काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आर्थिक वर्ष २०८१/८२ मा सातवटै प्रदेशमा वित्तीय साक्षरतासम्बन्धी विभिन्न कार्यक्रमहरु सफलतापूर्वक सम्पन्न गरेको छ। बैंकले देशभर रहेका आफ्ना १ सय ४८ शाखामार्फत आम सर्वसाधारणमा वित्तीय सचेतना फैलाउने उद्देश्यले यो अभियान सञ्चालन गरेको हो।
कोशी प्रदेशका १९, मधेश प्रदेशका १६, बाग्मती प्रदेशका ४७, गण्डकी प्रदेशका १४, लुम्बिनी प्रदेशका ३२, कर्णाली प्रदेशका ११ र सुदूरपश्चिम प्रदेशका ९ शाखाहरु मार्फत वित्तीय साक्षरताका कार्यक्रमहरु सञ्चालन गरिएको थियो। ती कार्यक्रमहरुमा महिला, विद्यार्थी, कृषक, मजदुर, वैदेशिक रोजगारीमा जाने तयारी गरिरहेका युवासमेत गरी विभिन्न वर्ग र उमेर समूहका व्यक्तिहरुको सहभागिता रहेको थियो।
बैंकका अनुसार करिब १० हजारभन्दा बढी लक्षित वर्गलाई वित्तीय ज्ञान प्रदान गरिएको छ। कार्यक्रममा वित्तीय साक्षरताको आवश्यकता, डिजिटल बैंकिङको विकाससँगै देखिएका सम्भावित जोखिम तथा साइबर अपराधसम्बन्धी चेतना जगाइएको थियो। साथै, नगद कारोबार, लेनदेन तथा विप्रेषणमा बैंकिङ प्रणाली प्रयोग गर्न सबैलाई आग्रह गरिएको थियो।
सिटिजन्स बैंकले यस किसिमका कार्यक्रमहरुले सर्वसाधारणमा वित्तीय चेतना वृद्धि गर्ने र बैंकिङ प्रणाली मजबुत पार्ने विश्वास लिएको छ।