Logo

यातायातमा भारतीय कम्पनीसँगको लफडा सुल्झियो, अब लाइसेन्स धमाधम छपाई हुने

यातायातमा भारतीय कम्पनीसँगको लफडा सुल्झियो, अब लाइसेन्स धमाधम छपाई हुने



काठमाडौं । लामो समयदेखि सवारीचालक अनुमतिपत्र (लाइसेन्स) छपाईमा आनाकानी गरिरहेको भारतीय कम्पनीसँगको लफडा सुल्झिएको छ । जर्मनीबाट छपाईका लागि आवश्यक स्मार्ट कार्ड आइसक्दा पनि पर्सनलाईजेशनको काम गर्न नमानिरहेको भारतीय कम्पनी मद्रास सेक्युरिटी प्रिन्टर्स (एमएसपी)ले अब भने पर्सनलाईजेसनको काम सुरु गरेको हो ।

laxmi

हालसम्म स्मार्टकार्ड अभाव झेल्दै आएको यातायात व्यवस्था विभागले स्मार्ट कार्ड आउँदा पनि प्राविधिक पाटोमा भारतीय कम्पनीसँग सहमति जुटाउन सकेको थिएन । यसअघि गत असोजदेखि नै विभागमा स्मार्टकार्ड सकिएसँगै अत्यावश्यक लाइसेन्स मात्रै प्रिन्ट गरेर वितरण गर्दै आएको छ ।

जर्मनीको मुलबहुर कम्पनीलाई कार्ड आपुर्तिका लागि जिम्मा दिएपनि कम्पनीले निर्धारित समयमा कार्ड आपूर्ति नगर्दा विभाग अन्यौलमा थियो । त्यसपश्चात गत पुस २६ गते जर्मनीको सो कम्पनीले नेपालमा कार्ड ल्याईपुर्याएपनि त्यसमा डाटा पर्सनलाईजेशनको काम गर्ने एमएसपीले पर्सनलाईजेसनमा आनाकानी गरिरहेको थियो ।

केही दिनअघि मात्रै विभागले जर्मनीको कार्ड आपुर्तिकर्ता कम्पनीका पदाधिकारी र एमएसपीका पदाधिकारीलाई राखेर सहमतिको प्रयास गरेको थियो । उक्त प्रयासले सहमति जुटेपछि कार्डमा डाटा पर्सनलाईजेसनको काम अघि बढेको विभागका सूचना अधिकारी ईश्वरीदत्त पनेरुले बताए । ‘दुबै कम्पनी र विभागबीच सहमति जुटेपछि कार्डमा डाटा राख्ने काम सुरु भइसकेको छ,’ उनले भने, ‘अबको केही दिनमै यसको छपाई सुरु हुनेछ ।’ उनले आज या भोलिबाटै लाइसेन्स छपाईको काम सुरु हुनसक्ने बताए ।

लगातार करिव ६ महिनासम्म बन्द भएको लाइसेन्सको छपाई र वितरणका कारण हालसम्म लाइसेन्सका प्रयोगात्मक सबै परीक्षा पास भएर लाइसेन्स नपाउनेको संख्या करीव १३ लाख पुगिसकेको छ । तर, गत बर्ष नै जर्मनीबाट मगाइएको कार्ड पुसमा आइपुगेकोमा छपाई गर्न नसक्दा समस्या झन चुलिँदै गएको थियो । पछिल्लो ६ बर्षदेखि नेपालमा सवारीचालक अनुमतिपत्रको स्मार्टकार्ड पर्सनलाईजेसन र छपाईको काम गर्दै आएको भारतीय कम्पनी एमएसपीले पछिल्लो समय आएको कार्डको टेण्डर आह्वान हुनेबेलामै बखेडा झिकेको थियो ।

त्यसबेला सकेसम्म आफ्नो कार्ड ल्याएर छाप्ने मनसाय उक्त कम्पनीले देखाएपनि कम मूल्यमा कार्ड उपलब्ध गराउने भएपछि जर्मनीको कम्पनीले ठेक्का पाएको थियो । त्यसबेलादेखि नै निहुँ खोज्दै आएको एमएसपीले यसपल्ट जर्मनीबाट कार्ड नै फरक आएको भन्दै पर्सनलाईजेसन र छाप्ने काममा आनाकानी गरेपछि विभाग नै समस्यामा परेको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL