काठमाडौं । सफ्टवारिका कलेज अफ आईटी एण्ड ई–कमर्सले आफ्नो बहुप्रतीक्षित प्रविधि महोत्सव ‘टेक एक्स ः एलिभेट २०२५’ को तेस्रो संस्करणको आयोजना गर्ने भएको छ । कलेजकै परिसरमा असार ३२ देखि साउन ३ गतेसम्म चार दिनसम्म चल्ने यो विशेष कार्यक्रममा सिर्जनशीलता, नवप्रवर्तन र उद्यमशीलताको विविध आयाम प्रस्तुत गरिनेछ । आयोजकका अनुसार यसपटकको संस्करण अघिल्लाभन्दा अझ व्यापक, इनोभेटिभ र प्रेरणादायी हुने विश्वास गरिएको छ ।
महोत्सवमा २० भन्दा बढी रोबोटिक्स र कृत्रिम बुद्धिमत्ता (एआई) आधारित प्रोजेक्टहरू सार्वजनिकरूपमा प्रदर्शनी गरिनेछ । तीमध्ये ‘करुणा’ नामक ज्ञानमा आधारित सहयोगी रोबोट, ‘मिरा’ नामक शिक्षाका लागि उपयोगी स्मार्ट इन्स्ट्रक्सनल रोबोट, ‘वारदोग’ नामक सुरक्षा निगरानीका लागि निर्माण गरिएको रोबोट, ‘स्टडीसेन्स’ नामक भिआर प्रयोग गरिएको शिक्षण सहायक तथा ‘तोमात्रों’ नामक कृषिमा एआई प्रयोग गर्ने समाधान प्रमुख आकर्षण हुनेछन् । त्यस्तै, ‘केम्लाब भिआर’, ‘फिसअवेर’, ‘एविलट्वीन डिटेक्टर एमएल’, ‘सुरक्षित एभि स्ट्रिम’ र ‘फ्लिप आरएफआईडी च्यालेन्ज’ जस्ता अन्य नवीनतम परियोजनाहरूले पनि कार्यक्रमलाई समृद्ध बनाउने बताईएको छ ।
कार्यक्रममा २० भन्दा बढी स्टार्टअप कम्पनीहरू सहभागी हुनेछन्, जसमा विद्यार्थी र पूर्व विद्यार्थीहरूले स्थापना गरेका उद्यमहरूले आफ्नो नवप्रवर्तन र व्यवसायिक मोडेल प्रस्तुत गर्नेछन् । यसले नेपालमा उद्यमशीलता कसरी अगाडि बढिरहेको छ भन्ने सन्देश दिनेछ ।
महोत्सव अन्तर्गत दुई दिने रोजगार मेला पनि आयोजना गरिनेछ, जसमा २५ भन्दा बढी प्रतिष्ठित सूचना प्रविधि कम्पनीहरू सहभागी हुनेछन् । स्नातकदेखि स्नातकोत्तर तहसम्मका विद्यार्थीहरूका लागि यो एक महत्वपूर्ण अवसर हुनेछ, जहाँ उनीहरूले विभिन्न रोजगारीका अवसरमा प्रत्यक्ष पहुँच पाउनेछन् ।
कार्यक्रममा उद्यमशीलता सम्बन्धी मास्टर कक्षा सञ्चालन गरिनेछ, जसमा इच्छुक विद्यार्थीहरूले अनुभवी फाउन्डर, लगानीकर्ता र मेन्टरहरूसँग प्रत्यक्ष पिच सेसन र व्यावसायिक तालिममा भाग लिन सक्नेछन् ।
यसका अतिरिक्त, प्रेरणादायी ‘इन्सपायर टक्स’ मार्फत नेपालका सफल प्रविधिकर्मी र उद्यमीहरूले सहभागीहरूलाई नयाँ सोच र भविष्य निर्माणको प्रेरणा प्रदान गर्नेछन् । दुई वर्षदेखि अभ्यासरत विद्यार्थी समूहहरूबीचको प्रतिस्पर्धात्मक ‘आइरन क्ल्यास’ कार्यक्रमले महोत्सवलाई थप रोमाञ्चक बनाउनेछ ।
कार्यक्रममा भविष्यका प्रविधि नेताहरू, रोजगारी खोजिरहेका सूचना प्रविधि विद्यार्थीहरू, नवप्रवर्तनशील सोच भएका स्टार्टअप संस्थापकहरू, लगानीकर्ता, शिक्षक, मिडिया प्रतिनिधि र प्रभावशाली व्यक्तिहरूको सहभागिता रहनेछ ।
सफ्टवारिका कलेजले प्रविधिमा आधारित शिक्षालाई व्यवहारिक र विश्वस्तरीय बनाउने उद्देश्यसाथ यो कार्यक्रम आयोजना गर्दै आएको हो । ‘टेक एक्स : एलिभेट २०२५’ नेपाली शिक्षामा नयाँ सोच, सिर्जनशीलता र परिवर्तनको उदाहरणीय प्रयासको रूपमा स्थापित हुँदै गएको छ ।