काठमाडौं । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको नयाँ मौद्रिक नीतिको प्रभावसँगै साउन महिनामा बैंकहरूले निक्षेपको ब्याजदर फेरि घटाएका छन् । जेठ र असार महिनामा स्थिरजस्तै देखिएको ब्याजदर अब घट्ने दिशातर्फ उन्मुख भएको हो ।
राष्ट्र बैंकले नीतिगत दर ५ प्रतिशतबाट घटाएर ४.५ प्रतिशतमा झारेको छ । साथै, स्थायी तरलता सुविधा दर ६.५ प्रतिशतबाट ६ प्रतिशतमा र स्थायी निक्षेप संकलन दर ३ प्रतिशतबाट २.७५ प्रतिशतमा झारेको छ । यसले बैंकहरूलाई ब्याजदर घटाउन दबाब परेको हो ।
बैंकहरूले बुधबार सार्वजनिक गरेको ब्याजदर तालिकाअनुसार असारको तुलनामा साउन महिनामा व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम औसत ब्याजदर ०.२१५ प्रतिशत विन्दुले घटेर ५.६८७ प्रतिशतमा झरेको छ, जुन असारमा ५.९०२ प्रतिशत थियो ।
असारको तुलनामा साउन महिनामा १४ वटा बैंकले ब्याजदर घटाएका छन् भने ४ ले पुरानै दर कायम राखेका छन् । २ बैंकले भने ब्याजदर थोरै बढाएका छन् । हिमालयन बैंकले ब्याजदर ०.५ प्रतिशत विन्दुले बढाएको छ भने स्टान्डर्ड चार्टर्ड बैंकले ०.०१ प्रतिशत विन्दुले वृद्धि गरेको छ ।
बैंकहरूमार्फत पर्याप्त कर्जा प्रवाह हुन नसक्दा राष्ट्र बैंकले प्रणालीबाट झन्डै ७ खर्ब रुपैयाँ तरलता खिचेर राखेको छ । चालु आर्थिक वर्षको अन्त्यसम्म केन्द्रीय बैंकले ६ खर्ब ९२ अर्ब ६५ करोड रुपैयाँभन्दा बढी तरलता निक्षेप संकलन उपकरण र स्थायी निक्षेप सुविधा मार्फत खिचेको जनाएको छ ।
