काठमाडौं । नेपालमा क्यासिनो व्यवसायमा थप कडाई गरिने भएको छ । सरकारले जारी गरेको नयाँ ‘क्यासिनो नियमावली, २०८२’ ले यो क्षेत्रलाई थप अनुशासित र नियमनकारी बनाउने देखिएको हो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले राजपत्रमा प्रकाशित गरेको नियमावलीअनुसार क्यासिनो खोल्न चाहनेले अब धेरै कानुनी, वित्तीय र प्रशासनिक मापदण्डहरू पार गर्नुपर्नेछ ।
नयाँ व्यवस्था अनुसार ठूलो क्यासिनो सञ्चालन गर्न कम्तीमा ३० करोड र सानो क्यासिनोका लागि २० करोड रुपैयाँ चुक्ता पूँजी अनिवार्य बनाइएको छ । हाल सञ्चालनमा रहेका क्यासिनोहरूले पनि २०८५ सालको अन्त्यसम्ममा यति पूँजी पुर्याउनै पर्ने नियमावलीमा उल्लेख छ ।
अबदेखि एउटा होटल वा रिसोर्ट परिसरभित्र एक मात्र क्यासिनो सञ्चालन गर्न पाइनेछ । अन्तरराष्ट्रिय सीमाबाट ५ किलोमिटरको दूरीभित्र मात्र क्यासिनो खोल्न पाइने, कम्तीमा २० जना तालिमप्राप्त सुरक्षाकर्मी अनिवार्य गर्ने, र क्यासिनोभित्र जडान गरिएका सीसी टिभी फुटेज ६ महिनासम्म सुरक्षित राख्नुपर्ने प्रावधान नियमावलीमा गरिएको छ ।
यस्तै सुरक्षा र पारदर्शिता बढाउने उद्देश्यले ग्राहक पहिचान प्रणाली (केवाईसी), मनी लाउन्डरिङ नियन्त्रणसम्बन्धी व्यवस्था, नक्कली नोट पहिचान गर्ने मेशिन, र कम्तीमा पाँचवटा आफ्नै चारपाङ्ग्रे सवारीसाधनको व्यवस्था अनिवार्य गरिएको छ ।
अबदेखि विदेशी पर्यटकलाई लक्षित गर्दै चारतारे वा सोभन्दा माथिल्लो होटलमा मात्र क्यासिनो सञ्चालन गर्न पाइनेछ, त्यो पनि होटलको लिखित सहमतिसहित । इजाजतका लागि ठूलो क्यासिनोले १५ लाख र सानो क्यासिनोले १० लाख रुपैयाँ निवेदन दस्तुर तिर्नुपर्नेछ, जबकि इजाजत दस्तुर क्रमशः ३ करोड र १ करोड ५० लाख रुपैयाँ तोकिएको छ । नवीकरणको हकमा ठूलो क्यासिनोले १ करोड ५० लाख र सानोले ७५ लाख रुपैयाँ तिर्नुपर्नेछ ।