Logo

बैंकिङ प्रणाली धराशायी बनिरहँदा सरकार मुकदर्शक, नियामकलाई बाइपास गरेर किन छिर्यो प्रहरी ?

बैंकिङ प्रणाली धराशायी बनिरहँदा सरकार मुकदर्शक, नियामकलाई बाइपास गरेर किन छिर्यो प्रहरी ?



काठमाडौं । अर्थतन्त्रका सबैजसो क्षेत्र धराशायी भैरहँदा अहिलेसम्म सहजरुपमा संचालन हुँदै आएको बैंकिङ क्षेत्रमाथि सर्वत्र प्रहार हुन थालेको छ । अहिले निजी क्षेत्रको मनोबल गिरेको अवस्था छ भने प्रायःजसो उद्योग कलकारखाना बन्द अवस्थामा छन् । कतिपय चलेका पनि ज्यादै न्यून क्षमतामा संचालन भैरहेका छन् । अर्थात जति उद्योग चलेका छन् प्रायः ती सबै घाटामा रहेको सम्बद्ध कम्पनीहरुले सार्वजनिक गरेको तथ्यांकहरुले देखाइरहेका छन् ।

laxmi

निजी क्षेत्रको मनोबल गिरेकै कारण अहिले सेयर बजार इतिहासकै न्यून विन्दुमा छ । नेप्से परिसूचक २ हजार विन्दुको आसपासमा रहेपनि उच्चतम विन्दु ३ हजार २ सय अंकमा पुग्दा बजारमा जति कम्पनी सूचीकृत थिए र अहिले थपिएका कम्पनीलाई छुट्याएर हेर्दा नेप्से परिसूचक अहिलेसम्मकै न्यूनतम विन्दुमा झरेको देखिन्छ भने लगानीकर्ताले खर्बौं रुपैयाँ गुमाउन पुगेका छन् । नेपालमा अर्थतन्त्रका अन्य क्षेत्र चलायमान नहुँदा सेयर बजारमा लगानीकर्ताको आकर्षण रहन्थ्यो । जुन कुरा २०७२ सालको भूकम्प होस या २०७६ सालका विश्वव्यापी रुपमा आएको कोरोना भाइरसको समयमा पनि पुष्टि भैसकेको छ । तर, अहिले अन्य क्षेत्र सिथिल रहेको र घट्दो ब्याजदर तथा उच्च तरलता हुँदा पनि उल्टो सेयर बजार घटिरहेको छ । यसको मुख्य कारण निजी क्षेत्रलाई सरकारप्रति कुनै विश्वास नहुनु हो । अर्थात सरकारको क्रियाकलापका कारण सम्पूर्ण निजी क्षेत्र त्राहिमाम भएका छन् । अहिले कुनै पनि लगानीकर्ता देशभित्र थप लगानी बढाउने अवस्थामा छैनन् ।

कोरानापछि आएको आर्थिक मन्दीका कारण अर्थतन्त्रका सबै सूचकांकहरु नकारात्मक दिशामा गएका छन् भने उद्योगधन्दा दैनिकजसो बन्द हुन थालेका छन् । उद्योग व्यवसाय संचालन गर्न नसकेकै कारण कतिपय उद्योगी व्यवसायीले आत्महत्या गरेका छन् भने धेरैजसोको सम्पत्ति लिलामीका लागि पत्रिकाहरुमा सूचना प्रकाशित हुन थालेको छन् । उद्योग व्यवसायका साथै अर्थतन्त्रका धेरै सूचकहरु नकारात्मक भैरहँदा अर्थतन्त्रमा धमनीको रुपमा काम गर्दै आएको बैंकिङ क्षेत्र केही सुरक्षित रहँदै आएको थियो । तर, देशमा ठूला उद्योग व्यवसाय तथा परियोजना संचालनमा लागि पुँजी जुटाईदिने तिनै बैंकिङ क्षेत्रमाथि अहिले सर्वत्र रुपमा प्रहार हुन थालेको छ ।

विगत १ वर्ष अघिदेखि सरकारकै डिजाइनमा तथाकथित लघुवित्त पीडितलाई जम्मा गरेर लघुवित्तविरुद्ध आन्दोलन शुरु गरिएको थियो भने अहिले मेडिकल व्यवसायी दुर्गा प्रसाईलाई संरक्षण दिएर बैंकिङ क्षेत्रमाथि प्रहार भैरहेको छ । उनले आफुले बैंकबाट लिएको कर्जा नतिर्नेदेखि २० लाख रुपैयाँसम्मको कर्जा सरकारले मिनाहा गरिदिने भन्दै अन्यलाई पनि कर्जा नतिर्न उक्साइरहेका छन् । जुन कुरा कानूनीरुपमा अपराध मानिन्छ । तर, तिनै व्यक्तिले खुलेआम अपराध गरेर बैंकिङ क्षेत्रलाई धरासायी बनाईरहँदा सरकारले भने अपराध गर्ने प्रसाईंलाई उल्टो संरक्षण गर्दै आएको छ । अहिले सरकारकै संरक्षणमा बैंकिङ प्रणाली धरासायी बनाउन लागिपरेका अन्दोलनकारीलाई बालुवाटारदेखि संसद भवनभित्र छिराएर नारावाजी गर्ने काम भैरहेको छ ।

सरकारकै संरक्षणमा माओवादी कार्यकार्ता मणिराम ज्ञवाली र पूर्व माओवादी दुर्गा प्रसाईँले गर्दै आएको अन्दोलनले बैंकिङ क्षेत्र धराशायी बनाउन नसकेपछि पछिल्लो समय सरकारले आफ्नै संयन्त्र प्रयोग गरेर धरपकड गर्न थालेको सम्बद्ध सरोकारवालाहरु बताउँछन् । ‘सरकारकै नीतिअनुसार पछिल्लो समय बैंकहरुले विनाधितो कर्जा तथा परियोजना धितोमा कर्जा दिँदै आएका छन्,’ एक पूर्व बैंकरले भने, ‘यदि अब कमसल धितो भन्दै छाविन गर्न थाल्ने हो भने कुनै पनि बैंकर बाँकी रहँदैनन् ।’

अर्को कुरा बैंक तथा वित्तीय संस्थालाई नेपाल राष्ट्र बैंकले नियमन गर्दै आएको छ । यदि कुनै बैंकरले गलत गरेमा राष्ट्र बैंकले नै छानविन गरी बैंकिङ कसुर अन्तरगत कारवाही गरिन्छ । कुनै परियोजनालाई कस्तो धितोमा कर्जा दिएको छ ? त्यसरी कर्जा दिँदा गलत मनसाय थियो कि थिएन ? उक्त परियोजना कत्तिको भायवल थियो ? अहिले के कारणले समस्या पर्यो भन्नेजस्ता अध्ययन अनुसन्धान गर्न राष्ट्र बैंकमा छुट्टै विभाग छ । तर, पछिल्लो समय सरकारले आफ्नो दायराभित्र पर्दै नपर्ने विषयलाई प्रहरी लगाएर जसरी बैंकका कर्मचारी प्रक्राउ गरी धरपकड गर्ने काम गर्यो त्यसले समग्र बैंकिङ प्रणालीलाई नै धराशायी बनाउने काम गरेको सम्बद्ध सरोकारवालाहरु बताउँछन् । ‘अहिले सरकारकै निर्देशनमा प्रहरीअन्तरगतको केन्द्रीय अनुसन्धान व्यूरोले बैंकका कर्मचारीलाई पक्राउ गर्ने काम हुन थालेको छ,’ एक पूर्व बैंकरले भने, ‘अन्य क्षेत्र धराशायी भैरहँदा पनि नेपालमा बैंकिङ क्षेत्रले आफ्नो काम राम्रोसँग पफर्म गर्दै आएका थिए अब सरकारले यो क्षेत्रलाई पनि तहसनहस बनाउने नीति अवलम्बन गर्यो ।’

अर्को पक्ष भनेको कुनै पनि क्षेत्रमा कर्जा प्रवाह गरिँदा तत्कालीन अवस्था, अवसर र धितोलाई आधार मानिन्छ । तर, पछिल्लो समय ती क्षेत्रहरु समस्यामा पर्दै जाँदा सबै पक्षहरु कमजोर हुँदै गएका छन् । तर तत्कालीन समयलाई विर्सिएर अहिलेको अवस्थासँग तुलना गर्दै प्रहरी लगाएर पक्राउ गर्ने हो सबै बैंकहरु जेल जाने अवस्था आउने एक बैंकरले बताए । ‘बैंकहरुले तत्कालीन अवस्थाको राज्यको नीति र अवसर हेरेर कर्जा प्रबाह गरेका हुन्छन्,’ ती बैंकरले भने, ‘राज्यको गतल नीतिकै कारण अहिले सबैजसो उद्योग कलकारखाना बन्द हुने अवस्थामा पुगेका छन् भने तत्कालीन अवस्थाको मूल्यलाई अधार मानेर धितो राखिएको जग्गाको मूल्यमा ३० प्रतिशतभन्दा गिरावट आइसकेको छ, के अब अहिले ती जग्गाको मूल्य घट्यो, धितो कमसल भयो भनेर सबै बैंकरलाई लगेर थुनिदिने ।’

पछिल्लो समय प्रहरीले आफ्नो क्षेत्रधिकार नाघेर बैंकरहरुलाई पक्राउ गरिरहँदा राष्ट्र बैंक पनि मुकदर्शक भएर बस्न नमिल्ने सम्बद्ध सरोकारवालाहरु बताउँछन् । ‘बैंक तथा वित्तीय संस्थाको नियमन गर्ने निकाय राष्ट्र बैंक हो,’ उनले भने, ‘कुनै बैंकले गलत गरेमा त्यसको अनुसन्धान गर्ने र नसिहत दिने राष्ट्र बैंकले हो तर, अहिले प्रहरीले राष्ट्र बैंकको क्षेत्राधिकार मिच्दै बैंकरलाई पक्राउ गर्न थाल्लो ।’ पछिल्लो समय कुनै बैंक तथा वित्तीय संस्थाभन्दा पनि सरकारकै संरक्षणमा आन्दोलनकारी खडा गरेर समग्र बैंकिङ प्रणालीमाथि नै प्रहार हुन थालेको सम्बद्ध सरोकारवालाहरु बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्
MBL