काठमाडौं । सरकारले ३० व्यावसायिक कम्पनी तथा संस्थालाई महत्वपूर्ण व्यावसायिक व्यक्ति (सीआईपी) सम्मान प्रदान गरेको छ । उद्योग वाािण्ज्य तथा आपूर्ती मन्त्रालयको आयोजना तथा नेपाल उद्योग वाािण्ज्य महासंघको सहकार्यमा बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले सिआइपी सम्मान प्रदान गरेका हुन् । सीआईपी प्राप्त गर्नेहरुमा २१ व्यावसायिक फर्म तथा कम्पनी रहेका छन् भने निजी क्षेत्रका प्रतिनिधिमूलक नौ संस्थाले मानार्थ सीआईपी प्राप्त गरेका छन् ।
व्यवसायीका प्रतिनिधिमूलक संस्थाहरुको तर्फबाट नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकाल, नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवाल, र नेपाल उद्योग परिसंघका निवर्तमान अध्यक्ष राजेश कुमार अग्रवाललाई मानार्थ सीआईपी सम्मान प्रदान गरिएको छ । यी संस्थाहरलाई निर्यात व्यापारका साथै वाणिज्य क्षेत्रमा प्रवद्र्धनात्मक कार्य गरी आर्थिक विकासमा उल्लेख्य योगदान पुर्याएको भनेर सम्मान गरिएको हो ।
यस्तै, व्यवसायीका प्रतिनिधिमूलक महासंघतर्फ नेपाल हस्तकला महासंघ र निर्यात व्यवसायी महासंघका अध्यक्षलाई मानार्थ सीआईपी प्रदान गरिएको छ । यसबाहेक व्यवसायीका प्रतिनिधिमूलक वस्तुगत संघतर्फ नेपाल छुर्र्पी व्यवसायी संघ, झापा, नेपाल गलैंचा उत्पादक तथा निकासीकर्ता संघ, नेपाल तयारी पोशाक उद्योग संघ र नेपाल ऊनी फेल्ट उत्पादक तथा निर्यात संघले मानार्थ सीआईपी सम्मान पाएका छन् । उनीहरुलाई तेश्रो मुलुकतर्फ आर्थिक वर्ष २०७९/८० र २०८०/८१ मा कुल ५ अर्ब वा सोभन्दा बढी निर्यात गरेको आधारमा यो सम्मान प्रदान गरिएको हो ।
यसैगरी तेस्रो मुलुकतर्फ सबैभन्दा बढी वस्तु निकासी गर्ने अग्रस्थानका पाँच वस्तुहर मध्ये प्रत्येकबाट एक–एक जना व्यवसायीलार्य सीआईपी सम्मान पदान गरिएको छ । जस अन्तर्गत ऊनी गलैंचातर्फ थर्ड आई इन्टरनेशनल, तयारी पोशाकतर्फ नेपाल फेशन प्रा।लि, ऊनी फेल्टका सामानतर्फ नेशनल एक्सपोटर्स प्रालि, छुर्पीतर्फ मनोरम हिमालयन हेण्डिक्राफ्ट प्रालि र पश्मिना वस्तुतर्फ ट्राइकोट इण्डष्ट्रिजले सीआईपी सम्मान प्राप्त गरेका छन् ।
यस्तै भारततर्फ निकासी रकमको आधारमा सम्मान पाउनेमा डाबर नेपाल प्रालि, आरती स्ट्रीप्स र रिलायन्स स्पिनिङ मिल्स लिमिटेडलाई र चीनतर्फको निकासी रकमका आधारमा छोमेन ट्रेडर्स, फिन्जो सोनाम इन्टरप्राइजेज र अष्ठमंगल काठमाडौंले सिआइपी सम्मान प्राप्त गरेका छन् । यसैगरी नेपालको मौलिक सीप, कला र संस्कृति झल्किने हस्तकलाका वस्तुको निर्यातबाट सबैभन्दा धेरै रकम भित्र्याउने निर्यातकर्तामा गिफ्ट ल्याण्ड इन्टरप्राइजेज प्रालिले पनि सीआईपी सम्मान पाएको छ ।
यस्तै प्राथमकितामा राखेका निर्यात सम्भावनायुक्त वस्तुमध्ये कृषिजन्य वस्तु सबैभन्दा बढी रकमको निर्यात गर्ने निर्यातकर्तामध्ये नेपाल एभरेष्ट कार्डमम प्रोडक्सन झापा र जडिबुटी क्षेत्रबाट एबी हर्बल ट्रेडर्स एण्ड सप्लायर्स दार्चुलाले यो सम्मान प्राप्त गरेका छन् । निर्यात व्यापारमा कुल रकमको आधारमा सबैभन्दा बढी रकमको निर्यात गर्ने महिला निर्यातकर्तामा जनकपुर रिफाइनरिज काठमाडौं र तेस्रो मुलुकतर्फ गत दुई आर्थिक वर्षमा एक अर्ब वा सोभन्दा बढी निकासी गर्ने उद्योग, संस्था, फर्म वा कम्पनीहरुमध्ये द सांग्रिला कार्पेट एण्ड ह्याण्डिक्राफ्ट, एभरेष्ट फेसन र त्रिवेणी स्पिनिङ मिल्स लिमिटेड र स्टार्टअपतर्फ माइण्डफुल क्राफ्ट प्रालि काठमाडौंले सीआईपी सम्मान प्राप्त गरेका छन् ।
यसैगरी बैंकिङ प्रणालीमार्फत विप्रेषणको कारोबार गरी सबैभन्दा बढी वैदेशिक मुद्रा भित्र्याउने कम्पनीमा आइएमई लिमिटेड र पर्यटन क्षेत्रमा सबैभन्दा बढी विदेशी मुद्रा आर्जन गर्ने होटल उद्योगी तथा व्यवसायीमा एभरेष्ट हस्पिटालिटी होटल लिमिटेडले सीआईपी सम्मान प्राप्त गरेका छन् । सो अवसरमा बोल्दै उद्योग वाणिज्य तथा आपूर्ती मन्त्री दामोदर भण्डारीले देशको समृद्धिको लागि निजी क्षेत्रसंगको सहकार्यलाई थप बलियो बनाइने बताए । उनले सिआइपी सम्म्मानले उद्योगी व्यवसायीहरुको मनोबल उच्च राख्दै निर्यात प्रवद्र्धनमा थप प्रभावकारी भूमिका खेल्ने बताए ।
‘यो सम्मानका लागि सम्मान होइन । हामी थप उदार भएर निजी क्षेत्रलाई सम्मान गर्न चाहन्छौं । निजी क्षेत्रको मनोबल उच्च नभएसम्म आर्थिक विकास र समृद्धि सम्भव छैन् । त्यसैले हामीले देशको समृद्धिको लागि सहकार्य गरर अगाडि बढ्न चाहन्छौं ।’ उनले भने ।
नेपाल सन् २०२६ मा एलडीसी ग्रयाजुयसनमा जाने हुनाले सरकार र निजी क्षेत्र मिलेर आउने दिनको रणनीति बनाउनु पर्ने उनले बताए ।
सो अवसरामा बोल्दै नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले नेपालको निर्यात वार्षिक करिब १० खर्ब पुर्याउन सकिने बताए ।
उनले नेपालको निर्यात सम्भावना हेर्दा वार्षिक करिब १० खर्ब पुर्याउन र कुल गार्हस्थ्य उत्पादनको शुन्य दशमलब २ प्रतिशतमात्रै रहेको विदेशी लगानी केही वर्षमै १० प्रतिशत पुर्याउन सकिने धारणा राखे ।
अध्यक्ष ढकालले नेपाल उद्योग वाणिज्य महासंघ र निजी क्षेत्रले सिथिल अर्थतन्त्रको विस्तार र नेपालमा लगानी प्रवद्र्धनका लागि विभिन्न कार्यक्रम र नीतिगत पैरवी गरिरहेको र यसमा सरकारको भरपुर सहयोग रहेको भन्दै निजी क्षेत्रको विकास र विस्तारमा सरकारले निर्वाह गरिरहेको भूमिका प्रति आभार व्यक्त गरे ।
‘हामीले लगानी सम्वद्ध कानुनहरुमा समस्या रहेको विषय उठायौ । सरकारले कानुनमा संसोधन गर्यो । द्धिपक्षीय लगानी प्रवद्र्धनका लागि सम्झौता आवश्यक भनौ । त्यसको सरकारले खाका तयार पारेको छ । उनले भने, नयाँ चरणको आर्थिक सुधार आवश्यक रहेकोले सुधार आयोगको प्रस्ताव गर्याैं । आयोग बनेर सुझाव सरकारसमक्ष पेश गर्यौ । त्यसलाई सरकारले आत्मसात गरेकोमात्र नभइ बजेट र मौद्रिक नीतिमा केही सुझाव समावेश पनि भएको छ । यी सबै कामका लागि म सरकारलाई आभार व्यक्त गर्दछु ।’
महत्वपूर्ण व्यवसायिक व्यक्ति सिआइपी सम्मानले व्यवसायीलाई सम्मानित भएर व्यवसाय गर्न प्रोत्साहन गर्ने उल्लेख गर्दै अध्यक्ष ढकालले अन्तराष्ट्रिय अभ्यास अनुसार यसरी सम्मानित हुने व्यक्तिहरुलाई सरकार र समाजले निक्कै महत्व दिने गरेको बताए । उनले हरेक दुइ बर्षमा सिआइपी प्रदान गर्ने निश्चित मिति तोकेरै सिआइपी डे, मनाउनु पर्ने सुझाव समेत दिए ।
अध्यक्ष ढकालले यी सुधारसंगै नेपालको अर्थतन्त्रमा निजी क्षेत्रले निर्वाह गर्न सक्ने भूमिका र त्यसले अर्थतन्त्रको मुहार र आकार नै फेर्न सक्ने सम्भावना रहेको सिआईपीबाट सम्मानित हुने व्यक्तित्व र संस्थाबाट नै पनि हेर्न सकिने धारणा राखे । उनले आफुहरले निजी क्षेत्रको मर्यादाक्रमको बिषय उठाएको र यसले निजी क्षेत्रलाई धेरै नै उत्साहित बनाउने हुँदा कार्यान्वयनका लागि सरकारसंग आग्रह गरे ।