काठमाडौं । नेपाल धितोपत्र बोर्डले सेबोनले ‘बिचौलियामार्फत कमिसन मागिएको’ विषयमा आफ्नो ध्यानाकर्षण भएको जनाएको छ ।
केहि संचारमाध्यममा बोर्डका अध्यक्ष सन्तोष नारायण श्रेष्ठले उर्जा प्रवद्र्धकहरुसँग कमिसन मागेको बिषयमा समाचार लेखिएको भेटिएपछि बोर्डले यस्ता समाचारलाई ‘नियोजित र प्रायोजित’ भनेको छ।
बोर्डले पुँजीबजारमा भइरहेका सुधार प्रयासहरूलाई कमजोर बनाउने र नियामक निकायको छवि धूमिल पार्ने उद्देश्य रहेको आरोप लगाएको छ। प्रवक्ता निरञ्जन घिमिरेले अध्यक्षको नाममा गैरकानुनी फाइदा लिने कार्य भएको प्रमाण भए उपलब्ध गराउन आग्रह गर्दै त्यस्ता व्यक्तिमाथि कानुनी कारबाही हुने दाबी गरेका छन्।