Logo

आयातमा पेट्रोल र एलपी ग्याँसलाई उछिन्यो कच्चा भटमास तेलले, ११ महिनामा झण्डै १ खर्बको आयात

आयातमा पेट्रोल र एलपी ग्याँसलाई उछिन्यो कच्चा भटमास तेलले, ११ महिनामा झण्डै १ खर्बको आयात



काठमाडौं । नेपालबाट पछिल्लो समय अत्यधिक मात्रामा निर्यात भईरहेको भटमास तेलले आयातमा पनि उत्तिकै छलाङ मारेको छ । एक वर्ष अघिसम्म मात्रै नेपालको आयात व्यापारको सूचीमा पुछारमा हुने भटमासको कच्चा तेल यसपटक शीर्ष दुईभित्रै पर्न सफल भएको हो ।

भन्सार विभागले हालै सार्वजनिक गरेको तथ्यांकअनुसार नेपालले चालु आर्थिक बर्षको जेठ मसान्तसम्म विभिन्न राष्ट्रहरुबाट १६ खर्ब ४४ अर्ब रुपैयाँ बराबरको वस्तु आयात गरेको छ । यी वस्तुहरुमध्ये धेरै आयात हुने सूचीको पहिलो स्थानमा डिजेल छ । यस अवधिमा नेपालले १ खर्ब १५ अर्ब ५५ करोड रुपैयाँ बराबरको १३ लाख किलोलिटर बढी डिजेल खपत गरेको छ । यसअघिका बर्षहरुमा धेरै आयात हुने वस्तुको सूचीको दोस्रो तेस्रो र चौथो स्थानमा पेट्रोल, खाना पकाउने ग्याँस र एटीएफलगायतका वस्तुहरु पर्दै आएका थिए ।

यसपटक भने कच्चा सोयाविन तेलले पेट्रोल, एटीएफ, खाना पकाउने ग्याँसलगायतलाई पछि पार्दै दोस्रो स्थान ओगट्न सफल भएको देखिन्छ । विभागको तथ्यांकलाई आधार मान्दा चालु आवको ११ महिनामा नेपालले कच्चा सोयाविन तेलमात्रै ९५ अर्ब ७२ करोड ६१ लाख रुपैयाँ बराबरको आयात गरेको छ । परिमाणमा यो ६३ करोड ३ लाख लिटर हो ।

नेपालले यति ठूलो मात्रामा सोयाविन तेल खपत गर्दैन । तर, नेपालको तेल प्रशोधन उद्योगीहरुले विदेशबाट कच्चा सोयाविन तेल ल्याएर त्यसमा केहि भ्यालु एड गरी पुनः विदेशमै बेच्ने प्रवृत्ति बढेपछि नेपालमा यसको आयात अस्वभाविक रुपमा उच्च हुँदै आएको छ । गत आर्थिक बर्ष नेपालको आयात व्यापारमा धेरै आयात हुने वस्तुको सूचीको १५ औं स्थानमा रहेको कच्चा सोयाविन तेल चालु आवमा भने एकाएक उकालो लागेको हो ।

खासगरी भारतले दक्षिण एसियाली स्वतन्त्र व्यापार सम्झौता (साफ्टा) अन्तर्गत नेपालबाट आउने तेलजन्य वस्तुहरूमा भन्सार महसुल नलगाउने नीति अवलम्बन गरेपछि नेपाली व्यापारीहरूले भारतीय बजारतर्फ पुनःनिर्यात गर्न वातावरण सहज पाएपछि सोही अनुसार लगातार तेल निर्यात गरिरहेका छन् । जसको प्रत्यक्ष असर यसको आयात र निर्यातमा पर्छ । नेपालमा उल्लेख्य मात्रामा भटमास खेती नहुने हुनाले धेरैजसो उद्योगीहरुले सोयाविन टार्ट अर्थात सोयाविनको कच्चा तेल विदेशका राष्ट्रहरुबाट ल्याउँछन् । भन्सार विभागको तथ्यांकलाई मात्रै आधार मान्ने हो भनेपनि पछिल्लो ११ महिनामा नेपालका उद्योगीहरुले सोयाविन टार्ट अर्जेन्टिना, बेनिन, ब्राजिल, चीन, पाराग्वे, इराक, थाईल्याण्ड, टोगो र युक्रेन गरी ९ देशबाट आयात भएको देखिन्छ । यी देशहरुबाट उल्लेख्य मात्रामा सोयाविन टार्ट ल्याई उद्योगीहरुले भारततर्फ मात्रै प्रशोधित तेल उल्लेख्य मात्रामा पठाएका छन् । चालु आवको ११ महिनामा उद्योगीहरुले आयात गरेको कच्चा भटमास तेलमार्फत सरकारले ३ अर्ब ६४ करोड रुपैयाँ राजस्व संकलन गरेको छ ।

यसरी आयातमा अप्रत्याशित रुपमा उचाईमा पुगेको सोयाविन टार्टकै कारण नेपालको निर्यात व्यापारमा पनि भटमासको प्रशोधित तेलको हिस्सा उल्लेख्य छ । निर्यात व्यापारको आँकडालाई नियाल्दा चालु आवको पछिल्लो ११ महिनामा नेपालले ९३ अर्ब ५१ करोड रुपैयाँ बराबरको प्रशोधित भटमासको तेल निर्यात गरेको छ । यो नेपालको कुल निर्यात व्यापारको झण्डै ४५ प्रतिशत बढी हो । चालु आवको ११ महिनामा नेपालले २ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँ बराबरको वस्तु निर्यात गरेको छ ।

नेपालमा सोयाविन तेल धेरै निर्यात हुने वस्तुको सूचीको अग्रस्थानमा छ । निर्यात व्यापारको वर्तमान स्वरूप हेर्दा नेपालबाट विशेष रूपमा एकै प्रकृतिको वस्तु (खानेतेल) र एकै देश (भारत) मा अत्यधिक मात्रामा निर्भरता बढ्दै गएको छ । नेपालमा उत्पादन न्यून हुने भटमासलगायतको तेल लगातार भारतमा ठुलो परिमाणमा निर्यात हुनाले नेपालको निर्यात व्यापारमा एक किसिमको खतरा पैदा भएको विश्लेषकहरु बताउँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्