काठमाडौं । किसान परिवारमा जन्मेका कुलाङ्ग्रा पाउलो होर्मेसले आफ्नो जीवन गाउँभन्दा बाहिर पुर्याए र एक महान बैंकरको रूपमा स्थापित भए । किसानहरूको लागि केही गर्ने उनको दृढ संकल्पले उनलाई जीवनमा यहाँसम्म पुर्यायो । किसान परिवारमा जन्मेका एक होइन धेरै बच्चाहरूले आफ्नो परिवार र देशको गौरव बढाएका छन् । आज हामी पनि तपाईंहरूसँग यस्तै एउटा कथा बाँड्न गइरहेका छौं ।
यो गाउँमा जन्मेका एक व्यक्तिको कथा हो । उनी पढाइ सकेर वकिल बने तर उनको मनमा सधैं गरिब र किसानहरूको लागि केही गर्नुपर्छ भन्ने भावना थियो । गाउँ र किसान परिवारसँग जोडिएको हुनाले, उनलाई सधैं किसानहरूको लागि केही गर्ने भावना हुन्थ्यो । जब उनले अवसर पाए, उनले डुब्न लागेको बैंकमा हिस्सेदारी किने । आफ्नो कडा परिश्रमको आधारमा बैंकले उत्कृष्ट प्रदर्शन गर्यो र आज बैंकको व्यवसाय ५४००० करोड भारतीय रुपैयाँमाथि पुगेको छ ।
हामी जसको बारेमा कुरा गर्दैछौं, उनी कुलाङ्गारा पाउलो होर्मिस हुन् । केपी होर्मिस भनेर चिनिने यी व्यक्तिको जन्म १८ अक्टोबर १९१७ मा केरलाको मुक्कानूरमा भएको थियो । उनले पेरुम्बावुरको मुन्सिफ कोर्टमा वकिलको रूपमा आफ्नो करियर सुरु गरेका थिए । यद्यपि, उनी सुरुदेखि नै केही फरक गर्न चाहन्थे । यो सोचले उनलाई व्यावसायिक बैंकिङतर्फ डोरÞ्यायो । सन् १९४५ मा, होर्मिसले त्रावणकोर फेडरल बैंकमा ठूलो हिस्सेदारी किन्न अवसर देखे र त्यसमा ठूलो दाउ लगाए ।
बैंक टाट पल्टिने संघारमा थियो
बैंकको सेयर किनेर केपी होर्मिसले बैंकको प्रमुख कार्यकारीको पदभार ग्रहण गरे । उनको उद्देश्य यसको पहिचान परिवर्तन गर्नु र देशको एक प्रसिद्ध बैंक बनाउनु थियो । होर्मिसले सेयर किन्नु अघि त्रावणकोर फेडरल बैंक लिमिटेडले कृषिमा ध्यान केन्द्रित गरेको थियो । तर बैंक यसमा सफल भएन । एक समयमा बैंक टाट पल्टिने संघारमा पुग्यो । केपी होर्मिसको जरा गाउँमा थियो, त्यसैले उनले १९४४ मा आफ्नो जागिर छोडे र डुब्दै गरेको त्रावणकोर फेडरल बैंकको सेयर किने । यहाँबाट उनको जीवनले मोड लियो ।
उनको कडा परिश्रमको परिणामस्वरूप अर्को ३४ वर्षमा, उनको नेतृत्वमा, भारतभर फेडरल बैंकका २८५ शाखाहरू खोलिए । १९४७ मा, बैंकको नाम परिवर्तन गरेर ‘द फेडरल बैंक लिमिटेड’ राखियो । फेडरल बैंकले आफ्नो ब्लगमा लेखेको छ, ‘होर्मिसले ३४ वर्षसम्म बैंकको नेतृत्व गरे । यस समयमा, उनले यसलाई एउटा शाखा भएको सानो बैंकबाट २८५ शाखा भएको बैंकमा रूपान्तरण गरे ।’ जब होर्मिसले जागिर छोडेर बैंकको सेयर किन्न निर्णय गरेका थिए उनले यसको नियन्त्रण आफ्नो हातमा लिएका थिए । यसपछि बैंकको सेयर पूँजी ५,००० रुपैयाँबाट बढेर ७१,००० रुपैयाँ पुग्यो ।
बैंकको नियन्त्रणात्मक हिस्सेदारी लिएपछि, उनले पहिलो शाखा नीदमपुरमबाट अलुवा (केरला) मा सारेका थिए । बैंकको स्थान र नाम दुवै परिवर्तन भयो । १९४५ मा, बैंकको नाम फेडरल बैंकमा परिवर्तन गरियो । अर्थात्, त्रावणकोरलाई यसको नामबाट हटाइयो । त्यस समयमा, केरलाका बैंकहरूमा कुरीहरू धेरै लोकप्रिय भए । यो एक कार्यक्रम थियो जसले बोलपत्रदाताहरूलाई ५० प्रतिशत छुट दिएर चिट–फन्डमा भाग लिन अनुमति दिन्थ्यो । सन १९४९ मा फेडरल बैंकले बैंकिङ इजाजतपत्र प्राप्त गर्दा, होर्मिसले किसानहरूका लागि कुरीहरू सुरु गर्यो । अर्थात्, किसानहरूले चिट–फन्ड मार्फत पनि पैसा उठाउन सक्थे ।
जहाँ पाइला राखे, आफ्नो छाप छोडे
फेडरल बैंकको सफलताको यात्रा जारी रह्यो । बैंकले धेरै ठूला उपलब्धिहरू हासिल गर्यो । सबैभन्दा ठूलो उपलब्धि भनेको बैंकले १००० करोड रुपैयाँभन्दा बढी निक्षेपको आंकडा पार गर्यो । यसपछि, बैंकको आईपीओ लगानीकर्ताहरूले मन पराए । होर्मिसले कृषि र समाजका सीमान्तकृत वर्गहरूलाई वित्तीय सहयोग दिन थाले जब यी क्षेत्रहरूलाई महत्त्व दिइँदैनथ्यो । होर्मिसको प्रभाव केवल बैंकिङमा मात्र सीमित थिएन । उनले आफूले पाइला राखेको हरेक क्षेत्रमा आफ्नो छाप छोडे । मार्च ३१, १९७९ मा अध्यक्ष पदबाट अवकाश लिएपछि, उनले अर्को दुई वर्षसम्म बैंक बोर्डमा सेवा गरिरहे । १९४५ मा फेडरल बैंकको सेयर किनेपछि, यसको व्यवसायको वृद्धिसँगै उनको आत्मविश्वास बढ्यो । १९६८ सम्ममा, होर्मिसले थप पाँच बैंकहरू किने । यी बैंकहरूमा चालकुडी, कोचीन युनियन, मार्थान्डम, सेन्ट जर्ज युनियन र द एलेप्पी बैंक समावेश थिए । बैंकले १९७० मा मुम्बईमा आफ्नो पहिलो कार्यालय खोल्यो । बैंकले सफलताको सिँढी चढ्दै गयो र १९७७ मा यसको सेयर पूँजी १ करोड रुपैयाँ पुग्यो ।
दुई जुलाई २०२५ मा बन्द भएको कारोबार सत्रमा बैंकको सेयर २१७.६५ रुपैयाँमा बन्द भयो । यससँगै बैंकको बजार पूँजीकरण ५३,४५६ करोड भारतीय रुपैयाँ पुगेको छ । बैंकको सेयरको जीवनकाल उच्चतम मूल्य २७० रुपैयाँ छ । साथै, यसको ५२ हप्ताको उच्चतम मूल्य २२० रुपैयाँ छ । बैंकले सन् २०१३ मा पहिलो ई–पासबुक सुरु गरेको थियो, जसलाई फेडबुक नाम दिइएको थियो । फेडरल बैंकको व्यवसाय आज भारतभर छ । बैंकको ३२ राज्य र केन्द्र शासित प्रदेशहरूमा लगभग १७०० शाखाहरू छन् । बैंकको वेबसाइटका अनुसार १ करोड ८३ लाखभन्दा बढी ग्राहकहरू बैंकसँग आबद्ध छन् । बैंकसँग १५०९ बैंकिङ आउटलेटहरू, १४४१ एटीएमहरू र ५९३ नगद क्यास रिसाइक्लरहरु छन् ।