Logo

ब्रोकरले उधारो थेग्न नसकेपछि बजारमा सेलिङ प्रेसर, नेप्से दैनिक उच्च गतिमा ओरालो लाग्दा पेनिक हुँदै लगानीकर्ता

ब्रोकरले उधारो थेग्न नसकेपछि बजारमा सेलिङ प्रेसर, नेप्से दैनिक उच्च गतिमा ओरालो लाग्दा पेनिक हुँदै लगानीकर्ता



काठमाडौं । पछिल्लो समय ओरालो यात्रा तय गरेको सेयर बजार यो हप्ताको सबै कारोबार दिन घट्न पुगेको छ । कर्जाको उपलब्धता तथा कर्जाको घट्दो व्याजदरका कारण बजार बढ्नुपर्ने भएपनि पछिल्ला समय घट्दो बजारमा सेलिङ प्रेसर आउन थालेको छ ।

laxmi

घट्दो बजारमा लगानीकर्ताले जति मूल्यमा खरिदकर्ता पाइन्छ सोही मूल्यमा सेयर बिक्री गर्दै बजारबाट बाहिरिन थालेका छन् । पछिल्लो समय बजारमा उधारो मूल्यमा सेयर खरिद गरेको र सेयर खातामा आउने वित्तिकै बिक्री गर्ने ट्रेन्ड चलेका कारण बजार उच्च रुपमा घट्न थालेको सम्बद्ध लगानीकर्ताहरु नै बताउँछन् । ‘अहिले धेरैजसो लगानीकर्ताले ब्रोकरसँग एक खालको सहमति गरेर उधारोमा सेयर खरिद गरेका छन्,’ एक लगानीकर्ताले भने, ‘पछिल्लो समयको घट्दो बजार र ब्रोकरसँगको सहमति अनुसार उक्त समयमा जतिसुकै मूल्यमा पनि सेलिङ गर्नुपर्ने भएका कारण बजारमा सेलिङ प्रेसर आएर थप पेनिक बन्न पुगेको हो ।’

पछिल्लो समय केही स्थिर हुँदै सामान्य गतिमा बढ्न सुरु गरेको बजार नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको अर्थ वार्षिक समीक्षासँगै लगातार रुपमा घटिरहेको छ । ‘पछिल्लो समय राष्ट्र बैंकले अर्थवार्षिक समीक्षामार्फत सेयर धितो कर्जामा लाग्दै आएको क्याप घटाउँछ भन्ने आशा लगानीकर्तामा थियो,’ ती लगानीकर्ताले भने, ‘सामान्य गतिमा चलिरहेको बजारमा उक्त विषयको सम्बोधन नभएपछि लगानीकर्ताले उधारोमा खरिद गरेको सेयर धेरै समय होल्ड गर्न नसेकर जतिमा खरिदकर्ता पाउँछन् उति नै मूल्यमा बिक्री गर्न थाले ।’

सामान्यतया सेयर बजार लगानीकर्ताको मनोविज्ञानमा भर पर्छ । पछिल्लो समय देशको विग्रदो अर्थतन्त्र र सूचीकृत कम्पनीहरुले दिने लाभांशमा उच्च गिरावट आउने थालेपछि लगानीकर्ताहरु थप लगानीका लागि उत्साहित देखिएका छैनन् । ‘मौद्रिक नीतिको समीक्षा आउने समयमा बजारमा विषयमा केही सम्बोधन हुन्छ भनेर लगानीकर्ताले ब्रोकरसँग केही दिनको सममसीमा मागेर उधारोमा सेयर खरिद गरेका थिए,’ एक लगानीकर्ताले भने, ‘तर मौद्रिक नीतिको समीक्षाले कुनै सम्बोधन नगरेपछि लगानीकर्ताहरु सेयर बिक्री गरेर बाहिरिन थालेका हुन् ।’ एकतर्फ नीति निर्माताबाट बजारप्रति हेरिने दृष्टिकोण नकारात्मक रहेको र अर्कोतर्फ उधारोमा खरिद गरेको सेयर बिक्री गर्न ब्रोकरबाट प्रेसर आएपछि बजार लगातार ओरालो दिशातर्फ लागेको सम्बद्ध सरोकारवालाहरु बताउँछन् ।

यो साता बजार लगातार ओरालो लाग्दा नेप्से परिसुचक २ हजार ५ अंकमा खुम्चिन पुगेको छ । घट्दो बजारमा कारोबार रकमले पनि साथ छाड्दै गएको छ । केहीदिन अघिसम्म दैनिक ५ अर्ब रुपैयाँभन्दा बढीले कारोबार हुन थालेको सेयर बजार अहिले ३ अर्बमा झरेको छ । बिहीबार उच्च सेलिङ प्रेसर हुँदा पनि बजारमा खरिदकर्ता नहुँदा ३ अर्ब २० करोड रुपैयाँको मात्रै सेयर खरिदबिक्री भएको छ । बिहीबार बजारमा ६७ कम्पनीका लगानीकर्ताले कमाएका छन् भने २२३ कम्पनीका लगानीकर्ताले गुमाउन पुगेका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL