Logo

मनसुन भित्रिदै गर्दा राष्ट्रिय राजमार्गहरुको अवस्था दयनीय, यात्रुको सहजता र सुरक्षाका लागि के गर्दैछ सडक विभाग ?

मनसुन भित्रिदै गर्दा राष्ट्रिय राजमार्गहरुको अवस्था दयनीय, यात्रुको सहजता र सुरक्षाका लागि के गर्दैछ सडक विभाग ?



काठमाडौं । यस वर्षको मनसुनमा २० लाखभन्दा बढी मानिस प्रभावित हुने अनुमान छ । हालै गृह मन्त्रालयले सार्वजनिक गरेको प्रारम्भिक अनुमानअनुसार बाढी, पहिरो, डुबान लगायतका विपद्बाट देशका अधिकांश भूभाग प्रभावित हुने खतरा छ । विगतका वर्षमा पनि मनसुनसँगै हजारौं नागरिक विस्थापित हुने, कयौंको ज्यान जाने र सम्पत्तिमा ठूलो क्षति पुग्ने गरेको पृष्ठभूमिमा यसपालि झनै सावधानी अपनाउनुपर्ने देखिन्छ ।

यस्तोमा बर्षातकोे समय नजिकिँदै गर्दा देशका मुख्य यातायात लाइफलाइन मानिने राष्ट्रिय राजमार्गहरुको अवस्था भने अत्यन्तै दयनीय छ । विशेषगरी संघीय राजधानी काठमाडौं छिर्ने मुख्य नाका पृथ्वी राजमार्ग, त्यसैगरी पूरै देशलाई जोड्ने महेन्द्र राजमार्ग (पूर्वपश्चिम राजमार्ग) लगायतका सडक खण्डहरु अहिले व्यापक मर्मत, सुधार र चौडा बनाउने क्रममा छन् । मध्यपहाडी लोकमार्ग, हुलाकी राजमार्गलगायतका राजमार्गहरु पनि धेरैजसो निर्माणकै क्रममा छन् । यद्यपि यी सडकहरुमा सवारी पनि चल्ने हुनाले वर्षाको उत्तिकै प्रभाव पर्ने गरेको छ । तर, मर्मतकै नाममा खनेर छाडिएका सडक, कहीँ ढलान अधुरै, कतै बत्ती र संकेत चिन्हविना खुलेका मार्गले यात्रुलाई झनै सास्ती दिइरहेका छन् ।

प्राविधिक रुपमा हेर्दा सडक मर्मतको उपयुक्त समय हिउँद हो । तर, नेपालमा हिउँदमा पनि हिलो र धुलोले यातायातलाई अस्तव्यस्त बनाउँदै आएको छ । मर्मत सुरु गरिएका सडकहरु वर्षा सुरु हुँदासम्म पनि पुरा नहुनु तथा अस्थायी व्यवस्थापन नगर्नुले यही सडकहरु वर्षाका बेला दुःख दिने निश्चित देखिन्छ । सडक विभागले चालु आर्थिक वर्ष २०८१÷८२ मा मात्रै राजधानी प्रवेश गर्ने मुख्य राजमार्गहरुमा करिब १० अर्ब रुपैयाँ बराबरका आयोजनाहरु कार्यान्वयन गरिरहेको जनाएको छ । तर, योजनाको गुणस्तर, गति र अनुगमनमा देखिएको कमजोरीका कारण सिण्डिकेट शैलीमा ठेक्का दिइएका कतिपय आयोजना समयमा सम्पन्न हुन सकेका छैनन् ।

सडक विभागका प्रवक्ता प्रभातकुमार झाका अनुसार राजमार्गहरुमा भइरहेको मर्मत र स्तरोन्नति कार्य सम्भव भएसम्म वर्षा सुरु हुनुअघि सक्ने प्रयास गरिएको हो । तर मौसम, निर्माण व्यवसायीको कामको गति, स्रोत र प्रविधिको अभावका कारण केही ढिलाइ भएको छ । वर्षातको समयमा यात्रु र सवारी साधनलाई न्यूनतम सास्ती होस् भन्ने लक्ष्यसहित बाढी पहिरो सम्भावित क्षेत्रहरुमा अस्थायी समाधान, डाइभर्सन र आकस्मिक मर्मत टोली तयार भईसकेको उनले बताए । हरेक जिल्लाका जिल्ला प्रशासन र सडक विभाग मातहतका डिभिजन कार्यालयहरुमा पहिलो र बाढी सम्भावित क्षेत्रका सडकमा उपकरणहरु तैनाथ गरिएको उनले बताए । विभागले बर्षातको समयमा सडक अवरुद्ध हुँदा तत्काल खोल्न ७७ वटै जिल्लामा ‘र्यापिड मर्मत टोली’ परिचालन गर्ने तयारी गरेको उनले बताए । साथै, बाढीपहिरो, सडक धसिएको घटनामा प्रयोग गर्न डोजर, लोडर, ग्रेडर, टिप्परलगायतका उपकरण तयारी अवस्थामा राखिएको उनको भनाई छ ।

त्यस्तै, पहिरो बढी आउने पहाडी सडकखण्डहरुमा विशेष सतर्कता अपनाउने तयारी गरिएको छ । यस्तै ठाउँहरुमा अस्थायी संरचना निर्माण, सडक छेउका ढल निकास प्रणाली सफा गर्ने काम अघि बढाइएको विभागले जानकारी दिएको छ । विभागले झन्डै २०० बढी सडक आयोजना अन्तर्गतका खण्डहरुमा मर्मत तथा सुधार कार्य भइरहेको उनले बताए । ‘हामीले देशभरका सडकमा आपतकालिन मर्मतका लागि भन्दै साढे २ सय बढी उपकरणहरु तयारी अवस्थामा र ती स्थानमा तैनाथ गरिसकेका छौं,’ उनले भने, ‘कुनै पनि स्थानको सडकमा समस्या आउनेबित्तिकै पहिलो सूचना प्रहरीलाई आउने भएपछि हामीले सोहीअनुसार हरेक जिल्लाका जिल्ला प्रशासन कार्यालयसँग प्रत्यक्ष सम्बन्ध राखेका छौं ।’ यतिमात्रै नभई विभागले यसपटक कुन स्थान र कुन राजमार्ग, सडकमा कसको नेतृत्वमा उपकरणहरु छन् भन्ने जानकारी र सम्पर्क नम्बर पनि जिल्ला प्रशासन कार्यालयमा उपलब्ध गराईएको उनको भनाई छ ।

राजधानी छिर्ने र बाहिरिने मुख्य सडकहरु मध्येकै पृथ्वी राजमार्गको नौबिसे-नागढुङ्गा खण्ड, मुग्लिन–नारायणगढ खण्ड तथा महेन्द्र राजमार्गको हेटौँडा–पथलैया खण्ड यतिबेला अत्यन्तै खराब अवस्थामा छन् । यिनै सडकमा घन्टौं ट्राफिक जाम लाग्ने, एम्बुलेन्स समेत अघि बढ्न नसक्ने, यात्रुहरु पैदल यात्रा गर्न बाध्य हुने अवस्था पटकपटक दोहोरिँदै आएको छ । यातायात व्यवसायी तथा ट्राफिक प्रहरीको अनुभव अनुसार, वर्षा सुरु भएसँगै सडकमा हिलो, गहिरा खाल्डाखुल्डी, पानीको बहाव तथा पहिरोको जोखिम उच्च हुने भएकाले यात्रा गर्ने नागरिकले अनावश्यक जोखिम नलिनु उपयुक्त हुने बताएका छन् ।

मनसुन पूर्वानुमानअनुसार यसपालि गत वर्षको तुलनामा झन्डै ५ प्रतिशत बढी वर्षा हुने देखिएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार, यो वर्षको मनसुन जेठको दोस्रो साताबाट सुरु भई असोजसम्म सक्रिय रहनेछ । यसबीचमा खासगरी सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा अत्यधिक वर्षाको सम्भावना रहेको उल्लेख गरिएको छ । बाढी पहिरोले कतै सडक बगाउँछ, कतै डाइभर्सन बन्द गराउँछ, र कतै यात्रा पूरै अवरुद्ध बनाउँछ । यस्तोमा देशको प्रमुख यातायात आधार मानिने सडकहरु अझै सुधारिन नसक्दा न त जनताको यात्रा सहज हुने देखिन्छ, न त विपद् व्यवस्थापनमा तीव्रता आउन सक्ने अवस्था छ ।

प्रतिक्रिया दिनुहोस्