Logo

सार्वजनिक यातायात सुधार : कागजमा निर्णय, व्यवहारमा थप जर्जर, यात्रुलाई सधै सास्ती

सार्वजनिक यातायात सुधार : कागजमा निर्णय, व्यवहारमा थप जर्जर, यात्रुलाई सधै सास्ती



काठमाडौं । यातायात व्यवस्था विभागले सार्वजनिक यातायातलाई सफासुग्घर राख्नका लागि भन्दै यातायात व्यवस्था कार्यविधि निर्देशिका, २०६०लाई गत जेठमा संशोधन गरेको थियो । संशोधित कार्यविधिमा सार्वजनिक सवारीसाधनमा सरसफाई र स्वास्थ्यसम्बन्धी व्यवस्था र सार्वजनिक सवारीसाधनका कर्मचारीको व्यवहार परिवर्तन गर्नुपर्ने उल्लेख छ । तर, कार्यविधिअनुसार हालसम्म सार्वजनिक सवारीसाधनको सरसफाईको व्यवस्था र कर्मचारीको व्यवहार परिवर्तन भएको देखिँदैन ।

laxmi

संशोधित निर्देशिकाअनुसार सार्वजनिक यातायातको भित्र, बाहिर, सिट, सिलिङ, भुईँलगायत सफा हुनुपर्ने, लामो दूरीका सार्वजनिक सवारीसाधनले सरसफाई युक्त स्थानमा शौचालय र खाना खानका लागि ओराल्नुपर्ने, सवारीसाधनभित्र धुम्रपान र मदिरापान गर्न नपाइनेलगायतका व्यवस्था तोकिएका छन् । यस्तै सार्वजनिक सवारीसाधन छुट्नुअघि र सम्बन्धित स्थानमा पुगिसकेपछि सूचना प्रसारण गर्नुपर्ने पनि उल्लेख छ ।

यो निर्देशिका सबैजसो सार्वजनिक यातायात क्षेत्रलाई लागू हुने भएपनि संघीय राजधानी काठमाडौंमै चल्ने सार्वजनिक सवारीसाधनको अवस्था नाजुक छ । यहाँ चल्ने धेरैजसो सार्वजनिक यातायातका सवारीसाधनका सिटका खोलहरु च्यात्तिएका छन् । भुईँभरि धूलो हुन्छ भने बसको माथि सामान राख्ने ठाउँ धेरैजसोका भत्किएका छन् । बसभित्रका यी सबै दृष्यले जोकोहीलाई बस चढिहाल्नुपर्ला कि भन्ने डर हुन्छ । अझ माइक्रो बसमा धेरैजसो यात्रुहरु उभिएरै यात्रा गर्नुपर्ने बाध्यतामाथि गाडीभित्रको अवस्थाले यात्रुलाई झन पीडादायी यात्रा गर्न बाध्य तुल्याउँछ ।

असरल्ल सिलिङ, समात्ने डण्डी नहुनु, फुक्लिएका ढोकाहरु, भित्रबाट हेर्दा सबै देखिने, कभरै नभएका सिट यी सार्वजनिक सवारीसाधनका विशेषता बनेका छन् । अझ हायसभित्र छिर्नेवित्तिकैको दायाँपट्टी यात्रुहरु धेरै उभिने स्थानको माथिको सिलिङको खोल कतिपयको ह्वाङ्गै हुन्छ । जसका कारण धेरैजसो यात्रुको कपाल त्यसमा अड्किन्छ । यतिमात्रै होईन काठमाडौंको भक्तपुर बसपार्कदेखि चल्ने बसहरु, रत्नपार्कदेखि चल्ने बुढानीलकण्ठ यातायात प्रालिका प्राय बसहरुको हालत त्यस्तै छ । काठमाडौंमा चल्ने यस्ता सार्वजनिक यातायातको विकल्प नभएपछि यात्रुहरुलाई नाक थुनेरै भएपनि यस्ता गाडी चढ्नुपर्ने बाध्यता त छँदैछ त्यसमाथि गुण्डाजस्ता चालक र सहचालकले यात्रुहरुलाई धुरुक्कै रुवाउँछन् ।

यसरी यात्रुहरुले सार्वजनिक यातायातमा भोगिरहेको सास्तीप्रति सरकारले ध्यानै नदिएको उपभोक्ता अधिकारकर्मीहरु बताउँछन् । यस्ता कुरामा सरकार नै निरिह बन्दा र व्यवसायीबाट लोभको फाईदा उठाउँदा दैनिकजसो यात्रुहरुले झमेला ब्यहोर्नुपरेको छ । विकास र समृद्धिको सूचक सार्वजनिक यातायात क्षेत्र भएपनि नेपालमा सार्वजनिक क्षेत्रलाई सरकारले छाडा छोडिदिँदा नेपालको प्रणालीमै प्रश्न चिह्न खडा भएको अधिकारकर्मीहरु बताउँछन् ।

यता सार्वजनिक यातायात क्षेत्रमा नियमन र कारबाहीको जिम्मा पाएको ट्राफिक प्रहरीले गाडीहरुको भित्री अवस्था जाँच गर्दैन । सडकमा गुड्ने गाडीको बाहिरी अवस्था हेर्ने, यान्त्रिक अर्थात साइड लाइट, साइड मिरर, हेडलाइटलगायतमात्रै हेरेर सवारी चल्न दिने अधिकार ट्राफिक प्रहरीसँग हुने भएकाले भित्र हेरेर कारबाही गर्ने काम नगरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता राजेन्द्र प्रसाद भट्ट बताउँछन् ।

यता यातायात व्यवस्था विभागले पनि प्रदेशभित्र चल्ने गाडीहरुलाई मात्रै हेर्छ । उसको क्षेत्राधिकार अन्तरप्रदेश चल्ने सार्वजनिक सवारीसाधन मात्रै हुन् ।
तर, यसको खास नियमनको जिम्मेवारी भने प्रदेश मन्त्रालयलाई जान्छ । यसअघि उचित जनसंख्याको कमीका कारण यस्ता सवारीसाधनको नियमन गर्न नसकिएको बताउने बागमती प्रदेश श्रम, रोजगार तथा यातायात मन्त्रालय अब भने यस्ता सवारीसाधनको नियमन प्रष्टसँग गर्ने बताउँछन् ।

मन्त्रालयका सूचना अधिकारी खगेन्द्र पौडेल अब भने बागमती प्रदेश सरकार काठमाडौंभित्रै र प्रदेशभित्र चल्ने सवारीसाधनको नियमनमा कडाई गर्नेतर्फ लागेको बताउँछन् । ‘राजधानीमै चल्ने सार्वजनिक सवारीसाधनले देशको अवस्था प्रतिविम्वित हुन्छ,’ उनले भने, ‘तर, हाल यातायात व्यवसायी र कर्मचारीले त्यो क्षेत्रलाई धमिलो बनाएका छन्, यसलाई सुधार गर्ने बाटोमा हामी लागेका छौं ।’

उनले अब प्रदेश सरकारले सार्वजनिक यातायात क्षेत्रका चालक र सहचालकलाई व्यवहार परिवर्तन हुनेगरी तालिम दिने तयारी गरिरहेको बताउँछन् । प्रदेश सरकारले यस्ता चालक र सहचालकलाई तालिम दिएसँगै उनीहरुले यात्रुसँग गर्ने व्यवहारमा परिवर्तन आउने उनले बताए । ‘हामीले यात्रुहरुलाई चालक र सहचालकले गर्ने व्यवहार परिवर्तन गर्नकै लागि भनेर तालिमको आयोजना गर्दैछौं,’ उनले भने, ‘त्यसले उनीहरुको व्यवहारमा परिवर्तन ल्याउन सक्नेछ ।’
यस्तै मन्त्रालयले सार्वजनिक सवारीसाधनको सरसफाई र सवारीसाधनको अवस्थाका बारेमा पनि छुट्टै तालिम दिने काम अघि बढाउने तयारी गरेको पौडेल बताउँछन् ।

यता सार्वजनिक यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौला भने सार्वजनिक सवारीसाधनको सरसफाई कायम गर्न यात्रु, व्यवसायी, चालक र सहचालक सबै उत्तिकै जिम्मेवार हुनुपर्ने बताउँछन् । यसका लागि यातायात व्यवसायीले आफ्ना सवारीसाधनको अवस्थाका बारेमा प्रत्येक दिन जाँच गर्नुपर्ने, चालक सहचालकले सवारीसाधनको सरसफाईमा विशेष ध्यान दिनैपर्ने कार्यलाई कडिकडाईका साथ लागु गर्नुपर्ने उनको भनाई छ । ‘हामीले सरकारसँग आफुलाई आवश्यक धेरै कुराको सहजीकरण माग्दै आएका छौं अब हामी आफै सुध्रिनुपर्नेछ,’ उनले भने, ‘अब यो क्षेत्रका व्यवसायीहरुले आफ्ना सवारीसाधनको अवस्था, चालक सहचालकले बोलिमा परिवर्तन गर्नैपर्छ, म आग्रह पनि गर्दछु ।’ उनले अब चालक सहचालकले पनि बिजनेस पोलिसीलाई हेरेर यात्रुसँग राम्रो व्यवहार गर्नुपर्ने बताए । यस्तै सार्वजनिक सवारीसाधनको सरसफाईमा यात्रुले पनि उत्तिकै जिम्मेवार भएर खाद्यपदार्थका खोललगायत फोहर तोकिएको स्थानमा मात्रै फाल्न उनले आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्
MBL