Logo

फुटपाथको अवरोध हटाउँदै विद्युत प्राधिकरण, फुटपाथ छेकेका प्यानल केही दिनमा हटाउने

फुटपाथको अवरोध हटाउँदै विद्युत प्राधिकरण, फुटपाथ छेकेका प्यानल केही दिनमा हटाउने



काठमाडौं । नेपाल विद्युत प्राधिकरणले फुटपाथको अवरोध हटाउने भएको छ । काठमाडौंमा विद्युतीय तार भूमिगतका क्रममा प्राधिकरणले फुटपाथमा राखेका डिस्ट्रिब्युसन प्यानललाई नयाँ पातला प्यानलले प्रतिस्थापन गरि फुटपाथको अवरोध हटाउने भएको हो ।

laxmi

एक वर्षअघि नै प्राधिकरणले फुटपाथको अवरोध हटाउने निर्णय गरेपनि विभिन्न कारणले ढिलाई हुँदै आएको थियो । भारतीय कम्पनीले यस्तो प्यानल बनाउन अर्डर पाएपनि समयमै नबनाइदिने र बनाएपनि नेपाल ल्याउन ढिलाई गरिदिनाले समस्या निम्तिएको प्राधिकरणको दाबी गर्दै आएको थियो ।

यसैक्रममा केही दिनअघि भने नयाँ प्यानल आइपुगेको प्राधिकरणका उपकार्यकारी निर्देशक तारा प्रधान बताउँछन् । केहिदिनमा प्राधिकरणले धोविघाट करिडोर र महाराजगंज सडकखण्डमा उक्त प्यानलहरु राख्ने तयारी गरेको उनले बताए । ‘हालसम्म हामीले अर्डर गरेका प्यानलहरु नआइपुगेका कारण निर्णय कार्यान्वयनमा ढिलाई हुँदै आएको थियो,’ उनले भने, ‘अब प्यानलहरु आइसकेका छन् केहिदिनमा पुराना प्यानललाई प्रतिस्थापनको कार्य अघि बढ्नेछ ।’ उनका अनुसार प्राधिकरणले नयाँ प्यानलहरु आएसँगै नयाँ स्थानमा प्यानल राख्नुपर्ने भए नयाँ अर्थात पातला प्यानल नै राख्ने पनि जानकारी दिएको छ ।

प्राधिकरणले पहलिो राखेका ठूला साइजका प्यानलले फुटपाथ नै छेकिएको धेरैजसो स्थानमा देख्न सकिन्छ । फुटपाथ नै छेकिने गरी राखिएका यस्ता प्यानलले पैदलयात्रुहरुलाई फुटपाथबाट हिड्न निकै समस्या पर्ने गरेको छ । फुटपाथमा हिँडिरहेका यात्रुहरु प्राधिकरणले राखेका प्यानलसम्म पुगेपछि सडकमा ओर्लेर हिँड्न बाध्य हुन्छन् । जसले पैदल यात्रुलाई बाटोमा ओहोरदोहोर गर्न नै सकस परेपछि यस्ता प्यानलहरु हटाउन दवाब बढेको थियो । यसैलाई मध्येनजर गर्दै काठमाडौं महानगरपालिकाले पनि यी प्यानलहरुलाई हटाउने आग्रह गरेपछि प्राधिकरणले साविकको भन्दा पातलो प्यानलले प्रतिस्थापन गर्ने निर्णय गत बर्षको चैतमै गरेको थियो ।

हाल प्राधिकरणले फुटपाथमा राखेका कतिपय डिस्ट्रिव्युसन प्यानलहरु १ मिटरसम्म चौडाई भएका छन् । अर्थात कुनै कुनै डिस्ट्रिब्युसन प्यानलहरु त फुटपाथकै आकारका छन् । जसका कारण फुटपाथ भएको स्थानमा फुटपाथ देखिँदैन । प्राधिकरणकै भनाईलाई आधार मान्ने हो भने रत्नपार्क महाराजगंज वितरण केन्द्र अन्तर्गत १ सय २० ओटा डिस्ट्रिव्युसन प्यानलले फुटपाथ नै छेकेका छन् ।

यी प्यानल परिवर्तन गर्नुपर्ने भएपनि सरकारी झन्झटिलो प्रक्रियाका कारण नयाँ प्यानल आयात हुन ढिलाई भएपछि यसको प्रतिस्थापनमा पनि ढिलाई भएको प्राधिकरण बताउँछ । प्राधिकरणले तार भूमिगत गर्ने जिम्मा पाएको भारतीय निर्माण कम्पनीलाई यस्ता प्यानलहरु प्रतिस्थापन गर्नेगरी नयाँ प्यानल बनाउन अर्डर दिएको भएपनि सो कम्पनीका ढिलाईका कारण प्रतिस्थापनमा ढिलाई भएकोमा अब भने क्रमशः नयाँ प्यानल प्रतिस्थापन गरिने प्राधिकरणले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL