काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले हालै मुलुकमा उत्पन्न विशेष परिस्थितिका कारण उद्योग, वाणिज्य, व्यापार र आपूर्ति क्षेत्रमा परेको प्रभाव तथा आसन्न चाडपर्वलाई लक्षित बजार व्यवस्थापनका विषयमा छलफल गर्न निजी क्षेत्रका छाता संगठनहरूसँग अन्तरक्रिया सम्पन्न गरेको छ। सिंहदरबारस्थित मन्त्रालयमा आयोजित उक्त छलफलमा नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल च्याम्बर अफ कमर्श, महिला उद्यमी महासंघ नेपाल र नेपाल घरेलु तथा साना उद्योग महासंघका पदाधिकारी तथा प्रतिनिधिहरूको सहभागिता रहेको थियो।
बैठकमा हालैका घटनाहरूका क्रममा ज्यान गुमाएकाहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गरिएको थियो भने शोकसन्तप्त परिवारहरूप्रति गहिरो समवेदना व्यक्त गरियो। साथै, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको थियो। छलफलमा घटनाका कारण सरकारी संरचना र निजी व्यावसायिक संस्थाहरूमा भएको आगजनी, तोडफोड र क्षतिको एकीकृत विवरण तयार गर्ने, औद्योगिक तथा व्यावसायिक वातावरण सुधार गरी लगानी संरक्षण र प्रवर्धन गर्ने, निजी क्षेत्रको मनोबल उकास्ने र क्षतिग्रस्त संरचनाहरूको पुनर्स्थापनाका विषयमा समीक्षा भएको मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार, हाल असहज परिस्थिति विस्तारै सहज बन्दै गएको छ। अन्तर्राष्ट्रिय व्यापारका सीमा नाकाहरूमा भन्सार कार्यालयहरू सञ्चालनमा आएका छन्, देशभर ढुवानी प्रणाली सहज भएको छ र व्यापार(व्यवसायहरू पुनः सञ्चालनमा आई आपूर्ति श्रृङ्खला सुचारु भएको छ।
आसन्न चाडपर्वलाई मध्यनजर गर्दै मन्त्रालयले खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ्ग कर्पोरेसनमार्फत देशभर एक सय त्रिपन्न स्थानमा सहुलियत मूल्यका पसलहरू सञ्चालन गरेको छ। बजारमा दैनिक अत्यावश्यक उपभोग्य सामग्री र पेट्रोलियम पदार्थको अभाव नरहेको र माग, आपूर्ति तथा मूल्यमा प्रतिकूल प्रभाव पर्न नदिन मन्त्रालयले प्रतिबद्धता जनाएको छ।
मन्त्रालयले सम्पूर्ण उत्पादक, पैठारीकर्ता, ढुवानीकर्ता, संचयकर्ता, विक्रेता र आम उपभोक्तालाई अत्यधिक वस्तु सञ्चय नगर्नरनगराउन अनुरोध गरेको छ। साथै, नियमित बजार अनुगमनका क्रममा उपभोक्ता अधिकार हनन वा आपूर्ति श्रृङ्खलामा अवरोध हुने कार्य भएको पाइएमा कानूनबमोजिम कारबाही गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।