Logo

हट्दै लाइसेन्स नपाईने झन्झट, जर्मनीबाट आईपुग्यो ६ लाख थान स्मार्ट लाइसेन्स

हट्दै लाइसेन्स नपाईने झन्झट, जर्मनीबाट आईपुग्यो ६ लाख थान स्मार्ट लाइसेन्स



काठमाडौं । अब सवारीचालक परिचयपत्रको लिखित र प्रयोगात्मक परिक्षा उत्तिर्ण भएका तर लाइसेन्स नपाएका चालकले चाँडै स्मार्ट लाइसेन्स पाउने भएका छन् । यसअघि स्मार्ट कार्डको अभावमा स्मार्ट लाईसेन्स छाप्नै बन्द गरेको यातायात व्यवस्था विभागले नयाँ कार्ड आएसँगै केहिदिनमा स्मार्ट लाईसेन्स वितरण गर्न लागेको हो ।

laxmi

यातायात व्यवस्था विभागका अनुसार नेपालले यसअघि आह्वान गरेको टेण्डर अन्तर्गतका ६ लाख स्मार्ट कार्ड त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको भन्सार कार्यालयसम्म आईपुगेका छन् । केहि दिनमा अध्यागमनबाट उचित राजश्व बुझाई विभागमा ल्याएर छपाई सुरु गर्न लागिएको छ । गत शुक्रबार नै विमानस्थलको भन्सार कार्यालयमा आईपुगेका उक्त कार्डहरु आज नभए मंगलबारसम्म विभागमा ल्याईपुर्याउने विभागका सूचना अधिकारी ईश्वरीदत्त पनेरुले जानकारी दिए । ‘यसअघि टेण्डर आह्वान गरिएअनुसार ६ लाख स्मार्ट कार्ड विमानस्थलसम्म आईपुगेका छन्,’ उनले भने, ‘अब केहिदिनमै उक्त स्मार्टकार्डहरु विभागमा ल्याई प्रिन्टको कार्य अघि बढाईनेछ ।’

विभागका अनुसार हाल १२ लाख सवारीचालकले प्रयोगात्मक परिक्षा उत्तिर्ण भईकन पनि लाईसेन्स पाएका छैनन् । माग अनुसार वा छाप्न मिल्नेजति अनुमतिपत्रका लागि आवश्यक स्मार्ट कार्ड विभागसँग यसअघि नभएपछि यसको छपाई नै करिव ४ महिना अघिदेखि बन्द गरिएको थियो ।

‘लाईसेन्स अभावका कारण हामीले अत्यावश्यक बाहेकका लागि लाईसेन्स छप्ने काम रोकेका थियौं,’ सूचना अधिकारी पनेरुले भने, ‘अब लाईसेन्स नपाएका सेवाग्राहीहरुले चाँडै लाईसेन्स पाउनुहुनेछ ।’

खासगरी विभागले गत बर्षको असोजमै १२ लाख स्मार्टकार्डका लागि ग्लोबल टेण्डर आह्वान गरेको थियो । त्यसको टेण्डर जर्मनीको मुलबहुर आइडी सर्भिसले गत माघमा हात पारेको पनि थियो ।

उक्त कम्पनीले टेण्डर हात पारेको १ बर्षपछि विभागलाई स्मार्ट कार्ड आपुर्ति गराएको हो । कम्पनीले १२ लाख कार्ड उपलब्ध गराउनुपर्नेमा पहिलो चरणमा ६ लाख र दोस्रो चरणमा ६ लाख उपलब्ध गराउन लागेको हो । पहिलो चरण अन्तर्गतका कार्डहरु हाल नेपाल आईपुगेका हुन् ।

१४ लाख ९८ हजार डलरमा टेण्डर हात पारेको कम्पनीले असोजमा विभागलाई कार्डको केहि स्याम्पल पठाएर जाँज गर्न लगाएको थियो । करिव डेढ सय कार्डको स्याम्पल ल्याएर विभागले जाँच पनि गरिसकेको छ । यो जाँच गरेर स्वीकृत गरेको ८५ दिनभित्र उक्त कम्पनीले विभागलाई १२ लाख कार्ड उपलब्ध गराउनुपर्ने थियो ।

जर्मनीबाट कार्ड आईसकेपछि अब यसको छपाईका लागि विभागले नयाँ तरिका अपनाउन छलफल गर्न लागेको छ । विभागमा हाल एउटैमात्रै प्रिन्टर भएकाले प्रतिदिन जम्मा ४ हजार ५ सय कार्डहरु मात्रै छपाई हुने गरेको छ । तर, अब कार्ड आईसेपछि भने विभागले प्रतिदिन ३ सिफ्टमा काम गरेर कार्ड छपाई गरी कार्यालयहरुमा पठाउने तयारी गरेको सूचना अधिकारी पनेरुले बिजखबरलाई जानकारी दिए । यस्तै यसको छपाई र वितरण थप सहज बनाउन विभागले यसअघि अर्काे टेण्डर पनि आह्वान गरिसकेको छ ।

नयाँ एउटा मास प्रिन्टर, १५ लाख स्मार्ट कार्ड र सफ्टवेयरको काम पनि जिम्मा दिनेगरी आह्वान गरिएको टेण्डरमा दुई विदेशी कम्पनीले आवेदन दिएका छन् । यसरी आवेदन हाल्नेमा एउटा भियतनामी कम्पनी र अर्काे फ्रान्सको सेल्प छ । यी दुई कम्पनीको हाल प्राविधिक मूल्यांकन भईरहेको छ । यदि यो टेण्डर पनि टुंगो लागेमा विभागसँग केहि समयपछि दुई मास प्रिन्टर र आवश्यकजति स्मार्ट कार्ड हुनेछन् । त्यसपश्चात मागजति स्मार्ट लाईसेन्स छपाई गरी वितरण गर्न सकिने विभागको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्
MBL