काठमाडौं । मनसुन सक्रिय भएसँगै बाढी पहिरोको जोखिम बढ्न थालेको छ । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले हरेक दिन बाढीबारे सतर्कता सूचना जारी गर्दै आएको छ । बाढी महाशाखाका अनुसार आज (शनिबार) बागमतीलगायत देशका ठूला नदी आसपास तथा काठमाडौँसहित ४७ जिल्लामा सतर्कता अपनाउन आवश्यक छ ।
आज कोशी, नारायणी, कर्णाली, महाकाली र यसका प्रमुख सहायक नदीहरूका साथै कन्काई, कमला, बागमती, पूर्वी राप्ती, पश्चिम राप्ती र बबई नदीको जलसतह सतर्कता तह तलै रहने अनुमान भए पनि बढ्न सक्ने सम्भावना रहेकाले नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन महाशाखाले सुझाव दिएको छ ।
अनि जिल्लाका हिसाबले आज काठमाडौँ, ललितपुर, भक्तपुर, बागलुङ, म्याग्दी, पर्वत, बैतडी, दार्चुला र आसपासका जिल्ला भई वहने केही ससाना नदीको बहाब उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिम देखिएकाले उक्त जिल्लाका नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आवश्यक रहेको बाढी महाशाखाको भनाइ छ ।
आज संखुवासभा, ताप्लेजुङ, दोलखा, सिन्धुपाल्चोक, गोरखा, लमजुङ, तनहुँ, मकवानपुर, काभ्रेपलाञ्चोक, सिन्धुली, गुल्मी, पाल्पा, अर्घाखाँची, रुकुमपश्चिम, रोल्पा, सल्यान, प्युठान, जाजरकोट, कालिकोट, दैलेख, अछाम, सुर्खेत, डडेलधुरा, डोटी, बझाङ, कैलाली, कञ्चनपुर र आसपासका जिल्ला भई वहने केही ससाना नदीको बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिम देखिएकाले उक्त नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन अनुरोध गरिएको छ।
उल्लिखित ३५ जिल्लामा आज खोला÷नदीका साथै पहिरोग्रस्त क्षेत्रमा पनि उच्च सावधानी आवश्यक रहेको बाढी महाशाखाले जनाएको छ । यस्तै झापा, इलाम, पाँचथर, सोलुखुम्बु, रामेछाप, भोजपुर, नुवाकोट, धादिङ, रौतहट, रुकुमपूर्व, दाङ, बर्दिया र आसपासका जिल्ला भई वहने केही ससाना नदीको बहाब उल्लेख्य बढ्ने र आकस्मिक बाढीको सामान्य जोखिमको अनुमान रहेकाले उक्त नदी तटीय क्षेत्रमा सामान्य सतर्कता अपनाउन महाशाखाले सुझाव दिएको छ ।
