Logo

१३ लाख नेपाली लाइसेन्सको प्रतीक्षामा : भारतीय कम्पनीको पासोमा ‘प्रिन्ट सिष्टम’, छपाईमा फेरि अन्यौलता

१३ लाख नेपाली लाइसेन्सको प्रतीक्षामा : भारतीय कम्पनीको पासोमा ‘प्रिन्ट सिष्टम’, छपाईमा फेरि अन्यौलता



काठमाडौं । लामो समयदेखि रोकिएको सवारीचालक अनुमतिपत्र (लाइसेन्स) छपाई नै अन्यौल बनेको छ । जर्मनीबाट लाइसेन्सका लागि आवश्यक स्मार्ट कार्ड आएको दुई महिना वितिसक्दा पनि भारतीय कम्पनीले बखेडा झिकेपछि यातायात व्यवस्था विभागले अझै छपाई प्रक्रिया अघि बढाउन सकेको छैन । यसअघि स्मार्ट कार्डको अभावमा गत कार्तिकदेखि नै स्मार्ट लाइसेन्स छाप्न बन्द गरेको यातायात व्यवस्था विभागले पुस २६ मा स्मार्ट कार्ड आएसँगै यसको छपाईलाई तीव्रता दिने बताएको थियो ।

laxmi

लाइसेन्सको छपाई र वितरण लगातार करिव ६ महिनासम्म बन्द हुँदा हालसम्म लाइसेन्सका सबै परीक्षा पास भएर लाइसेन्स नपाउनेको संख्या करिव १३ लाख पुगिसकेको छ । तर, गत बर्ष नै जर्मनीबाट मगाइएको कार्ड आईपुग्दा पनि यसको छपाई गर्न नसक्दा समस्या झन चुलिँदै गएको हो ।

यातायात व्यवस्था विभागका अनुसार नेपालले यसअघि आह्वान गरेको टेण्डर अन्तर्गतका १२ लाखमध्ये ६ लाख स्मार्ट कार्ड नेपाल आइपुगिसकेको करिव २ महिना पुग्न लाग्यो । तर, नेपालको सवारी लाइसेन्सको छपाई प्रणाली (प्रिन्ट सिष्टम) भारतीय कम्पनीको पासोमा पर्दा छपाईमा फेरि अन्यौलता देखिएको छ । नेपालमा कार्ड आइसकेपछि पनि कार्डमा गर्नुपर्ने पर्सनलाईजेशन र यसको छपाईको काम गर्न नेपालमा भएको भारतीय कम्पनी मद्रास सेक्युरिटी प्रिन्टर्स (एमएसपी)ले आनाकानी गरिदिँदा समस्या निम्तिएको हो । मागअनुसार वा छाप्न मिल्नेजति अनुमतिपत्रका लागि आवश्यक स्मार्ट कार्ड विभागसँग यसअघि नभएपछि छपाई नै करिव ४ महिना अघिदेखि बन्द गरिएको थियो ।

‘लाइसेन्स अभावका कारण हामीले अत्यावश्यक बाहेकका लागि लाइसेन्स छाप्ने काम रोकेका थियौं,’ विभागका महानिर्देशक उद्भव प्रसाद रिजालले भने, ‘अब लाइसेन्स नपाएका सेवाग्राहीहरुले चाँडै लाइसेन्स पाउने आश थियो तर समस्या निम्तिईरहेको छ ।’ खासगरी विभागले गत बर्षको असोजमै १२ लाख स्मार्टकार्डका लागि ग्लोबल टेण्डर आह्वान गरेको थियो । त्यसको टेण्डर जर्मनीको मुलबहुर आइडी सर्भिसले गत माघमा हात पारेको पनि थियो ।

उक्त कम्पनीले टेण्डर हात पारेको १ बर्षपछि विभागलाई स्मार्ट कार्ड आपुर्ति गराएको हो । कम्पनीले १२ लाख कार्ड उपलब्ध गराउनुपर्नेमा पहिलो चरणमा ६ लाख र दोस्रो चरणमा ६ लाख उपलब्ध गराउन लागेको हो । पहिलो चरण अन्तर्गतका कार्डहरु नेपाल आइपुगेपनि यसअघि स्याम्पलिङका लागि पठाईएका कार्डको तुलनामा फरक परेपछि यस्तो समस्या निम्तिएको हो ।

हुन त पछिल्लो ६ बर्षदेखि नेपालमा कार्ड पर्सनलाईजेसन र छपाईको काम गर्दै आएको भारतीय कम्पनी एमएसपीले यो कार्डको टेण्डर आह्वान हुनेबेलामै बखेडा झिकेको थियो । त्यसबेला सकेसम्म आफ्नो कार्ड ल्याएर छाप्ने मनसाय उक्त कम्पनीले देखाएपनि कम मूल्यमा कार्ड उपलब्ध गराउने भएपछि जर्मनीको कम्पनीले यसको ठेक्का पाएको थियो । त्यसबेलादेखि नै निहुँ खोज्दै आएको एमएसपीले यसपल्ट जर्मनीबाट कार्ड नै फरक आएको भन्दै पर्सनलाईजेसन र छाप्ने काममा आनाकानी गरेपछि विभाग नै समस्यामा परेको हो ।

खासगरी यसअघि जर्मनीको कम्पनीले पठाएको स्याम्पल कार्ड र पछि पठाएको ६ लाख कार्ड नै फरक परेपछि केही समस्या निम्तिएको विभागका महानिर्देशक उद्भव प्रसाद रिजालले बताए । ‘नेपालमा आईसकेको कार्डहरु फिर्ता पठाउने कुरा हुँदैन अब यसैलाई कसरी हुन्छ मिलाएर छपाई गरी वितरण गर्ने हो,’ उनले भने, ‘यसका लागि कार्ड उपलब्ध गराउने कम्पनी र कार्ड छाप्ने कम्पनी दुबैलाई सँगै राखेर छलफल गर्न लागेका छौं ।’

उनले अब यसको समस्याका लागि भारतीय कम्पनी एमएसपीलाई मनाउन लागेको बताए । खासगरी नेपालमा आईसकेको कार्डमा डाटा पर्सनलाईजेशनको काम उसैले गर्नुपर्ने हो । तर, चिपमा डाटा डिकोडिङ गर्न केही समस्या भएपछि एमएसपीले आनाकानी गरिरहेको उनको भनाई छ । ‘खासगरी विभागसँग लाइसेन्सको कार्ड पर्सनलाईजेसन र मास प्रिन्टर संचालनका लागि आवश्यक दक्ष आइटी कर्मचारीकै कमी छ जसका कारण भारतीय कम्पनीलाई ज्युहजुर भनिराख्नुपरेको छ,’ उनले भने, ‘यसैका कारण भनौं हाल हामीले दुःख पाइरहेका छौं ।’

यसअघि गत मंसिरमा जर्मनीको कम्पनीले नेपालमा भएको मास प्रिन्टरले छाप्ने सक्ने र डाटा पर्सनलाईजेसन गर्न सकिने÷नसकिने जाँच गर्न भन्दै १ सय ५० स्याम्पल कार्ड पठाएको थियो । उक्त कार्डहरु सबै कम्प्याटिबल भएपनि पछि आएका ६ लाख कार्डहरु भने स्याम्पल भन्दा फरक भएपछि कम्पाटिबल बनाएर छपाई गर्न एमएसपीले केहि रकम माग गरेको पनि महानिर्देशक रिजालले स्वीकारे ।

‘एउटा कम्पनीले डिजाईनभन्दा अर्कै कार्ड पठाएपछि छाप्ने कम्पनीलाई त्यो कम्प्याटिबल बनाउन केहि समस्या हुन्छ,’ उनले भने, ‘त्यही कम्प्याटिबल बनाउन प्राविधिक कुरामा केहि खर्च थप लाग्ने बुझिएको छ ।’ विभागमा हाल एउटैमात्रै प्रिन्टर भएकाले प्रतिदिन जम्मा ४ हजार ५ सय कार्डहरु मात्रै छपाई हुने गरेको छ । तर, अब कार्ड आईसेपछि भने विभागले प्रतिदिन ३ सिफ्टमा काम गरेर कार्ड छपाई गरी कार्यालयहरुमा पठाउने बताउँदै आएको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL