Logo

पहिरोले कर्णाली राजमार्ग अवरुद्ध, गुल्मीको वामी–रिडी सडक पनि बन्द

पहिरोले कर्णाली राजमार्ग अवरुद्ध, गुल्मीको वामी–रिडी सडक पनि बन्द



काठमाडौँ । लगातारको वर्षापछि आएको पहिरोका कारण कर्णाली राजमार्ग अवरुद्ध भएको छ । कालीकोटको गगने खोलामा रातिदेखिको लगातार वर्षासँगै ठूला ढुंगासहितको पहिरो जाँदा राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय कालीकोटले जनाएको छ ।

प्रहरीका अनुसार गगने खोलामा बिहान ६ बजेदेखि सडक बन्द भएको हो । सडक खुलाउन हेभी मेसिनसहित जनशक्ति परिचालन गरिएको सडक डिभिजन जुम्लाले जनाएको छ ।

वर्षा जारी रहेकाले सडकको अवस्था बुझेर मात्र यात्रा गर्न यात्रुहरूलाई आग्रह गरिएको छ । सडक अवरुद्ध हुँदा जुम्लादेखि सुर्खेत, नेपालगन्जतर्फ जाने मालबाहक र यात्रुबाहक सवारी साधन रोकिएका छन् ।

गुल्मीको वामी–रिडी सडक अवरुद्ध

गुल्मीको चन्द्रकोट गाउँपालिका–८ तल्लो फाँटस्थित वामी–रिडी सडक खण्डमा पहिरो खसेपछि यातायात आवागमन पूर्णरूपमा अवरुद्ध भएको छ ।

लगातारको वर्षाका कारण सडकमा ठूलो पहिरो खस्दा आउ–जाउ पूर्णरूपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक गंगाबहादुर सारुले जानकारी दिए । वामी–रिडी सडकखण्ड गुल्मी जिल्लाको प्रमुख आवागमन मार्गमध्ये एक हो । सडक अवरुद्ध हुँदा दैनिक यात्रा गर्ने सर्वसाधारण, यात्रुहरू मारमा परेका छन् ।

पहिरो गएको स्थानमा प्रहरी चौकी मजुवा, गुल्मीबाट प्रहरी सहायक निरीक्षक (प्र.स.नि.) शिवधन प्रसाद कठरियाको नेतृत्वमा टोली खटिएको छ । स्थानीय सरकार, प्रशासन, प्रहरी र स्थानीयवासीको सहकार्यमा पहिरो पन्छाएर सडक खुलाउने प्रयास भइरहेको छ । मौसममा सुधार आएपछि आवश्यक उपकरणमार्फत सडक खुलाउने कार्यलाई अझ प्रभावकारी बनाइने प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्