काठमाडौं । बुटवल पावरको विदेशी लगानीकर्ता नर्वेजियन कम्पनीले आफ्नो सेयर कारोबार मूल्यमा बिक्री गर्ने भएको छ । यसअघि ब्लक सेलअन्तरगत प्रतिकित्ता ४५० रुपैयाँमा बिक्री गर्न डिल गरेकोमा त्यसमा समस्या सिर्जना भएपछि नर्वेजियन कम्पनी आइकेएन नेपालसँग रहेको ५ लाख ३८ हजार ६८९ कित्तासहित कुल ११ लाख कित्ता सेयर दोस्रो बजारमा बिक्रीमा ल्याउन लागेको हो ।
यसअघि नर्वेजियन कम्पनीले विशाल ग्रुपलाई ब्लक सेलअन्तरगत आफ्नो सम्पूर्ण सेयर प्रतिकित्ता ४५० रुपैयाँमा बिक्री गर्न सहमति गर्दै उद्योग विभागबाट स्वीकृति लिएको थियो । तर, उद्योग विभागले उपलब्ध गराएको पत्रमा समेत सम्बन्धित दिनको कारोबार मूल्यलाई आधार मान्नुपर्ने उल्लेख गरेको र दोस्रो बजारमा सहज रुपमा प्रतिकित्ता ९ सय रुपैयाँको हाराहारीमा बिक्री भइरहेको सेयर घटाएर बिक्री गर्दा कर छली हुने बहस सुरु भएपछि नर्वेजियन कम्पनीले आफुसँग भएको सेयर दोस्रो बजारमा बिक्री गर्न लागेको उक्त स्रोतले जानकारी दिएको छ । ‘अहिले नर्वेजियक कम्पनी र उनीहरुसँग जोडिएको ग्रुपसँग विभिन्न नाममा गरी करिव ११ लाख कित्ता सेयर रहेको छ,’ उक्त स्रोतले भन्यो, ‘ब्लक सेलअन्तरगत यस अघि सहमति भएको मूल्यमा विक्री गर्न समस्या पैदा भएपछि आगामी हप्ता दोस्रो बजारमा चल्तीको मूल्यमा बिक्री गर्न लागिएको हो ।’ यसबाट बजारमा १ अर्ब १० करोड बराबरको सप्लाई आउने देखिन्छ ।
आपसी सहमतिमा सेयर मूल्य घटाएर कर छली गर्न लागेपछि नेपाल धितोपत्र बोर्डले सेयर कारोबारमै रोक लगाएको थियो । तर, त्यसरी रोक लगाएपछि अहिले दोस्रो बजारमा उक्त कम्पनीको सेयर मूल्य उच्च रुपमा बढेकाले कम्पनीले बढ्दो मूल्यमै बिक्री गरेर बाहिरिन लागेको हो । जलविद्युत तथा रियल सेक्टर कम्पनीको ३ वर्षे लकिङ सकिएपछि उक्त सेयर दोस्रो बजारमा सर्वसाधारण सेयर सरह कारोबार हुन्छ ।
धितोपत्र ऐन अनुसार पनि सूचीकृत कम्पनीको सेयर दोस्रो बजारमै काराबोर हुनुपर्छ । वुटवल पावरमा रहेको नर्वेजियन कम्पनीको १ दशमलव ५८ प्रतिशत अर्थात ५ लाख ३८ हजार ६८९ कित्ता सेयर ब्लक सेलको नाममा प्रतिकित्ता ४५० रुपैयाँमा बिक्री गर्न लागेपछि प्रश्न खडा भएको थियो । तर, बुटवल पावरबाट बाहिरिन लागेको नर्वेजियन कम्पीले बढ्दो मूल्यमा आफ्नो ५ लाख ३८ हजार कित्ता सहित उनीहरुको समूहसँग रहेको समेत गरी कुल ११ लाख कित्ता सेयर दोस्रो बजारमा बिक्रीमा ल्याउन लागेको हो ।