काठमाडौं । नेपालकै पहिलो सवारी साधन गुड्ने सुरुङमार्गका रुपमा बन्दै गरेको नागढुंगा–नौविसे सुरुङमार्गको सपना मूर्त बन्दै गएको छ । गत बर्षको बैशाख ३ मै वारपार छेडिएको नागढुंगा–नौविसे सुरुङमार्गको केहि भागमा जग्गा मुआब्जा विवाद कायमै रहेपनि निर्माण भने करिव सम्पन्न भएको छ । हालसम्म करिव ९२ प्रतिशत काम सम्पन्न भईसकेपनि आयोजनाले संचालनमा आउने म्याद भने आगामी कार्तिक ८ गतेलाई तोकेको छ । अर्थात कार्तिक ८ गतेभित्रमा सबै काम सम्पन्न गरी त्यसबेलासम्म नेपाल सरकारलाई हस्तान्तरण गर्नेगरी तयारी गरिएको आयोजना प्रमुख सौजन्य नेपालले जानकारी दिए ।
यो सुरुङमार्गको बलम्बुस्थित फ्लाईओभर निर्माण भइरहेको स्थानमा एकजना जग्गाधनीसँग विवाद जारी छ । यद्यपि त्यो स्थानमा फ्लाईओभरको काम भने रोकिएको छैन । उनका अनुसार हाल सुरुङमार्ग भित्रको सबै काम करिव सम्पन्न भइसकेको छ । धादिङतर्फको पहुँच सडक र ओभरपासको काम पनि सकिसकेको अवस्थामा अब सुरुङमार्गभित्रका उपकरणहरु जाँच गर्ने काम भइरहेको उनले बताए । ‘सुरुङमार्गभित्र आवश्यक उपकरणहरु जडान भइसकेपछि हाल ती उपकरणको जाँच गर्ने काम भईरहेको छ,’ उनले भने, ‘यस्तै अन्य कामहरु पनि भटाभट अघि बढिरहेका कारण हामीले तोकेकै समयमा यो सुरुङमार्ग संचालनमा ल्याउनसक्ने निश्चित भएको छ ।’
फ्लाइओभर बनिरहेको स्थानमा जग्गाको विवाद भएपनि त्यसले निर्माणमा भने असर नपारेको उनले बताए । खासगरी यो निर्माणका लागि सबै जग्गाको विवाद समाधान भई मुआब्जा दिइसकिएपनि एक जनाको जग्गाको भने मुआब्जा अझै दिन बाँकी छ । यसमा सडक विभागले भने प्रक्रियावस आएको खण्डमा मुआब्जा दिने तयारी गरेपनि जग्गाधनीले हालसम्म प्रक्रिया पुर्याउन नसकेको उनले बताए । ‘हामीले जग्गाधनीलाई जग्गाको प्रक्रिया पूरा गरे आउन आग्रह गरेका छौं वहाँ पनि त्यसमा लागिपर्नुभएको छ,’ उनले भने, ‘खासगरी जग्गा वहाँको नाममा भन्दा पनि उहाँको ठुलोबुवाको नाममा भएकाले मुआब्जा दिन कठिनाई भएको हो ।’
जग्गा धनीले हाल त्यो जग्गा आफ्नो नाममा ल्याउने प्रक्रिया सुरु गरिसकेको आयोजनाले जानकारी दिएको छ । उक्त जग्गाको प्रक्रिया पुग्नेवित्तिकै त्यसको मुआब्जा दिने तयारी गरिएको आयोजना प्रमुख नेपालले बताए । सुरुङमार्गमा हाल भेन्टिलेटर, लाइट, पावर लाइन, फायर एक्सटीनग्वीसरलगायतका उपकरणहरु जडान भइसकेका छन् । अब काम बाँकी भने फ्लाईओभरको मात्रै हो । त्यो पनि चाँडै सम्पन्न हुने तरखरमा छ । त्यसो भएको खण्डमा आयोजना कार्तिक ८ अघि नै सरकारलाई हस्तान्तरण गर्न सकिने नेपालले बताए ।
कोरोनालगायतका कारण काम लम्बिँदै आएको उक्त आयोजनाको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विद्युतीय स्वीच थिचेर गत बर्ष बैशाख ३ मा ब्रेकथ्रु गरेका थिए । सहायक र मुख्य सुरुङमार्ग छेडिएपनि यो पूर्णरुपमा निर्माण भई संचालनमा आउन भने अझै केहि समय लाग्ने बताइएको थियो । आयोजनाले इभ्याकुएशन सुरुङ भने अघिल्लो वर्ष साउन २२ गते नै ब्रेकथ्रु गरिएको थियो । सरकारले जाइकासँग १६ अर्ब रुपैयाँ ऋण लिएर उक्त सुरुङमार्ग बनाउँदै छ । कुल २२ अर्ब खर्च हुने उक्त आयोजनामा उक्त ऋणबाहेक मुआब्जाका लागि सरकारले ६ अर्ब रुपैयाँ खर्चेको छ । अन्य समस्या समाधान गर्न सकिने भएपनि प्रभावितले पुनः जग्गाको मुआब्जा माग गरेपछि समस्या बल्झिँदै गएको थियो । हाल मुआब्जाको सबैजसो समस्या सल्टिसकेको पनि छ । यसैका कारण कामै रोक्नुपर्ने अवस्था भने छैन ।
सुरुङमार्ग निर्माणको जिम्मा हाज्मा–आन्दो कर्पोरेशनले पाएको थियो । २०७६ देखि निर्माण सुरु गरेको कम्पनीले कोरोना महामारीमा काम गर्न नपाएको भन्दै म्याद थप्न आग्रह गरेपछि नेपाल सरकारले आयोजनाको म्याद २०२४ अप्रिलसम्म उक्त म्यादसम्म पनि काम सम्पन्न नभएपनि पुनः २२ महिना म्याद थपिएको थियो । सुरुङमार्ग सञ्चालनमा आएपछि त्रिभुवन राजपथ नागढुंगा बलम्बुसम्मको दुरी तीन किलोमिटरले कम हुनेछ । सडकको दुरी तीन किलोमिटरले मात्र कम भए पनि सुरुङमार्गको पश्चिमी प्रवेश बिन्दुदेखि नागढुंगासम्मको उकालो र त्यहाँ हुने ट्राफिक जामलाई दृष्टिगत गरी एक व्यक्तिको झन्डै आधाघण्टा समय बचत हुने छ ।