Logo

रङको पर्व होली विशेष : आठ महिनामा झण्डै साढे ५ अर्बको रङ आयात

रङको पर्व होली विशेष : आठ महिनामा झण्डै साढे ५ अर्बको रङ आयात



काठमाडौं । रङको पर्वका रुपमा रहेको फागु पुर्णिमा अर्थात होली नेपालमा दुई दिन मनाइन्छ । यो बर्षको होली भने पहाडी जिल्लाहरुमा आज आइतबार मनाइँदैछ भने नेपालको तराई भेगमा भोलि मनाइँदैछ । यो पर्वको खास रौनक साथीभाई, इष्टमित्र र छरछिमेकमा एकआपसमा रङ दलेर मनाउनु हो । तर, होलीका लागि उपयोग हुने रंग पनि नेपालमा उत्पादन नहुने हुँदा नेपालमा अर्बौ रुपैयाँ बराबरको रङ विभिन्न देशबाट आयात हुने गरेको मनाउँछन् ।

laxmi

भन्सार विभागका अनुसार चालु आर्थिक बर्षको पछिल्लो ८ महिना (साउनदेखि फागुनसम्म) मात्रै झण्डै साढे ५ अर्ब रुपैयाँ बढीको रङ आयात भएको देखिन्छ । विभागका अनुसार यस अवधिमा विभिन्न प्रकारको रङ ५ अर्ब ४१ करोड ९ लाख ७९ हजार रुपैयाँ बराबरको रङ आयात भएको हो ।

यसमार्फत नेपालले उक्त अवधिमा १ अर्ब ७३ करोड ३४ लाख रुपैयाँ बराबरको भन्सार राजस्वसमेत आर्जन गरेको छ । माथिको तथ्यांक भलै सबै प्रकारको रङहरुको भएपनि यसमा होलीका लागि आवश्यक अझ भनौं धुलो रङको हिस्सा उत्तिकै छ । विभागकै तथ्यांकलाई केलाउँदा नेपालमा आयात भएको कुल रङमध्ये २ अर्ब ६ करोड रुपैयाँ बराबरको साढे ८३ लाख किलो अविर, केशरीलगायत धुलो पाउडर रङ आयात भएको छ । होलीका लागि रङमात्रै नभएर नेपालमा आवश्यक हुने पिचकारी, लोला, बेलुनलगायतका वस्तुहरु पनि विदेशबाट आयात हुने भएपछि यसको एकिकृत र यकिन तथ्यांक भने भन्सार विभागमा पाईँदैन ।

रङमात्रै को कुरा गर्दा पनि नेपालमा बंगलादेश, मलेसिया, ताइवान, नेदरल्याण्ड, बेल्जियम, थाइल्याण्ड, स्वीट्जरल्याण्ड, स्पेन, नेदरल्याण्ड, मेक्सिको, अमेरिका, बेलायत र जर्मनीलगायतबाट रङको आयात हुनेगरेपनि सबैभन्दाबढी रङ भने भारतबाटै आउने गरेको तथ्यांकमा देखिन्छ ।
चालु आवको ८ महिनामा नेपालमा आयात भएको कुल रङमध्ये करिव ८० प्रतिशत रङ भारतबाट आयात भएको छ ।

नेपालले लुगामा डाई गर्न, मेकअपका सामग्री बनाउन, अविर, सिन्दुर, केशरलगायतका रङहरु आयात गर्ने गरेको छ । नेपालले पछिल्लो ८ महिनामा रङ आयातमात्रै गरेको छैन । केहि मात्रामा निर्यात पनि गरेको विभागको तथ्यांकमा देखिन्छ । विभागका अनुसार यस अवधिमा नेपालले २६ करोड १६ लाख रुपैयाँ बराबरको रङ निर्यात गरेको छ

प्रतिक्रिया दिनुहोस्
MBL