Logo

कर्मचारी सञ्चय कोषको नयाँ व्याजदर लागू, सापटीमा समेत संशोधन

कर्मचारी सञ्चय कोषको नयाँ व्याजदर लागू, सापटीमा समेत संशोधन



काठमाडौं । कर्मचारी सञ्चय कोषले साउन १ गते (भोली)देखि लागू हुने गरी सञ्चयकर्ता तथा सापटी योजनामा समावेश लाभग्राहीहरूका लागि नयाँ व्याजदर सार्वजनिक गरेको छ। कोष सञ्चालक समितिको निर्णय अनुसार अबदेखि कोषले सञ्चयकर्तालाई बार्षिक ५ प्रतिशतको दरले व्याज प्रदान गर्ने भएको छ।

कोषले सञ्चयकर्ताको सञ्चित कोष रकम र निवृत्तभरण कोष रकममा प्रदान गर्ने बार्षिक व्याजदर ५.०० प्रतिशत निर्धारण गरेको हो। नयाँ व्याजदर यही २०८२ साल साउन १ गतेदेखि लागू हुनेछ।

सापटी योजनामा समेत व्याजदरमा परिवर्तन गरिएको कोषले जानकारी दिएको छ। कोषबाट सञ्चयकर्तालाई दिइने विशेष सापटीमा अब ६.२५ प्रतिशत व्याज लाग्नेछ। त्यसैगरी, पर सापटी, शैक्षिक सापटी र घर मर्मत सापटीमा ७.२५ प्रतिशत व्याजदर कायम गरिएको छ। यस्तै, जग्गा खरिद सापटी तथा सरल सापटीमा ७.५० प्रतिशत व्याजदर लागू हुनेछ।

सञ्चयकर्ताहरूले वित्तीय आधारमा लिने विशेष सापटी बाहेकका सापटीहरूमा यदि समयमै किस्ता तिर्ने गरेमा ०.२५ प्रतिशत छुट पाउने व्यवस्था गरिएको छ।

कोषले सञ्चयकर्तालाई घर निर्माण तथा जग्गा खरिदका लागि अधिकतम एक करोड रुपैयाँसम्म सापटी दिँदै आएको छ। त्यस्तै, घर मर्मतका लागि ३० लाख रुपैयाँसम्म सापटी प्रदान गरिन्छ। शैक्षिक सापटीको हकमा सञ्चयकर्ता स्वयं, उनका पति–पत्नी वा छोरा–छोरीको उच्च शिक्षाका लागि ४० लाख रुपैयाँसम्म सापटी उपलब्ध गराउने व्यवस्था छ। सेवा अवधिमा विभिन्न कारणले हुने आकस्मिक आवश्यकताका लागि कोषले सरल सापटी अन्तर्गत ५० लाख रुपैयाँसम्म सापटी प्रदान गर्दै आएको छ।

कोषले सञ्चयकर्ताको खातामा रहेको जम्मा रकमको सुरक्षणको आधारमा ९० प्रतिशतसम्म रकम विशेष सापटीका रूपमा उपलब्ध गराउने व्यवस्था पनि गरेको छ।

कोषका अनुसार हालसम्मका तथ्यांक अनुसार आर्थिक वर्षको एक वर्ष अवधिमा १ लाख ५८ हजार ३४४ सञ्चयकर्ताले विशेष सापटी लिएका छन्। त्यसैगरी, १ लाख १४ हजार ४५६ जनाले कोष मुक्तानी प्राप्त गरेका छन्। २ हजार ९२६ सञ्चयकर्ताले धितोमा आधारित सापटी लिएका छन् भने २५ हजार २९८ जनाले सामाजिक सुरक्षा सुविधा प्राप्त गरेका छन्। निवृत्तभरण भुक्तानी प्राप्त गर्ने सञ्चयकर्ताको संख्या २१ हजार ७९१ रहेको कोषले जनाएको छ।

हाल कोषमा निजामती कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, सार्वजनिक संस्थान, संगठित क्षेत्र, सामुदायिक तथा संस्थागत विद्यालयतर्फ गरी करिब ५ लाख ८० हजार राज्यसेवक र करिब ९९ हजार ३९१ जना योगदानकर्ता गरी कुल ६ लाख ७९ हजार २९१ सञ्चयकर्ता तथा योगदानकर्ताहरू आवद्ध रहेका छन्।

कोषले देशभर काठमाडौं उपत्यका सहित सातै प्रदेशमा रहेका शाखा कार्यालय तथा सेना केन्द्रहरू मार्फत सञ्चयकर्तालाई विशेष सापटी, घर सापटी, शैक्षिक सापटी, सरल सापटी, घर मर्मत सापटी र जग्गा खरिद सापटी सेवा दिँदै आएको छ।

प्रतिक्रिया दिनुहोस्
Skip This
Skip This