काठमाडौं । उर्जा प्रवद्र्धकहरु नै उर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान)का विरुद्ध उभिएका छन् । इप्पानका पदाधिकारीहरुले केहिदिन अघि आइपीओ निष्काशन प्रक्रियामा नेपाल धितोपत्र बोर्ड (सेबोन)ले कमिसन मागेको आरोप लगाएपछि केहि प्रवद्र्धकहरु भने त्यो आरोपको विरुद्धमा उभिएका हुन् ।
यसै अनुरुप विकास हाईड्रोपावर कम्पनी लिमिटेडले विज्ञप्ति जारी गर्दै हालसम्म आइपीओ निष्काशनका लागि स्वीकृति लिनका लागि कमिसन बुझाउनु नपरेको बताएको छ । कम्पनीले जारी गरेको विज्ञप्तिमा विभिन्न सञ्चार माध्यम तथा सामाजिक सञ्जालहरुमा हालै नेपाल धितोपत्र बोर्डबाट सार्वजनिक निष्कासनको लागि अनुमति प्राप्त कम्पनीहरुले कमिसन बुझाएर मात्र अनुमति पाएको भन्ने भ्रामक समाचार प्रति यस कम्पनीको ध्यानाकर्षण भएको बताईएको छ ।
‘यस प्रक्रियामा हामीले कुनै पनि व्यक्तिलाई अनुचित लाभ हुने कार्य नगरि नियमानुसार स्वीकृती प्राप्त गरेको व्यहोरा जानकारी गराउँदछौं,’ कम्पनीले जारी गरिएको विज्ञप्तिमा उल्लेख छ ।
यता पियोर इनर्जीले पनि समाचारमा बताईएको जस्तो आइपीओ निष्काशनको स्वीकृतिका लागि कमिशन दिएको कुरा कपोकल्पीत भएको बताएको छ । कम्पनीले विज्ञप्ति जारी गर्दै उक्त बिषयवस्तुसँग कम्पनीको प्रत्यक्ष वा अप्रत्यक्ष कुनै पनि सम्बन्ध नरहेको जानकारी दिएको छ । कम्पनीले यस बिषयमा प्रेस काउन्सील नेपालमा उजुरीसमेत गरिसकेको बताएको छ ।
यसअघि केहि संचारमाध्यमहरुमा सेबोनका अध्यक्ष सन्तोषनारायण श्रेष्ठ नै जलविद्युत प्रवद्र्धकहरुसँग आइपीओ निष्काशनका लागि कमिसन लिएको आरोपसहितका समाचारहरु प्रकाशित भएका थिए । बोर्डले आइपीओ निष्काशन स्वीकृतिका लागि कमिसन नै मागिएपछि इप्पानको आकस्मिक बैठक बसकेको समेत उल्लेख छ ।
तर सेबोनले पनि मंगलबार विज्ञप्ती जारी गर्दै आफुहरुले आईपीओ जारी गर्दा कुनै अनुचित लाभ नलिएको भन्दै सो सम्बन्धमा प्रमाणित गर्न चुनौती दिएको छ । पछिल्लो समय जलविद्युत क्षेत्रमा विकृति बढ्दै गएपछि संसददेखि सरकारका विभिन्न निकायले सो सम्बन्धमा कडाई गर्न निर्देशन दिएसँगै उक्त विषय थप पेचिलो बन्दै गएको छ ।

