काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले यस वर्षको दशैँ–तिहारमा सार्वजनिक यातायातको भाडा नबढाइने स्पष्ट पारेका छन् । प्रतिनिधिसभाको पूर्वाधार विकास समितिको बैठकमा बोल्दै मन्त्री दाहालले यात्रुहरूलाई चाडपर्वको समयमा अतिरिक्त आर्थिक भार नपरोस् भन्ने उद्देश्यले यस्तो निर्णय गरिएको जानकारी दिएका हुन् ।
मन्त्री दाहालका अनुसार, इन्धन मूल्यअनुसार भाडा बढाउने वा घटाउने व्यवस्था भए पनि यस वर्ष यातायात व्यवसायीसँग सहकार्य गरेर भाडा नबढाउने निर्णय गरिएको छ। यदि यातायात व्यवसायीहरूले कुनै समस्या भोग्दै छन् भने त्यसको समाधान छलफलमार्फत गरिने सरकारको तयारी रहेको पनि उनले बताए।
साथै, मन्त्री दाहालले प्रदेशस्तरका सडक आयोजना प्रदेश सरकारलाई हस्तान्तरण गर्ने योजना रहेको जानकारी दिनुभयो। हाल करिब ३२ हजार किलोमिटर सडक संघीय मन्त्रालयको मातहतमा रहेकामा, निर्माणाधीन सडक तथा ज्यालादारी कामदारसमेत प्रदेश सरकारको जिम्मेवारीमा दिने तयारी भइरहेको उनले बताए।