Logo

चैत १ देखि कृषि बीमा रोक्दै कम्पनीहरु, सरकारले दिएन अनुदानको २ अर्ब

चैत १ देखि कृषि बीमा रोक्दै कम्पनीहरु, सरकारले दिएन अनुदानको २ अर्ब



काठमाडौं । सरकारले कृषि बीमामा कृषकहरुलाई प्रिमियममा दिईने अनुदान बीमा कम्पनीहरुलाई नदिँदा कृषि बीमा नै बन्द हुने भएको छ । गत आर्थिक बर्षको र चालु आर्थिक बर्ष गरिएको कृषि बीमाको प्रिमियमकाे ८० प्रतिशत अनुदान सरकारले हालसम्म नदिएपछि चैत १ देखि कृषि बीमा नै नगर्ने नेपाल बीमक संघले जानकारी दिएको छ ।

laxmi

संघले एक विज्ञप्ति जारी गर्दै सरकारले कृषि बीमाशुल्कमा तोकेको अनुदान रकम बीमा कम्पनीहरुलाई दिन हालसम्म करिब २ अर्ब बाँकी रहेको जनाएको छ । बीमा ऐन, २०७९ अनुसार बीमालेखहरु उधारोमा जारी गर्न नपाइने भएकाले नेपाल सरकार कृषि मन्त्रालय तथा विभागहरुलाई पटक–पटक जानकारी गराउँदा पनि सुनुवाई नभएपछि संघले यस्तो बीमा नै नगर्ने घोषणा गरेको हो ।

सरकारले २०६९ सालदेखि कृषक र कृषिलाई प्राथमिकता दिनका लागि भन्दै कृषि बीमाको प्रिमियममा ८० प्रतिशत अनुदान दिँदै आएको थियो । अर्थात कृषकले तिर्नुपर्ने प्रिमियमममध्ये ८० प्रतिशत सरकारले र बाँकी रहेको २० प्रतिशत कृषकले व्यहोर्दै आएका थिए ।

तर, सरकारले व्यहोर्ने भनेको कृषि बीमाको प्रिमियको ८० प्रतिशतको भुक्तानी करिव २ अर्ब हालसम्म नपाएपछि कृषि बीमा गर्नै नसक्ने अवस्थामा पुगेको बीमक संघका अध्यक्ष चंकी क्षेत्रीले बताए । ‘हामीलाई पनि उदारो कृषि बीमा गर्न अप्ठ्यारो भयो, अब सरकारले भुक्तानी नदिँदासम्म कृषि बीमा नै नगर्ने निर्णय गरेका छौं,’ उनले भने, ‘कुनै कृषकले शतप्रतिशत प्रिमियम तिर्न खोज्नुभयो भने वहाँहरुको कृषि बीमा हुनेछ ।’

प्रतिक्रिया दिनुहोस्
MBL