुलेका कम्पनीहरुको समेत दोस्रो बजारमा सेयर खरिदबिक्री गर्ने वातावरण बन्द भएको छ ।

तर, पछिल्लो समय धितोपत्र बोर्डले निर्माण चरणमा रहेको आईजीनको कार्यविधिको सम्बन्धमा ७ दिनभित्र जवाफ पेश गर्न निर्देशन दिएपछि सीडीएससीका अध्यक्ष चापागाई सीडीएससीको संचालक समिति र व्यवस्थापनलाई बाईपास गर्दै नेप्सेका कर्मचारी लिएर धितोपत्र बोर्ड पुगेका थिए । उक्त भेटमा अध्यक्ष चापागाईँले नेप्सेका ११ औं तहका कर्मचारी निरञ्ज फुयाँल समिति प्रवक्ता मुराहरी पराजुलीलाई समेत लिएर बोर्ड पुगेको धितोपत्र बोर्ड स्रोतले जानकारी दिएको छ । ‘आईजीनको विषयमा नेप्सेबाट आउनुभएको थियो भने उक्त भेटमा सीडीएससीका अध्यक्ष तथा नेप्सेका सीईओ चापागाई र उहाँसँग आउनुभएका अन्य कर्मचारीले आफुहरुले सीडीएसीबाट कार्यविधि बनाउन नसक्ने र त्यसमा बोर्डले नै हस्तक्षेप गर्नुपर्ने विषय राखेका थिए,’ बोर्ड स्रोतले भने, ‘साथै उहाँहरुले अहिले आईजीनसम्बन्धी कार्यविधि बनाउन नसकिने भन्दै तत्कालका लागि पुरानै व्यवस्थाअनुरुप आफुखुसी आईजीन राख्न पाउनुपर्ने समेत माग राख्नुभएको थियो ।’

यसैगरी आईजीन सम्बन्धी कार्यविधि सीडीएसको संचालक समितिले तयार गरेर धितोपत्रमा बोर्डमा पठाउनुपर्ने र त्यसपछि मात्रै बोर्डले स्वीकृति दिएर पठाउने बोर्ड स्राेतले जानकारी दियाे । ‘आईजीनको विषय लामोसमयदेखि रुमलिएर बसेको बुझिएको छ तर, सो सम्बन्धमा बोर्डमा सीडीएसीबाट कार्यविधि बनेर आएको छैन,’ स्राेतले भन्याे , ‘हामीले असल अभ्यास र कानूनअनुसार अघि बढ्न निर्देशन दिएका थियौं तर सीडीएसीमा के कारणले उक्त कार्यविधि बनाउन रोकिएको हो सो सम्बन्धमा जानकारी लिनेछौं ।’ साथै हाल सिंगल आईजीनका कारण लकइन अवधिमै संस्थापकहरुले सेयर बिक्री गरेको जानकारी आएकाले सो सम्बन्धमा समेत बोर्डले अनुसन्धान गरिरहेको उनले जानकारी दिए ।

आईजीनसम्बन्धी कार्यविधि नबन्दा इमर्जिङ नेपालको सेयर बन्धक

सीडीएसी संचालक समितिले आईजीनसम्बन्धी कार्यविधि बनाउन नमान्दा तीन वर्षे लकइन खुला भएर बसेको इमर्जिन नेपालको सेयर दोस्रो बजारमा कारोबारमा आउन सकेको छैन । तत्कालीन समयमा नेपाल धितोपत्र बोर्डले असल अभ्यास र कानुनअनुसार सो कम्पनीको सेयर कन्र्भजन गर्न निर्देशन दिएको थियो । तर, सो सम्बन्धमा कानुन नै नभएकाले सीडीएससीले आईजीनसम्बन्धी कार्यविधि बनाएर इमर्जिङ नेपालको सेयरलाई मिसाउन प्रक्रिया अघि बढाएको थियो । तर, सो सम्बन्धमा सीडीएससीका अध्यक्ष एवं नेप्सेका सीईओ चुडामणि चापागाईले कार्यविधि बनाउने प्रक्रियालाई थाती राखेपछि इमर्जिङ नेपालको सेयर मिसाउने प्रक्रिया नै अन्यौलमा परेको हो ।

बोर्डको निर्देशनअनुसार हाललाई कानून (कार्यविधि) नभएकाले सीडीएसीले सोसम्बन्धी कानून बनाएर मात्रै मिसाउन सक्ने बताउँदै आएको छ । केही समयअघि धितोपत्र बोर्डले इमर्जिङको सेयर कानूनी व्यवस्थाअनुसार मिसाउन निर्देशन दिएसँगै सीडीसीले लिखितरुपमै कानून निर्माण प्रक्रिया अघि बढेको र कानून बनेपछि मात्रै मिसाउन सकिने भन्दै बोर्डलाई जानकारी गराएको बोर्ड स्रोतले नै जानकारी दिएको छ । तर, त्यसपश्चात सीडीएससी संचालक समितिले कार्यविधि निर्माण प्रक्रियालाई अघि बढाउन नमानेपछि लकिङ खुलेपनि इमर्जिङ नेपालको आईजीन मर्ज गरेर दोस्रो बजारमा सेयर कारोबार ल्याउने प्रक्रिया अन्यौलमै रहेको हो ।

प्रतिक्रिया दिनुहोस्