Logo

लगानीकर्ता संरक्षण कोष निष्क्रिय : कार्यविधि बनेपनि कार्यान्वयन भएन, संकलन भएको ५० करोड थन्कियो

लगानीकर्ता संरक्षण कोष निष्क्रिय : कार्यविधि बनेपनि कार्यान्वयन भएन, संकलन भएको ५० करोड थन्कियो



काठमाडौं । नेपाल धितोपत्र बोर्डले सञ्चालनमा ल्याएको लगानीकर्ता संरक्षण कोष निष्क्रिय बनेको छ । सञ्चालनमा आएको ८ वर्ष पुग्दा पनि कोषको कार्यविधिअनुसार काम हुन नसक्दा निष्क्रिय बन्न पुगेको हो । बोर्डले धितोपत्र ऐन २०६३ को दफा १८३ अनुसार सञ्चालनमा ल्याएको लगानीकर्ता संरक्षण कोष विस २०७३ पछि कार्यान्वयनमा आएको थियो । कार्यान्वयनमा आएको ८ वर्ष बित्दा पनि कोष प्रभावकारी रुपमा सञ्चालनमा आउन सकेको छैन ।

laxmi

कोषलाई कसरी प्रभावकारी बनाउने भन्ने विषयमा समितिले प्रत्येक २ महिनामा बैठक बस्नुपर्ने व्यवस्था रहेकोमा बैंठक पनि बस्न सकेको छैन् । यस कोषको समितिमा नेपाल धितोपत्र बोर्ड (सेबोन)को एक सदस्य, नेपाल स्टक एक्सचेन्ज (नेप्से) को एक सदस्य र कम्पनी रजिष्ट्रार कार्यालयको एक सदस्य रहने व्यवस्था छ । हाल नेपाल धितोपत्र बोर्डको कार्यकारी निर्देशक कृष्णराज पोखरेल, नेप्सेको कार्यकारी अधिकृत (सिईओ) कृष्ण बहादुर कार्की र कम्पनी रजिष्ट्रारका रजिष्ट्रार दीपककुमार पहाडी कोषको समितिमा रहेका छन । उक्त समितिको लामो समयदेखि कुनै पनि बैठक बस्न सकेको छैन । समिति निष्कृय बनेका कारण पछिल्लो समय कोषलाई कसरी अगाडि बढाउने भन्ने विषयमा छलफलनै नभएको श्रोत बताउँछ । जसका कारण यस कोषको पैसा बैंकको खातामा थुप्रिएर बसेको कम्पनी रजिष्ट्रार स्रोत बताउँछ ।

कुनै पनि कम्पनीका सेयर लगानीकर्ताले आफ्नो सेयरवापत पाउने नगद लाभांश तथा लगानीकर्ताले पाउने लगानीवापतको पैसा ५ वर्षसम्म लिन नआएमा उक्त रकम लगानीकर्ता संरक्षण कोषमा जम्मा गर्नुपर्ने व्यवस्था छ । कोषको खातामा जम्मा रहेको मुल रकम सम्बन्धित व्यक्तिले दाबी गर्न आएमा फिर्ता गर्नेबाहेक अन्य कार्यमा खर्च गर्न नपाइने व्यवस्था छ  । तर, उक्त कोषमा भएको लगानीबाट आम्दानी भएको पैसा लगानी गर्न पाउने व्यवस्था भने छ । कम्पनी रजिष्ट्रारले मुल खाताको रकम नमासिने गरी राष्ट्र बैंकबाट जारी गरिने ऋणपत्र, कुनै वाणिज्य बैंकको मुद्दती खाता, नागरिक लगानी कोषको एकांक योजनाजस्ता ब्याज, लाभांश वा अन्य आय प्राप्त हुने कार्यमा भने लगानी गर्न पाउने व्यवस्था रहेको छ  ।

सहायक खातामा रहेको रकम भने पुँजी बजारको विकास तथा विस्तार गर्न, लगानी, कम्पनी कानुन वा व्यापार तथा व्यवसायसम्बन्धी नीति कानुनको सुधार गर्न, सम्बन्धित सरकारी संस्था र कम्पनीका कर्मचारीहरूलाई आवश्यक तालिम तथा प्रशिक्षण दिन खर्च गर्न सकिने व्यवस्था रहेको छ । यसैगरी, कम्पनी प्रशासन, पुँजी बजारको विकास तथा लगानीकर्ता संरक्षण सम्बन्धमा प्रचार–प्रसार, प्रकाशन, छलफल तथा गोष्ठीको आयोजना तथा लगानीकर्ता हित संरक्षणका लागि आवश्यक अन्य कार्य गर्न पनि कोषको रकम खर्च गर्न सकिने व्यवस्था छ ।

कम्पनी रजिष्ट्रार कार्यालयका अनुसार हालसम्म उक्त कोषमा ४९ करोड २२ लाख १९ हजार रुपैयाँ बराबरको रकम संकलन भएको छ । उक्त कोषमा जम्मा भएको पैसा बैंकको खातामा मुद्दती निक्षेपमा राखिएको छ । लगानीकर्ता संरक्षण कोषबाट भएको फाइदाबाट लगानीकर्तालाई सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने भन्ने उद्देश्यले उक्त कोष सञ्चालनमा ल्याइएको थियो । तर, उक्त कोष सञ्चालनमा आएको ८ वर्ष बित्दा पनि एउटा कार्यक्र भन्दा अन्य कार्यक्रम भएको छैन । उक्त कोषमार्फत केहिसमय अगाडि बुटवलमा कार्यक्रम गरेको कम्पनी रजिष्ट्रार स्रोत बताउँछ । यसैगरी, आगामी दिनमा सातै प्रदेशमा उक्त कोषमार्फत कार्यक्रम गर्ने योजना रहेको बताइएको छ ।

लगानीकर्ताले कसरी फिर्ता लिन सक्छन रकम ?

सेयर लगानीकर्ताको होल्ड भएको रकम कोषमा जम्मा गर्नुअघि एक महिनाको समयावधि दिएर रकम बुझ्न आउन राष्ट्रिय दैनिकमा सूचना प्रकाशन गर्नुपर्ने व्यवस्था छ । त्यसपछि प्रक्रियागत रुपमा लगानीकर्ताले आफ्नो लगानी फिर्ता पाउँछन । कम्पनीमा होल्ड भएको रकम कोषमा आइसकेपछि पनि कोषको मूल खातामा जम्मा रहेको सो रकम सम्बन्धित व्यक्तिले दाबी गर्न आएमा त्यो पैसा पनि फिर्ता हुने व्यवस्था रहेको छ  ।

प्रतिक्रिया दिनुहोस्
MBL