Logo

नेपालमा नियमानुसार दर्ता भएनन् फेसबुक, एक्स र युट्युब : टिकटकजस्तै बन्द गर्ला सरकारले ?

नेपालमा नियमानुसार दर्ता भएनन् फेसबुक, एक्स र युट्युब : टिकटकजस्तै बन्द गर्ला सरकारले ?



काठमाडौं । नेपालमा सामाजिक संजाल प्लेटफर्म नियमानुसार दर्ता हुन अनिच्छुक देखिएका छन् । संचार तथा सूचना प्रविधि मन्त्रालयले फागुन १४ गतेसम्म नेपालमा नेपालमा संचालित सामाजिक संजाल प्लेटफर्महरु सूचीकृत भईसक्न निर्देशन दिएपनि हालसम्म दर्ता हुन अनिच्छुक देखिएका हुन् ।

laxmi

सरकारले सामाजिक संजालको प्रयोगलाई व्यवस्थित गर्ने भन्दै गत मंसिर ११ गते एक निर्देशिका राजपत्रमा प्रकाशित गरेको थियो । त्यससँगै उक्त निर्देशिका पूर्णरुपमा कार्यान्वयनमा आएको थियो । निर्देशिकाअनुसार नेपालमा यसअघि नै संचालनमा रहेका सामाजिक संजाल प्लेटफर्महरुले निर्देशिका राजपत्रमा प्रकाशित भएको ३ महिनाभित्र सूचीकृत भइसक्नुपर्ने र नयाँ सामाजिक संजाल सूचीकृत भईसकेपछि मात्रै संचालनमा ल्याउने पाइने व्यवस्था छ । यसका लागि सामाजिक संजाल प्लेटफर्मका प्रतिनिधि स्वयं मन्त्रालयमा उपस्थित भएर या अनलाईनमार्फत पनि सूचीकरण हुन सकिने व्यवस्था निर्देशिकाले गरिदिएको थियो । यसरी सूचीकरण नभए सरकारले यस्ता सामाजिक संजाल प्लेटफर्मलाई संचालनमा प्रतिवन्ध लगाउन सक्ने व्यवस्था पनि निर्देशिकामा गरिएको छ ।

उक्त निर्देशिका कार्यान्वयनमा आएको ३ महिनामै अर्थात फागुन १४ सम्म नेपालमा संचालित सामाजिक संजाल प्लेटफर्महरु दर्ता भइसक्नुपर्ने थियो । त्यसअनुसार हालसम्म भाइबर र लिंक्डइनले मात्रै दर्ता हुन आवेदन दिएपनि फेसबुक, ट्विटर (एक्स), युट्युवलगायतका प्लेटफर्महरुले भने दर्ता गर्न आवेदन दिएका छैनन् । तर हालसम्म भाइबर र लिंक्डइनले मात्रै दर्ता हुर्न च्छा देखाएपछि अन्य प्लेटफर्मलाई दर्ता हुनका लागि पुनः सूचना जारी गर्नुपर्ने अवस्था आएको मन्त्रालयका प्रवक्ता नेत्र सुवेदी बताउँछन् । हालसम्म नेपालमा दर्ता हुनका लागि भन्दै भाइबर र लिंक्डइनले मात्रै आवेदन हालेको बताउँदै उनले अन्यले भने हालसम्म यस बिषयमा कुनै प्रक्रिया शुरु नगरेकाले पुनः सूचीकृत हुन सूचना जारी गर्ने बताए ।

‘खासगरी नेपालमा पूर्णरुपमा यस्ता प्लेटफर्महरुलाई बन्द गर्न सकिने अवस्था भने नहुने रहेछ,’ उनले भने, ‘कम्तीमा सूचीकृत भएको खण्डमा नियमन गर्न सजिलो हुन्थ्यो भन्ने हो त्यसमा पनि वहाँहरुले इच्छा नदेखाएको देखियो ।’ नेपालमा सूचीकरण भएका सामाजिक संजाल प्लेटफर्मले प्रत्येक ३–३ बर्षमा अद्यावधिक गराउनुपर्ने व्यवस्था निर्देशिकाले गरिदिएको छ । निर्देशिकाले सामाजिक संजाल प्रयोगकर्ताले फेक आईडी खोल्न नहुने, अरुका कन्टेन्ट बंग्याएर सेयर गर्न नहुने, जभाभावी कमेन्ट गर्नसमेत नहुनेलगायतको व्यवस्था गरेको छ ।

निर्देशिकाले समाजमा विद्वेष, घृणा र वैमनस्यता फैलाउने पोस्टहरु सेयर गर्न नपाइने व्यवस्थासमेत गरेको छ । यस्ता कन्टेन्टहरु २४ घण्टामै अटो डिलेट हुने अल्गोरिदमको निर्माण सामाजिक संजाल प्लेटफर्मले गर्नुपर्ने व्यवस्था निर्देशिकामा गरिएको छ । तर, यसरी सामाजिक संजाल प्लेटफर्मलाई कुनै देशले आफुअनुकुल अल्गोरिदमको निर्माण गरी नियमन गर्नकै लागि पनि त्यस्ता प्लेटफर्महरु सरकारको प्रत्यक्ष निगरानीमा हुनुपर्छ । त्यसैका लागि भन्दै सरकारले सामाजिक संजाल प्लेटफर्म नियमन निर्देशिका जारी गरेपनि हालसम्म यस्ता सामाजिक संजाललाई सूचीकृत गराउन भने असफलजस्तै भएको छ । जसका कारण नेपालले चाहेअनुसार सामाजिक संजालहरुमा अल्गोरिदम निर्माण र नियमन कार्य सकस हुने जानकारहरु बताउँछन् ।

नेपालमा हाल मेटाका मात्रै फेसबुक, इन्स्टाग्राम, थ्रेड, ह्वाट्सएप, मेसेन्जरलगायतका सामाजिक संजाल संचालनमा छन् । यस्तै बाइटडान्सको टिकटक पनि नेपालमा केहि समय अघिसम्म संचालनमा भएपनि यसले सामाजिक विद्वेष फैलाएको भन्दै मन्त्रिपरिषदले नै यसको प्रयोगलाई नेपालमा रोक लगाएपछि हाल नेपालमा यो प्रतिवन्धित छ । तर, सामाजिक संजाल प्लेटफर्म नियमन निर्देशिकाले टिकटलाई पनि नेपालमा सूचीकृत भई संचालन हुन पाउने सुविधा दिएपनि टिकटकले समेत नेपालमा सूचीकरण हुन चासो नदेखाएको हो । विश्वका धनी एलन मस्कको एक्स, टेलिग्राम, युट्युव, गुगल, पिन्टेरेस्ट, टम्ब्लर, रेडइट, स्काइपलगायत सयौं सामाजिक संजाल प्लेटफर्महरु नेपालमा संचालित छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL